• १३ साउन २०८१, आइतबार

चार महिनापछि डाब खप्तड पर्यटन सडक सुचारु

blog

चार महिनापछि सञ्चालनमा आएको बाजुराको डाब खप्तड पर्यटन सडक । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असोज १९ गते । बाजुराको डाब खप्तड पर्यटन सडक चार महिनापछि सञ्चालनमा आएको छ । चार महिनादेखि अवरुद्ध हुँदैआएको सो सडकलाई स्थानीय तहले दशैं तिहार अगावै खोल्नेगरी निर्माणको काम सम्पन्न गरेपछि नवमीको दिनदेखि सञ्चालनमा आएको हो ।

बूढीगङ्गा नगरपालिका १० का अध्यक्ष दलबहादुर साउँदले सो सडकलाई वडा पालिकाले भदौमै सुचारु गर्नेगरी काम गर्दैआएको भए पनि बर्खाको समय बाढ पहिरोको कारण सडक खोल्न समय लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “लामो समयको प्रयासले डाब खप्तड पर्यटन सडक डाबदेखि डुग्ररसैनसम्म, सिगाडा, झण्डार देउमाण्डौं बदेडा हुँदै डुँग्ररसैन जिप, ट्याक्टर लगायतका  सवारी साधन सुचारु हुन थालेका छन् ।

डाब खप्तड पर्यटन सडक सुचारु भएपछि काँडा जयवागेश्वरी, जुवापानी सोलापाखा तीमाडा बदेडाका स्थानीयलाई दैनिक उपभोग्य सामग्री तथा आउजाउमा सहज भएको वडा अध्यक्ष साउँदले बताउनुभयो ।

खाद्यान्न ढुवानीमा सहज

चार महिनादेखि अवरुद्ध बन्दै गएको डाब खप्तड पर्यटन सडक असोज १८ गतेदेखि सुचारु भएपछि बदेडा तीमाडा सेलापाखा, जयबागेश्वरी काँडा लगायतका स्थानीयलाई नुन तेल दाल चामलसहित दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको छ । 

बूढीगङ्गा नगरपालिका १० शान्तिबजारका साहु खम्म सार्कीले, साँफेबजार डाब बजारदेखि भरिया लगाएर सामान ल्याउनु पर्ने बाध्यता अब टरेको बताउनुभयो । बाटो खुलेपछि दैनिक उपभोग्य सामग्रीको मूल्य पनि घटेको उहाँको भनाइ छ ।