पुष्कर भण्डारी
डडेल्धुरा, असोज १६ गते । जमरा राखेदेखि नै नेपाली घरआँगनमा दशैँ सुरु भएको छ । देशविदेशबाट गाउँघरमा दशैँ मनाउन फर्कने क्रम जारी छ यद्यपि विगतको जस्तै दशैँ रौनक गाउँघरमा छैन ।
दशैँमा पिङ राख्ने, विभिन्न लोक बाजाका धुन र लोक भाका गाउने प्रचलन थिए । क्लाट बाजाले दशैँ आएको सङ्केत दिन्थ्यो । दशैँ सुरु भएपछि क्लाट बाजा (यसलाई कालो बाजा पनि भनिन्छ) मा मालश्रीका धुनले गाउँबस्तीमा बेग्लै आनन्द दिन्थ्यो ।
अमरगढी नगरपालिका–५, खलङ्गाका ७९ वर्षीय रामबहादुरले आफ्नो समयको दशैँ स्मरण गर्दै भन्नुभयो, “पहिले झिसमिसे उज्यालो हुँदै गर्दा बिहानै घरआँगनमा क्लाट बाजाको धुन सुन्न पाइन्थ्यो तर अहिले भने बज्न छाडेको छ ।” उहाँले विगतमा क्लाट बजाएर मालश्री गाएका दिन सम्झँदै भन्नुभयो, “क्लाट बाजा बज्नै छाड्यो । क्लाट बाजाका धुन गुञ्जिएपछि गाउँमा दशैँको रौनक आउँथ्यो ।”
क्लाट बाजाको धुनमा ‘जय माँ दुर्गा भवानी’ बोल बजाइने उहाँको सम्झना अझै ताजै छ । दशैँ परम्परा र संस्कृतिमा आएको परिवर्तनबारे उहाँले भन्नुभयो, “अहिले धेरै परिवर्तन आएको छ । पुरानो तरिका र शैलीअनुसार हुने गरेको छैन । पूजाआजा पनि रीत पु¥याउन मात्रै गरिन्छ ।”
अमरगढी–४, तल्लो खलङ्गाका स्थानीय गौरीदेवी भण्डारीका अनुसार पहिला–पहिला घटस्थापनाको दिनदेखि नै बिहानै ठूला–ठूला क्लाट बाजा बज्थे । घरटोलमा मीठो धुन सुन्न पाइन्थ्यो । अहिले त्यो संस्कार हराएको छ । दशैँमा बाजा बजाएबापत दमाई जातिलाई गाउँलेले खाद्यान्न, लत्ताकपडा र दक्षिणा दिने चलन अहिले हराएको भण्डारीले बताउनुभयो ।
घटस्थापनापछि टीकाको दिनसम्म नवरात्रि शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्छ । कुल देवतादेखि विभिन्न देवीदेवताका मठमन्दिरमा स्थानीय नवरात्रि बसेसँगै दशैँका दिन देवताका धामीबाट टीकाजमरा लगाउने चलन डडेल्धुरालगायत सुदूरपश्चिमका अधिकांश गाउँमा छ ।
नवरात्रि बसेकाले मन्दिरमै सामूहिक रूपमा जमरा राख्ने गर्छन् । कुनै–कुनै मन्दिरमा घटस्थापनाको दिन नै गाउँमा रहेको देवताको भ्राणबाट बाजागाजा र पूजापोखलसहित मन्दिरमा देउरो लैजाने र दिनहँु पूजाआजा गर्ने चलन छ । प्रायः मन्दिरमा पञ्चमीका दिन गाउँको भ्राणबाट देउरो लगेर दशैँको दिन पूजाआजा गरी टीकजमरा थापेर स्थानीय घर फर्किने परम्परा छ । दशैँको दिन पूजाआजा सकेर टीकाजमरा लगाएपछि बाजागाजासहित देउरो गाउँकै भ्राणमा ल्याएर राख्ने गरिन्छ ।
अष्टमी र दशैँको टीकाको दिन मेला लाग्ने मन्दिरमा राँगा र बोकाको बलि दिइन्छ । कुनै पनि काम सफल होस् भनी देवीदेवतासँग गरिएको भाकल पूरा गर्न बलि दिने प्रचलन रहिआएको छ ।
कार्य सम्पन्नताका लागि देवीदेवतासँग गरिएका भाकलका आधारमा मन्दिरमा घण्ट, त्रिशूल, सुनचाँदीका गरगहना, नेजा, ध्वजा चढाउने चलन रहेको पण्डित लोकराज भट्टले बताउनुभयो । कुनै पनि काम गर्दा देवतालाई सोधेर गर्ने चलन यहाँ रहिआएको छ । काम सफल होस् भनी स्थानीयले देवीदेवतासँग भाकल गर्छन् । कतिपय समयमा कमीकमजोरी औँल्याउँदै जान अञ्जानमा भएका गल्तीको दण्डसजायस्वरूप बलि वा अन्य वस्तु गरगहना देवीदेवतालाई चढाउनुपर्ने चलन रहेको भट्टले बताउनुभयो ।