• ८ मंसिर २०८१, शनिबार

यसरी सकिन्छ बाँदर समात्न

blog

साढे दुई दशकअघिको घटना हो। पाटन मङ्गलबजार नजिकै सोठनारायण मन्दिरमा लुक्ने एक्लो भाले बाँदरको कर्तुतले प्रहरी, अदालत र त्यसवरिपरिका स्थानीयले हैरानी खेप्नुपरेको थियो। ज्यानको जोखिम मोल्नुपरेको घटना पङ्क्तिकारको सम्झनामा ताजा छ। आजकल धेरैजसो जिल्लामा बाँदरको व्यापक वितण्डा राष्ट्रिय समस्याको रूपमा देखिएको छ। यस घटनाको समस्या समाधानको उपायले बाँदर पक्रिनुपर्ने अवस्था आएमा यो अनुभव सहायक हुन जाला भन्ने हेतुले पङ्क्तिकारले यहाँ सेयर गर्न उचित सम्झेको हो। 

मङ्गलबजारस्थित तत्कालीन प्रहरी कार्यालय र सँगै रहेको जिल्ला अदालतको झ्यालबाट अफिस पसेर बाँदरले महत्ववपूर्ण कागजात र मिसिल छानामा ल्याई धुजाधुजा पार्ने, त्यत्तिले मात्र नपुगी दिनहुँ बिहान विद्यालय जाने गरेका बालबालिकाका किताब तान्ने, चिथोर्ने, टोक्ने गरेको र एवंरीतले ५० भन्दा बढी सङ्ख्यामा केटाकेटी घाइते भएका थिए। फलस्वरूप टिटानस र बौलाउने रोग रेबिजविरुद्ध दिनहुँ खोप लगाउन टेकु अस्पताल भीडले भरिने गथ्र्यो। कतै रेबिज भइहाल्यो भने अवश्यम्भावी मरिने डर भयो। दुष्ट बाँदरको दिनहुँको बढ्दो आतङ्कले प्रहरी, प्रशासन, अदालत र त्रसित स्थानीय जनताको दबाब प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा पर्यो। सीडीओबाट पङ्क्तिकारले चिडियाखाना अफिसमा समस्याको गम्भीरताबारे थाहा पायो। 

राष्ट्रिय निकुञ्जको स्वीकृति लिएर एकाध बदमासलाई पक्रेर तह लगाउनबाहेक जङ्गली बाँदर पक्रिन कानुनले वर्जित गरेको छ। पक्रिएकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा स्थान्तरण गर्दा समस्या पनि सर्न सक्छ। निकुञ्ज वरिपरिका बस्तीमा त्यही समस्या बल्झिन सक्छ । 

समस्या सुल्झाउन जसरी भए पनि त्यो बाँदर समाती दिनुपर्यो भने उहाँको विशेष अनुरोधमा लामो दूरीसम्म डार्ट फेक्ने राइफल, पिस्तोल र ब्लोगन (फुकेर बेहोस गर्ने औषधिको डार्ट फेक्ने) सहित तीनवटै उपकरणबाट सुसज्जित स्टाफ लिई तुरुन्तै समस्याग्रस्त ठाउँमा पुग्यौँ। खोज्दै जाँदा गल्लीभित्रको अग्लो सोठनारायण मन्दिर छतको टुप्पामा दिउँसो आराम गरिरहेको त्यो दुष्टात्मा देखियो। तर त्यो बाँदर बसेको दूरी राइफलको रेन्जभन्दा बाहिर थियो। राइफलको निशाना लगाउन सकियो भने पनि डार्ट–सिरिन्जको तोडले बाँदरको मुटु, फोक्सो वा पेट छेड्ने डर, भगवान् हनुमानको प्रतीक, धार्मिक आस्थाको वन्यजन्तु मर्न जाने सम्भावनालाई बेवास्ता गर्नुभएन। मार्ने आशय नभएर पक्रिन पर्ने लक्ष्य र चुनौती पनि थियो। 

हामी घरभित्र लुकी मन्दिर सामुन्नेको घर आँगनमा फलफूल राखेर धेरैबेर कुर्दा पनि त्यो ढेडु तल झर्ने जमर्को गरेन। हामी नयाँ अनुहारका आगन्तुक उसको सन्देह घेराभित्र परिसकेका थियौँ। यसरी कतिबेरसम्म कुर्ने ? तुरुन्तै उसलाई समात्न सकिने भेउ पाएनौँ। त्यसलाई पक्रिन जति उत्साहित भएर गएका थियौँ त्योभन्दा बढी निराश भएर फर्किन पर्यो।

कसरी समात्ने रातभरि माथिङ्गलले उपाय खोजिरह्यो। बिहानीपख अकस्मात् मस्तिष्कमा आशाको बत्ती धिपिक्क बल्यो। बिहानै दस बज्नेबित्तिकै चिडियाखानामा भएको एक रत्तिएकी बाँदर्नी मैयाँ नाम कि पोथीलाई सानो खोरभित्र राखी सोठमन्दिर परिसर लाग्यौँ। मन्दिर छेउको अघिल्लो दिनको एउटा निजी घरभित्रको कोठामा होहल्ला नगरी लुकेर बाँदर्नी मैयाँको कम्मरमा डोरी बाँधियो र अर्को छेउ मन्दिर तर्फको झ्यालको डन्डीमा बाँधेर मैयाँलाई आँगनमा झारियो। 

यथाशीघ्र ब्लोगनमा औषधिको मात्रा मिलाई बेहोस गर्ने डार्ट तयार गरिसकेपछि बाँदर्नीलाई एउटा लामो लठ्ठीले घोचेर जिस्कायौँ। मैयाँको तिखो “क्याँक्याँ चित्कार गर्नेबित्तिकै मन्दिर छतको टुप्पाबाट छलाङ लगाउँदै, आँखा झिम्किन नपाउँदै बिजुलीको गतिले एकक्षणमा बाँदर्नी मैयाँलाई सहयोग गर्न “घ्याँ घ्याँ” गर्दै पोथीछेउ पुगिहाल्यो। पछाडि सुँघेर पोथी हो भन्ने थाहा पाएर भलाकुसारी गर्दागर्दैको मौकामा डार्टले उसको तिघ्रा भेट्टाइसकेको थियो। दुई मिनेटमा ढलमल हुन थाल्नेबित्तिकै भालेलाई बोराले छोपेर खोरमा बन्द गरियो। हनी ट्र्यापमा पर्यो मापाको बाँदर। तमासा हेर्न जमघट भएको भीडलाई चिर्दै दुवैलाई चिडियाखाना लगियो। स्थानीयमा खुसीको लहर छायो र सबैले सन्तोषको सास फेरे। त्यसबेला बाँदरबाट टोकिने केटाकेटी अहिले निश्चय नै जवान, वयस्क भइसकेको हुनुपर्छ। त्यो बाँदरले झम्टेर सातो खाएको, त्यसपछि तत्कालीन रेबिज खोपको मोटो र दुख्ने सुई पेटमा ग्वाम्म लगाउनु परेकाले जीवन्त भुल्ने कुरो भएन। गुण्डो भाले बाँदर र पोथी बाँदर्नी मैयाँको कथा यत्तिकैमा कहाँ टुगिन्थ्यो। सरकारी पाहुना भएर दुवैलाई चिडियाखानाको एउटा खोरमा राखियो। यसबारे पत्रपत्रिकामा छापियो, नजिकैबाट हेर्ने उत्सुक दर्शकको भीड बढ्यो। त्यसको परवाह नगरी दुवै सरकारी खान्कीमा खान र बस्न पाएका ती युगल जोडी हनिमुनमा मस्त थिए। बाँदर्नी मैयाँ पाएपछि निर्दयी भालेको आक्रामक स्वभावमा परिवर्तन देखियो। सायद पोथीको साथ नपाएर बदमास भएको रहेछ ? यो मानिसमा पनि लागू हुन सक्ला कि ?

हनिमुनको सुखद प्रतिफल दिइन्– छ महिनामा बाँदर्नी मैयाँले एउटा स्वस्थ सुन्दर पोथी बच्ची जन्माइन्, दुवै बाआमा हुन पाए र परिवारसहित खेल्दै सुख चयनमा रहे।

समप्रजातीय अपराधी भालेलाई पक्रिन सहयोग गरेबापत बादर्नी मैयाँले इनाम स्वरूप लिभिङ टुगेदर भाले साथी पाए भने मिसिल चपाउने र बालबालिका टोक्ने आक्रामक सोठ बाँदरलाई खोरमा थुनिनु पर्यो तर पोथीको साथले घरजम गर्न पाएकोमा भालेलाई सान्त्वना मिल्यो नै। मानव समाजमा ढेडुले मनपरी टोक्ने छुट कसरी पाउन सक्थ्यो ?

यो लेखको मुख्य अभिप्राय एउटा बाँदरको सहयोगले पनि बिनाडार्ट प्रयोग गरी पासो थापेर ठूला खोरहरूमा बाँदरका हुलका हुल पक्रिन सकिन्छ। पक्रेर मात्र समस्या समाधान हुन नसक्ला। राष्ट्रिय निकुञ्जको स्वीकृति लिएर एकाध बदमासलाई पक्रेर तह लगाउनबाहेक जङ्गली बाँदर पक्रिन कानुनले बर्जित गरेको छ। पक्रिएकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा स्थान्तरण गर्दा समस्या पनि सर्न सक्छ। निकुञ्ज वरिपरिका बस्तीमा त्यही समस्या बल्झिन सक्छ। 

भोको पेटले आहाराको खोजीमा जहाँ पनि जान सक्छ, जे पनि गर्न बाध्य हुन्छ। यस्ता समस्यामूलक वन्यजन्तुलाई वनमै आहारा सुलभ गराउन अल्पकालीन र दीर्घकालीन योजनामै वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय र गृह मन्त्रालयको समन्वयात्मक सहयोगमै कार्यान्वयन गरिनु अत्यावश्यक छ। यो राष्ट्रिय समस्यालाई बेलैमा सम्बोधन हुन सकेमा सबैको कल्याण हुन्छ।