अजय शाह
गौशाला (महोत्तरी), वैशाख १ गते । मधेश प्रदेशमा मानसिक यातनाबाट पीडित हुने बिरामीहरूको संख्या बढ्दै गएको एक तथ्यांकले देखाएको छ।
प्रादेशिक अस्पताल, जनकपुरधाममा सञ्चालित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले दोस्रो चौमासिक समन्वय बैठकका क्रममा उक्त विवरण सार्वजनिक गरेको हो।
बैठकमा प्रस्तुत तथ्यांकअनुसार पछिल्लो नौ महिनाको अवधिमा केन्द्रमा आएका कुल पीडितमध्ये करिब ५० प्रतिशत मानसिक यातनाबाट प्रभावित रहेका छन्। ओसीएमसीमा २०८२ साउनदेखि चैतसम्म जम्मा ८८१ जना पीडित सेवा लिन आएका छन्। तीमध्ये पुरुष २२ जना र महिला ८५९ जना रहेका छन्।
उक्त अवधिमा सबैभन्दा बढी ४०१ जना मानसिक यातनाका पीडित केन्द्रमा आएका छन्। यसमध्ये पुरुष १३ जना र महिला ३८८ जना रहेका छन्। त्यसैगरी अधिकार तथा स्रोतबाट वञ्चित भएका पीडितको संख्या २८३ रहेको छ, जसमा पुरुष आठ र महिला २७५ जना छन्।
रुढीवादी प्रथा, दाइजो, भ्रूणहत्या तथा जातीय विभेदबाट पीडित हुनेको संख्या २२ रहेको छ, ती सबै महिला रहेका छन्। शारीरिक चोटपटकका कारण केन्द्रमा आउनेहरूको संख्या ७९ रहेको छ र ती पनि सबै महिला नै रहेका छन्।
यौनजन्य दुर्व्यवहारका घटनामा ८३ जना महिला र एक जना पुरुष गरी ८४ जना पीडित रहेको तथ्यांकमा उल्लेख छ भने जबरजस्तीकरणीका घटनामा १२ जना महिला पीडित रहेका छन्।
ओसीएमसीमा सेवा लिन आउनेमध्ये सबैभन्दा बढी १९ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्। समीक्षा अवधिमा ३९१ जनालाई थप उपचारका लागि अस्पतालमा रिफर गरिएको छ भने १२ जनालाई प्रहरीमा पठाइएको जानकारी दिइएको छ।
त्यसैगरी १७ जनालाई सुरक्षित आवास (सेफ हाउस), १५ जनालाई कानुनी सहायताका लागि वकिलसमक्ष, ७४ जनालाई मानसिक परीक्षणका लागि, आठ जनालाई पुनर्स्थापनाका लागि तथा सबैभन्दा बढी ५०६ जनालाई मनोपरामर्श सेवामा पठाइएको केन्द्रले जनाएको छ।
जिल्लागत विवरणअनुसार ओसीएमसीमा आएका पीडितमध्ये सबैभन्दा बढी धनुषाका ५१७ जना रहेका छन्। त्यसपछि महोत्तरीका ६०, सिरहाका तीन, सप्तरी र सर्लाहीका दुई/दुई जना रहेका छन्। यसैगरी झापा, पर्सा, बारा, कास्की, सिन्धुली, रौतहट, काठमाडौं, मकवानपुर र नुवाकोटका एक/एक जना रहेका छन्।
गत वर्षको सोही अवधिमा १,५७२ जना पीडित ओसीएमसीमा आएका थिए। यस आधारमा यस वर्ष लैङ्गिक हिंसासहितका सामाजिक अपराधमा केही कमी आएको दाबी गरिएको छ।
कार्यक्रममा ओसीएमसी सञ्चालनमा देखिएका चुनौतीहरू पनि औँल्याइएको थियो। केन्द्रमा कार्यरत चिकित्सक तथा नर्सहरूको इच्छाशक्ति अभाव, पर्याप्त जनशक्ति नहुनु, प्रभावित बाहेक अन्यले समेत निःशुल्क सेवाको अपेक्षा गर्नु, तथा प्रभावित समयमै नआउँदा प्रमाण सङ्कलनमा कठिनाइ हुनुजस्ता समस्या रहेको जनाइएको छ।
प्रादेशिक अस्पतालका निर्देशक डा. जामुन सिंहले जनशक्ति अभाव न्यूनीकरणका लागि ६० जना कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार उक्त पदका लागि वैशाख ७ गते परीक्षा सञ्चालन हुने छ।
साथै मानसिक स्वास्थ्य सेवाको विस्तारका लागि चालु आर्थिक वर्षमै पाँच शय्या थप गर्ने तयारी भइरहेको र ओसीएमसीमार्फत सेवा लिन आउने बिरामीका लागि तीन महिनासम्म पुग्ने औषधि मौज्दात राख्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो।