• ६ असार २०८१, बिहिबार

संस्मरण

दशैँ सम्झनाका विविध चरण

blog

उसले दशैँ आउनु एक महिनाअघि नै भन्थ्यो, अब दशैँ आउँछ सेतो चामलको भात र मासु खाइन्छ ।  मैले त भात भन्नासाथ चामलकै भात भनेर बुझ्थेँ, उसले चामलको बाहेक केको भात खान्थ्यो थाहा भएन, सोध्दा पनि सोधिएन । हाम्रा घरमा भने बेला बखत राँगोको मासु किनेर चाड मनाइन्थ्यो । दशैँमा कुखुराको भाले र बोका काट्ने चलन थियो । परिवार पनि ठूलो थियो ।

सम्झना १. 

सायद म पाँच वर्षको थिएँ, त्यो बेला अहिले जस्तो थरीथरीका खेलौना कहाँ पाउनु ? ऊ बेला बाआमाहरूले नियमित खुवाउन, लगाउन र पुस्तक किनिदिनसमेत सक्दैनथे । खेलौना सर्वसाधारणका लागि उपलब्ध पनि थिएन । त्यतिखेर मैले खेल्ने प्रिय खेलमध्ये एक थियो नर्कटलाई दुई पटक भाँचेर बनाइएको ब्याटले करिब चार इन्चको बिग्रिएको बियरिङको बाहिरी चक्का बाटो र गोरेटामो गुडाउनु । त्यो चक्का गुडाउन पनि राम्रै सीप र ध्यानको जरुरी हुन्थ्यो । गुडाउने बेलामा त्यही चक्का हेरेर गुडाउनुपर्ने हुनाले बाटोमा रहेका अरू मान्छे, गाई, कुखुरासँग ठक्कर पनि खाइन्थ्यो । सडक र चिल्लो ठाउँमा गुडाउनु त मज्जै हुन्थ्यो, मानौँ पिच सडकमा चिल्लो कार गुडाएसरह । गोरेटो र उकालो उबडखाबड सानो जहाँ एकजना मान्छे मुस्किलले हिँड्न मिल्छ, त्यस्ता ठाउँमा गुडाउनु पनि अहिले रफ रोडमा फोरह्विल गाडी गुडाएजस्तै मज्जा आउँथ्यो । गोरेटो बाटोमा गुडाउन जुन चुनौती थियो, त्यस्तै सीप पनि सिकिन्थ्यो । त्यतिखेर त्यस्तो बिग्रेको बियरिङको बाहिरी फलामको चक्का हात पार्नु नै ठूलो कुरा थियो । नर्कट त जताततै पाइन्थ्यो । 

घरका मान्छेले अरू बेला त्यसरी चक्का गुडाएको देखे बन्देज लगाउँथे तर दशैँका केही दिन खेल्नमा अलि छुट हुन्थ्यो । त्यसैले दशैँको बिदा कहिले आउला र दिनभरि त्यो चक्का गुडाउँला भन्ने लाग्थ्यो । एक दुई दिन छोडेर,  दशैँमा त गुडाउने त फुर्सद नै निस्कन्नथ्यो । पूजा, नखत्या आदि कारणले अन्य कुरामा नै व्यस्त  । उमेर र छरितोपनाका कारणले सबैले काम अह्राउन मिल्ने थिएँ म । 

मेरो एक जना छिमेकी साथी थियो, चक्का गुडाउने  । मेरो व्यस्तता देखेर फलामे चक्का सापटी लिन आउँथ्यो । उसको घरको आर्थिक अवस्थाको बारेमा त्यो उमेरमा सोच्न सक्ने कुरै थिएन । तर उसको एउटा कुराले म छक्क पर्थें ।

उसले दशैँ आउनु एक महिनाअघि नै भन्थ्यो, अब दशैँ आउँछ सेतो चामलको भात र मासु खाइन्छ ।  मैले त भात भन्नासाथ चामलकै भात भनेर बुझ्थेँ, उसले चामलको बाहेक केको भात खान्थ्यो थाहा भएन, सोध्दा पनि सोधिएन । हाम्रा घरमा भने बेला बखत राँगोको मासु किनेर चाड मनाइन्थ्यो । दशैँमा कुखुराको भाले र बोका काट्ने चलन थियो । परिवार पनि ठूलो थियो । त्यो एउटा कुरा भयो । तर त्यो मेरो चक्का गुडाउने पार्टनरले भनेका कुरा चाहिँ त्यो कलिलो उमेरमा पनि मन छोयो । सेतो चामलको भात र मासु खाने दशैँ ।

उसका बाले मुस्किलले परिवार धानेका थिए भनेर अहिले सम्झन्छु । यस्ता कति आमा बा होलान् जसले आफ्ना सन्तानलाई दशैँमा मासुभात खुवाउने सपना देख्छन् ।

सम्झना २. 

दशैँ साना केटाकेटीहरू यसकारण सम्झन्छन् कि त्यो बेला नयाँ लुगा लगाउन पाइन्छ । त्यतिखेर लगाउने लुगा अहिले जस्तो प्रशस्त थिएनन्, एक दुई जोरले काम चलाउने चलन थियो । त्यही पाँच वर्षकै उमेरमा नयाँ लुगा लगाएर मामाघर गइयो । मामाघर पुगेर चौरतिर लुकामारी खेल्दा खेल्दै काँडेतार भएको कम्पाउन्डमा छिर्न खोजेको त नयाँ लुगा पूरै च्यातियो ।

अब दुःख र डरले बिस्तारै मामाघर फर्कियो र आमालाई भनियो । कति मुस्किलले नयाँ लुगा हालिदिएको होला, आमा रिसाउनुभयो । फेरि त्यहाँको स्थानीय दमाई बोलाएर सिलाएर लागाइदिनुभयो ।

सम्झना ३. 

समयले आफू पनि छोराछोरीका बा भइयो । लक्ष्मीजी आमा हुनुभयो । समय हामी साना नानी भएको जस्तो बेला रहेन । भूमिका पनि फरक भयो । आफ्ना सन्तान निरोगी र सफा देखिँदा आफूखुसी हुने नै भयौँ । हामी बाआमा भइसकेको बेला साना नानीहरूका थरीथरीका लुगा बजारमा आइसकेका थिए । कस्तो लुगा किन्ने ? कस्तो नयाँ फेसन हो ? भन्ने प्रतिस्पर्धा सुरु भइसकेको थियो । विभिन्न ब्रान्डका लुगा बजारमा छन् । यस्तो बेला कुन लुगा छनोट गर्ने भन्ने निर्णय केटाकटीहरू हुर्काउने क्रममा महत्वपूर्ण हुने रहेछ ।

फेरि सबैभन्दा ठूलो कुरा त लुगाको बारेमा नानीहरूको कलिलो दिमागमा लगाउने सोच हुँदोरहेछ । नानीहरूलाई सरल, सुहाउने र सफा लुगा किन्ने भनेर सम्झाउँथ्यौँ । हामीले कहिल्यै ब्रान्डेड लुगा किनेनौँ । स्थानीय बजारबाट नानाीहरूलाई फिट हुने र सुहाउने किसिमका लुगा खोजी गर्थ्याैं । महँगो लुगालाई कहिल्यै प्राथमिकता दिएनौँ । 

यसरी नानीहरूको लुगाहरूको चयन गर्नु अत्यन्तै समयलाग्दो काम हो । तर यसले दशैँ त टरिहाल्यो, केटाकेटी नयाँ लुगा लगाएर दङ्ग भइहाले । साथै सानैदेखि भड्किलो र खर्चिलो लुगा नलगाउने बानी बस्यो । 

सम्झना ४.

दशैँमा खेलिने खेल भनेको पिङ पनि हो । कसले कसरी खर्च जुटाएर कुन्नि ठाउँठाउँमा पिङ हालेकै हुन्थ्यो । अझ रोटेपिङसमेत हुन्थ्यो । मेरी आमाले सानैदेखि पिङ खेलाउन लानुहुन्थ्यो । भन्नुहुन्थ्यो, एक पटक जमिन छोड्नुपर्छ । अहिले मनोरञ्जनका कति धेरै साधन छन तर पिङ खेलेर आउनुको मिठासको तुलना गर्न सकिन्न ।

Author

स्नेह सायमि