२०७९ सालको दशैँको रौनकले आमनेपालीको घरआँगनमा उत्साह छाएको छ । यो चाड मनाउन देश–विदेशमा रहेका नेपाली आआफ्नो कर्मथलो छाडेर गाउँघर फर्किने क्रम तीव्र छ । सडक, बजार, सार्वजनिक यातायातका क्षेत्रमा देखिएको मानिसको बाक्लो उपस्थितिले दशैँको रौनक स्पष्टै झल्कन्छ । हरेक नेपाली धार्मिक तथा सांस्कृतिक पर्व दशैँलाई उत्साह, उमङ्ग एवं हर्षोल्लासका साथ मनाउन आतुर देखिन्छन् । वैदिक सनातन कालदेखि मनाइँदै आएको विजयादशमीले आसुरी शक्तिमाथि सत्यको विजयको सन्देशलाई प्रवाहित गरिरहेको हुन्छ । मातृ शक्तिको महत्तामा आधारित नवरात्रिका नौ दिनमा
जगत्जननी भगवती नवदुर्गाका नौ अवतार शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा देवी, कुष्माण्डा देवी, स्कन्दमाताको पूजा–आराधना गरिन्छ ।
यसैगरी देवीका अन्य अवतार कात्यायनी देवी, कालरात्रि, महागौरी, सिद्धिदात्रीलाई पनि यी नौ दिनमा भक्तिपूर्वक पुजिन्छन् । नवरात्रिका नौ दिनमा मातृ शक्तिको पूजा–आराधनापश्चात् दसौँ दिन (विजयादशमी)मा विजयोत्सवका रूपमा मान्यजनबाट रातो टीका र जमरा ग्रहण गर्ने प्रचलन छ । मुलुकका केही स्थानमा दशमीकै दिन मात्र टीका ग्रहण गर्ने प्रचलन रहे पनि धेरैजसो स्थानमा यो क्रम दशमीपछिका पाँच दिन अर्थात् पूर्णिमासम्म नै रहन्छ । आफ्ना कुल धर्म, रीतिरिवाजअनुरूप टीकाको रङ, जमरा वा फूलमा विविधता हुनसक्ने भए पनि अधिकांश नेपालीले यो परम्परालाई आत्मसात् गरिरहेको अवस्था छ । यस अर्थमा नेपाली–नेपालीबीच सामाजिक एकता कायम राख्न दशैँको विशेष योगदान रहेको पाइन्छ । साथै वर्तमानको व्यस्त समयमा टीका थाप्ने तथा भेटघाटका कारण पनि पारिवारिक सम्बन्ध नवीकरण तथा पारिवारिक पुनर्मिलनको चाडका रूपमा समेत यसलाई लिने गरिन्छ । यो दशैँको महìवपूर्ण पक्ष हो । यी तथ्यबाट पनि नेपालका विभिन्न जातजातिका नेपालीमाझ दशैंँ पर्वको विशिष्ट स्थान रहेको स्पष्ट हुन्छ ।
आर्थिक, सामाजिक तथा धार्मिक दृष्टिकोणबाट समेत दशैँ महìवपूर्ण चाड हो । आर्थिक दृष्टिकोणबाट हेर्दा दशैँका बेला मात्र नेपालको कुल वार्षिक आर्थिक गतिविधिको करिब एकचौथाइ अंश ओगट्ने गर्छ । आर्थिक गतिविधिलाई चलायमान गराउन यो चाडको महìवपूर्ण भूमिका रहेको तथ्यलाई बेवास्ता गर्न मिल्दैन । बजार चलायमानको गतिले पनि अर्थतन्त्रको तस्बिर स्पष्ट पार्छ । ऋणधन गरेर भए पनि आफ्नो गच्छेअनुसार दशैँ मान्ने हाम्रो विगत छ । नेपालीमाझ सांस्कृतिक एकता कायम गर्न दशैँले महìवपूर्ण भूमिका निर्वाह गरेको छ । केही वर्षअघिसम्म दशैँलाई आत्मसात् नगर्ने प्रवृत्ति देखिए पनि अहिले यसमा सुधार आएको छ । धार्मिक कट्टरतालाई पर सारेर हेर्दा हिमाल, पहाड, तराईका नेपालीका साझा सांस्कृतिक चाडका रूपमा यसको महìव विशिष्ट खालको छ ।
विजयादशमीको परम्परा तथा विरासत नेपालीका लागि धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट गौरवको विषय हो । यसको जगेर्ना एवं संवद्र्धन गर्नु हामी नेपालीको कर्तव्य हो । यो चाडलाई सामाजिक सद्भाव तथा हर्षोल्लाससाथ मनाउने वातावरण सिर्जना गर्नु सबै नेपालीको दायित्व हो । देश–विदेशमा रहेका सबै नेपालीले हर्ष, उमङ्ग तथा विजयोत्सवका रूपमा विजयादशमी मनाउने अवस्था कायम रहोस् । आसुरी शक्तिका रूपमा रहेका लोभ, मोह, भ्रष्टाचार, कुशासन देशबाट लोप भएर शान्ति, सुव्यवस्था तथा सदाचार कायम होस् भन्ने कामना यस महान् पर्वका अवसरमा गरौँ ।
दशैँको बेला एकातिर सार्वजनिक यातायातमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने अवस्था छ भने अर्कोतिर खानपानलाई पनि सन्तुलित बनाई स्वास्थ्य अवस्थाको पनि ख्याल गर्नु उत्तिकै आवश्यक छ । खानपिनमा ध्यान नदिँदा चाडपर्व सकिएपछि धेरैमा स्वास्थ्य समस्यासमेत देखिने गरेको छ । अझ दशैँको मुखैमा डेङ्गु रोगले निकै समस्या पारेको अवस्था छ । धेरै घरपरिवार यसबाट प्रभावित छ । कोरोना कहर बिस्तारै कमजोर हुँदै जादा डेङ्गुले नेपालीलाई धेरै नै कष्ट दिएको छ । यी सबै चुनौतीलाई जितेर विजयादशमीको अवसरमा खुसी साटासाट गर्नुपर्ने अवस्थामा हामी छौँ । अर्कोतर्फ आगामी मङ्सिर ४ गते सङ्घीय संसद् तथा प्रदेश सभाका लागि निर्वाचन मिति घोषणा भइसकेको छ । हामी नेपाली आगामी पाँच वर्षका लागि आफ्नो भविष्य सुयोग्य प्रतिनिधिका हातमा सुम्पिने तयारीमा छौँ । माता दुर्गा भवानीले कर्मठ, इमानदार तथा योग्य प्रतिनिधि चयनका निम्ति सबै मतदातालाई आशीर्वाद प्रदान गरून् । सबैलाई विजया दशमीको शुभकामना ।