भवानीदत्त भट्ट
कञ्चनपुर, वैशाख १ गते । खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती गहुँबाली जलेर नष्ट भएपछि चिन्तित हुनुहुन्छ ।
आइतबार साँझ पुनर्वास नगरपालिका–९ “ख” गाउँका स्थानीय बिष्णुदल काफ्लेले आफ्नो जमिनमा रहेको फोहोरमा लगाएको आगो अचानक सल्किन गई खातीको गहुँ बाली जलेको हो ।
आगालागिबाट गहुँ बाली जलेर नष्ट भएपछि स्थानीय खातीको परिवार गुजाराको पिरालोले चिन्तित बनेको छ । वर्ष भरी खानका लागि काट्न तयार रहेको गहुँमा आगोलागेपछि १२ जनाको परिवार कसरी गुजारा गर्ने भनेर चिन्तित बनेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर साहीले गहुँ बालीमा सल्किएको आगोले केही समयमै १८ कठ्ठा जमिनमा काट्न तयार भएको गहुँ पूर्ण रूपमा जलेको बताउनुभयो ।
गहुँ बाली नजिकै १० कठ्ठामा उखु खेती गरेकाले अन्य कृषकहरूको झन्डै आठ बिघामा लगाएको गहुँ जल्न नपाएको प्रनाउ बोहराले बताउनुभयो । आगलागीबाट नष्ट भएको गहुँको मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
पुनर्वास नगरपालिकाले भने आगलागीबाट स्थानीयको गहुँ खेती नष्टभएपछि केही हद सम्म राहत प्रदान गरिने जनाएको छ । नगरपालिकाका सूचना अधिकारी धौल सिंह सार्कीले पुरै क्षतिपूर्ति उपलब्ध गराउन नसकिए पनि प्रहरी मुचुल्काका आधारमा केही राहत उपलब्ध गराइने बताउनुभयो ।
८० प्रतिशत गहुँ कटाइ सकियो
कृषकहरूले गत मङ्सिर महिनामा छर्केको गहुँ बाली धमाधम कटाइ गर्न थालेका छन् । जिल्लामा ८० प्रतिशत गहुँ कटाइ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।
गत मङ्सिरमा छरेको गहुँ तयार भएपछि काट्न सुरु गरिएको कृषकहरू बताउँछन् । कोही प्रविधिको प्रयोगले गहुँ काट्टै आउनुभएको छ, भने कोही कृषकहरूले हातले नै गहुँ काट्दै आउनुभएको छ ।
जिल्लामा यस वर्ष ३१ हजार २१० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्म साउदका अनुसार, जिल्लामा बर्सेनि झन्डै एक लाख २ हजार मेट्रिक टन गहुँ उत्पादन हुने गरेको छ ।
यस वर्ष पनि सोही मात्रामा उत्पादन हुने अपेक्षा गरिएको सूचना अधिकारी साउदले बताउनुभयो । यहाँका कृषकहरूले विजय, आदित्य ,गौतम, जिङ्क लगायत स्थानीय तथा सुधारिएको जातका गहुँ खेती गर्दै आउनुभएको छ ।