• ८ मंसिर २०८१, शनिबार

बुढापाकासँगै हराउँदै छ पिङ चमच्चाको चलन

blog

काठेखोला –७ रेशमा निर्माण गरिएको चमच्चा खेल्दै स्थानीय । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, असोज १६ गते । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको बिटाचौतारो कुनै समय दशैं–तिहारमा पिङ्ग र चमच्चा खेल्ने गन्तव्य थियो । ठूला दुई वटा खिर्राको रुपमा तयार गर्ने चमच्चा र नजिकैै निर्माण हुने पिङ्ग खेल्न बच्चादेखि बुढापाकासम्मको भीड लाग्ने गथ्र्यो । त्यतिबेला पिङ चमच्चा हाल्ने पाको पुस्ता अधिकांशको स्वर्गारोहण भयो । युवा पुस्ता बुढेसकालमा पुगे । 

धेरैलाई मनोरञ्जन दिन चमच्चा र मान्छेको भार थाम्ने खिर्राको रुख बुढो भएर मरे । पहिलो पुस्ता अस्ताए । त्यति बेलाका युवापुस्ता बुढा भएसँगै सो ठाउँमा पिङ र चमच्चा देखिन छाडेको धेरै बर्षभयो । नयाँ पुस्ताले विगतमाजस्तो मेहनत गरेर पिङग चमच्चा हाल्ने जाँगर गर्न छाडेपछि पिङ चमच्चाको संस्कृति नै लोप भएको छ । 

नवदुर्गा सुरु हुनु अगाडि देखि आफ्नो घर नजिक निर्माण हुने काठे चमच्चा र लिङगे पिङ खेल्न पालो कुर्न पर्ने अवस्था भोग्नुभएका स्थानीय गोपाल विक अहिले पिङग कता हालेका छन् भनेर खोज्नु पर्ने अवस्था आएको बताउनुहुन्छ । 

दशैंका लागि पिङ हाल्न गाईवस्तुबाट जोगाए बावियो राख्ने गरिन्थ्यो । स्थानीय दिलबहादुर थापाले भन्नुभयोे, ‘चमच्चाका लागि दुई महिनादेखि तयारी गर्नुपथ्र्यो अहिले हरायो । गाउँमा बसोबास गर्ने अधिकांश मानिस सहर केन्द्रीत हुँदा परम्परागत सीप समेत नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन ।

विगतमा दशैं तिहारमा आउँदा पीङ, चमच्चा हाल्ने र खेल्ने परम्परा थियो थापाले भन्नुभयो, “अहिले ग्रामीण दशैं तिहारमा लोप हँुदैगएको छ । दशैंका बेला बस्तीका टोलमा पीङ हाल्नका लागि आतुर हुने र खेल्नका लागि तछाडमछाड गर्ने देखिन्थ्यो ।” पछिल्ला वर्ष युवा पुस्तालाई पिङप्रति चासो छैन । युवापुस्ता पिङप्रति आकर्षित हुन नसक्दा पिङ खेल्ने संस्कृति नै हराउन थालेको हो । 

विशेषगरी दशैं, तिहारमा खेलिने पिङ चमच्चा हिजो आज सहरी क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने मेला, महोत्सवमा राख्ने गरिएको छ । दशैं तिहारमा हुनुपर्ने पिङ चमच्चा तिजमा हुन थाले थापाले भन्नुभयो– “आधुनिक प्रविधिको प्रयोगबाट बन्ने त्यस्ता सामग्रीले मौलिकतालाई विस्थापित गरेको छन् ।” 

विगतमा पिङग चमच्चा हुने ठाउँमा अहिले कालोपातिले ढाक्न थाल्यो भीमापोखराका प्रेम केसीले भन्नुभयोे– “पिङ्ग, चमच्चा बनाउने सीप युवा पुस्तामा हस्तान्तरण नहुँदा धेरैलाई खेल्ने मन भए पनि खेल्न नपाएका हुन् । बावियोले बनाउने लिङ्गे पिङ्गको ठाउँमा केही वर्ष प्लाष्टिकको डोरीले पिङ्ग बनाएर एक–दुई वर्ष चलाए पनि गाउँमा बाँस गाडने र फुर्काे बाँधने मान्छे समेत नहुँदा पिङ संस्कार विस्तारै हराउन थालेको छ ।