• १५ असार २०८१, शनिबार

दशैंभरि बदली रहने, बिहीबारसम्म सामान्यदेखि भारी वर्षाको सम्भावना

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १८ गते । यस वर्षको दशैं वर्षामय हुने भन्दै सतर्क रहन विज्ञहरूले सुझाएका छन् । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सोमबार (महाष्टमी) का दिन पनि देशभरका विभिन्न स्थानमा अविरल वर्षा भएको र मङ्गलबार (आज) पनि देशभर मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको अनुमान गरिएको छ । 

काठमाडौं उपत्यकामा पनि अहिले पानी परिरहेको छ । यस वर्षको दशैं वर्षामय हुने भएकाले विज्ञहरूले टीका लगाउन जाँदा खहरे खोलानालामा सावधानी अपनाउन आग्रह गरेका छन् । हाल प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको विभागको भनाइ छ । 

प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै आज राति देशभर सामान्य बदली रहनेछ । 

दशैँको टीकाको दिन  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १,  बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा तथा प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  

टीकाको राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । 

टिकाको भोलिपल्ट अर्थात् बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार राति सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।