• १३ साउन २०८१, आइतबार

प्रसूति भवन छ, सेवा छैन

blog

रौतहट समाचारदाता

रौतहट, असोज १६ गते । स्थानीयस्तरमै प्रसूति सेवा सहज तथा सुलभ बनाउन निर्माण गरिएको प्रसूतिगृह सञ्चालनमा नहुँदा रौतहटको गुजरा नगरपालिकाका गर्भवती महिला प्रसूति सेवा लिन अन्यत्र जानुपर्ने बाध्यतामा छन् । 

सो नगरपालिकाको वडा नम्बर २ को कटानी बजारमा तीन वर्षअघि निर्माण सम्पन्न भइसकेको प्रसूतिगृह सञ्चालन भएको छैन । नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको लगानीमा तीनकोठे सो भवन ४१ लाख रुपियाँमा निर्माण गरिएको बताइएको छ । 

रङ्गपुर स्वास्थ्य चौकीको मातहतमा रहेको सो भवन सञ्चालनमा नआउनाको मुख्य कारण जिल्ला स्वास्थ्य कार्यालय रौतहटले प्रसूति सेवा सञ्चालनको अनुमति नदिएर हो भन्नुहुन्छ चौकी प्रमुख भूपेन्द्र चौधरी । गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार जयसवाल भन्नुहुन्छ, “भवन त निर्माण भयो तर सुरक्षाका लागि ‘कम्पाउन्ड वाल’ र ‘नर्सिङ’ आवास नभएकाले प्रसूति सेवा सञ्चालन हुन नसकेको हो ।”

गुजरा नगरपालिकाले प्रसूतिगृह सञ्चालनका लागि चासो नदेखाएका कारण स्थानीय महिला प्रजनन स्वास्थ्यबारे जानकारी लिन र प्रसूति गराउन अन्यत्र जानुपर्ने र विविध समस्या झेल्नुपर्ने अवस्था रहेको कटानीका युवा सुशील कुमारले बताउनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत जयसवालले कम्पाउन्ड वाल र आवास निर्माणका लागि बजेट विनियोजन भइसकेकाले ती संरचना निर्माण हुनासाथ प्रसूति सेवा सञ्चालनमा आउने विश्वास दिलाउनुभयो ।