• १५ असार २०८१, शनिबार

ज्येष्ठ नागरिकहरू सम्मानित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १५ गते । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस शनिबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल सरकारले ६० वर्ष उमेरभन्दा माथिकालाई ज्येष्ठ नागरिक मानेको छ ।

नेपालको संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने छ भनी संवैधानिक सुनिश्चितता प्रदान गरेको छ । वर्तमान सरकारले सामाजिक सुरक्षा भत्ता लिने ७० वर्षको उमेरलाई घटाएर ६८ वर्षमा झारेको छ । यसबाट लाखौँ ज्येष्ठ नागरिक सामाजिक सुरक्षामा आबद्ध हुनेछन् ।

३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा तारकेश्वर नगरपालिका वडा नं. ४ र तारकेश्वर ज्येष्ठ नागरिक सेवा समाजको आयोजनामा ज्येष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य परीक्षणमा संलग्न स्वास्थ्यकर्मी सिमाना थापाले अधिकांश ज्येष्ठ नागरिकको रक्तचाप सामान्य रहेको, केहीमा उच्चे र कतिपयमा न्यून रहेको बताउनुभयो । उहाँले उच्च र न्यून रक्तचाप भएकालाई अस्पताल जान सुझाव दिएको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले ज्येष्ठ नागरिक समाजका ऐन हुन् र उहाँहरूका अनुभव समाजका लागि उपयोगी हुने चर्चा गर्नुभयो । नगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधी निःशुल्क दिइरहेको तर नागरिकहरू महँगो सेवा लिन जाने गरेको गुनासो गर्नुभयो । सरकारले ज्येष्ठ नागरिकलाई ७२ प्रकारका औषधी निःशुल्क दिने जनाएको छ ।

समाजका अध्यक्ष वीरेन्द्र थपलियाले ज्येष्ठ नागरिकको हक हितका लागि वाचनालय र ज्येष्ठ नागरिक चौतारो निर्माण गर्न पहल भइरहेको जानकारी दिनुभयो ।