• १८ साउन २०८२, आइतबार

राजनीतिमा विकल्पको बहस

blog

धर्तीमा सबै चिजको विकल्प हुन्छ । खाद्यान्नमा चामलको विकल्प मकै, कोदो आदि अन्य अन्न हुन सक्छन् । वस्त्रमा धोतीको विकल्प, कुर्ता सुरुवाल, यसको विकल्प दौरा सुरुवाल, अर्को सर्ट पाइन्ट आदि आदि । जुत्ताको विकल्प चप्पल बन्न सक्छ । विकल्प नभएको भनेको आमा र बाबु मात्रै हुन् । जन्मदिने आमा र बच्चाको जन्मका लागि बीज प्रदान गर्दै जन्मपश्चात् कर्म प्रदान गर्ने पिताको ठ्याक्कै विकल्प भने कोही हुन सक्दैन । बाध्यात्मक अवस्थामा माताको भूमिका निर्वाह गर्नका लागि कोही महिला र पिताको कर्तव्य पालनाका लागि कोही पुरुष तयार हुने मात्रै हो तर जुन माया, ममता, लालनपालन वास्तविक मातापिताबाट प्राप्त भएको हुन्छ, त्यो कसैबाट सम्भव हुँदैन ।

नेपालको राजनीतिमा भने राजनीतिक दल र दलका नेताको विकल्प हुनै सक्दैन जस्तो भाष्य निर्माण हुँदै गएको छ । बर्सौंदेखि जुन राजनीतिक दलले सत्ता सञ्चालन गर्दै आएका छन्, भोलिका दिनमा पनि उनीहरूकै हालीमुहाली हुनु पर्छ भन्ने सोच अधिकांशमा रहेको पाइन्छ । त्यस्तै दशकौँदेखि राजनीतिक दलको नेतृत्व जुन नेताले गर्दै आएको छ, उसको विकल्प खोज्नु भनेको दलभित्र आठ रेक्टरभन्दा ठुलो भुइँचालो निम्त्याउनु जस्तै मानिँदै आइएको छ । यी सामान्य प्रक्रियाभित्र अटाउनुपर्ने हो तर त्यसो हुन नसक्दा नेपालको राजनीतिमा खराब प्रवृत्ति मौलाउँदै गएको छ ।

विसं २०४७ पछिका आमनिर्वाचनमा एउटा दलको विकल्पमा अर्को दल चयन गरिँदै नआइएको पनि होइन । इतिहास बनाएका दलको नेतृत्वमा परिवर्तन नभएको पनि होइन तर पनि वर्तमानमा नेतृत्व परिवर्तनको कुरा गर्न सबैलाई असहज बन्दै गएको छ । दल छान्ने सिलसिलामा कहिले नेपाली कांग्रेस त कहिले नेकपा एमालेलाई एउटाको विकल्पमा अर्को ठानिँदै आइएको छ । बिचमा एक पटक माओवादी पार्टी उदाए पनि त्यो दल एकाएक सेलाउँदै गएको छ । भोलिका दिनमा यसले कस्तो हैसियत बनाउँछ भन्ने त्यही दलकै क्रियाकलापमा भर पर्छ । यद्यपि नेपालमा भने दल छान्ने र दलका नेता छान्ने विकल्प भने साँघुरिँदै गएका छन् ।

हुन त अमेरिकामा त्यहाँका चुनावमा बर्सौंदेखि दुई दलमध्ये एकलाई छान्दै आएका छन् । ती दुई दलबाहेक अर्को दलको अपेक्षा गरेका पनि छैनन् । अहिले आएर अर्बपति व्यापारीले दल थप्ने कुरा गर्दै छन् तर त्यो अभियान कहाँ पुग्छ अहिल्यै भन्न सकिन्न । बेलायतमा पनि दुई दलभन्दा पर त्यहाँको राजनीति गएको छैन । प्रजातन्त्रप्रति प्रतिबद्ध दल हुने हो भने दुई दल नै पर्याप्त हुन्छन् भन्ने यी पश्चिमा विकसित राष्ट्रले उदाहरण प्रस्तुत गरेका छन् । नेपालमा भने राजनीति सधैँ तरल हुने र दलको सिद्धान्त, आदर्श र विचारप्रतिको प्रतिबद्धतामा दृढता नदेखिनुले नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व हुँदाहुँदै पनि यदाकदा वैकल्पिक दलको खोजी हुने गरेको छ ।

नेपालको राजनीतिक इतिहासमा खराब प्रवृत्ति मौलाएको पढ्न पाइन्छ । चाहे रणबहादुर शाहका पालामा होस् या राजेन्द्र या सुरेन्द्र शाहका पालामा जनताले त के राजपरिवारले नै सन्तोषको श्वास फेर्ने अवसर पाएका थिएनन् । आफ्नै परिवारभित्रको कलहले कहिले श्रीमतीले श्रीमान्लाई देश निकाला गर्ने त कहिले श्रीमान्ले श्रीमतीलाई नजरबन्दमा राख्ने काम हुँदै आएका थिए । त्यसैलाई आदर्श मानेर अहिले पनि नेपालमा राजनीतिक शक्ति र स्वार्थका लागि परिवारभित्रै ठुलो द्वन्द्व भएको देखिएकै छ । ससुरा र पति मिलेर पार्टी अध्यक्षबाट हटाएको सबैलाई थाहै छ । यस्तै घटनालाई लिएर राजनीतिमा जे पनि मान्य हुन्छ भन्ने भाष्य बनाउने प्रयास गरियो भने बेग्लै कुरा हो, होइन भने असलका लागि खोजिएका विकल्पलाई सबैले स्वीकार गर्न सक्नु पर्छ ।

राजनीतिक दल या नेताका सम्बन्धमा विकल्प भनेको भइरहेको भन्दा असल, सुदृढ, इमानदार र समाजसेवी भए मात्रै देश र जनताका आकाङ्क्षा परिपूर्ति हुन सक्छन् । विद्यमान दलभन्दा साह्रै कमजोर र वर्तमानमा क्रियाशील नेताभन्दा ज्यादै नै खराब व्यक्ति विकल्पमा तेर्सिएमा त्यसले उचित प्रतिफल दिन सक्दैन । त्यो केवल नेतृत्वको भोक मेट्नका लागि मात्रै हुन्छ र भइरहेको राजनीतिलाई अझ दुर्गन्धित बनाउने काम मात्रै हुन जान्छ । कांग्रेस र एमालेका विकल्पमा उदाएका भनिएका दल र नेताहरूको त्यस्तै चरित्र देखिँदै जाँदा जनताले विकल्प खोज्ने ठाउँ भेटाउन अझै दशकौँ कुर्नुपर्ने लक्षण देखिन्छ ।

कांग्रेस, एमाले र माओवादी दललाई सुधार्ने र नेता सुध्रने भन्ने पनि चर्चा बारम्बार आइरहन्छन् । भोलिका दिनमा पार्टी हाँक्न आफू तयार भएको र अहिलेको अवस्थाभन्दा निकै उच्चस्तरमा समन्वय गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने खुबी भएको दाबी गर्दै नेतृत्वका लागि तयार भएका पनि दृश्यमा आउन थालेका छन् । चामलको विकल्प मानिएको कोदोमा चामलमा भन्दा बढी तागत र एक पटक खाएपछि लामो समयसम्म अडिलो रहने शक्ति भए जस्तै अहिले पार्टी हाँकिरहेका नेतामा भन्दा विशेष गुण, चरित्र र व्यवहार प्रदर्शन गर्न सकेकाहरूले मात्रै वर्तमानका नेताको विकल्पमा उभिन सक्छन् । 

अहिले कांग्रेसमा डा. शेखर कोइराला र गगन थापा वर्तमान सभापति शेरबहादुर देउवाको विकल्पमा उभिने प्रयास गरिरहेका छन् । अरू नेताहरूले कांग्रेसमा योगदान दिएको लामै समय बितेको भए पनि वर्तमान सभापति देउवाले हुन्छ नभनिन्जेल उम्मेदवारी दिन समेत हिम्मत नगर्ने जस्तो देखिएकाले देउवापछिको कांग्रेसको नेतृत्व समाल्ने यिनैमध्ये एक हुने सम्भावना प्रबल बन्दै गएको छ । अघिल्लो महाधिवेशनमा एउटै समूह बनाएर देउवासँग प्रतिस्पर्धा गरेका यी दुई फुटेर लडे भने भोलिका चुनौती यिनैले बेहोर्नु पर्छ भन्नेहरू पनि प्रशस्तै छन् । त्यो अरूको चिन्ताको विषय भएन, उनीहरू आफँैले सोच्ने कुरा हो । कांग्रेसमा भोलिका विकल्प भनेका यिनै दुई र अरू एक दुई थपिने सम्भावना छ ।

एमालेमा भने केपी ओलीको उदयपछि एकछत्र ओलीकै नेतृत्व चल्दै आएको छ । ओलीसँग असहमत हुनेहरू बिस्तारै किनारा लाग्दै गएका छन् भने मनभित्र उकुसमुकुस भए पनि एमालेमा कुनै मतभेद छैन भन्ने प्रदर्शन हुँदै आइरहेको थियो । एकाएक पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टीमा सक्रिय हुने उद्घोषपछि भने हलचल पैदा भएको छ । पार्टीको बैठकले सत्तरीबर्से उमेर हद र दुई पटकभन्दा बढी अध्यक्ष हुन नपाउने व्यवस्थालाई खारेज गरेपछि भोलिको नेतृत्व केपी ओलीकै हुने भन्नेमा निर्धक्क भएकाहरूका मनमा विद्या भण्डारीको प्रवेशले तरङ्ग पैदा गरेको छ । महाधिवेशनमा दुई जना लडे पनि ओली भारी मतले विजयी हुनेमा आजका मितिसम्म कसैले शङ्का गरेको छैन तर विकल्पमा मान्छे छन् भन्ने चाहिँ देखियो ।

राष्ट्र प्रमुखको भूमिका निर्वाह गरिसकेकी व्यक्ति राजनीतिमा आउनेलाई नैतिक प्रश्न उठ्न सक्छ तर ओलीको विकल्प विद्या हुन सक्छिन् कि सक्दिनन् भन्ने बेग्लै प्रश्न भयो । म अब पूर्वराष्ट्रपति होइन, नेकपा एमालेकी पूर्वउपाध्यक्ष हुँ भने पनि कार्यक्रममा देखिँदाको हिँडाइ, बोलाइ, चालचलनले पूर्वराजाको भन्दा बढी झल्को दिइरहँदा विद्याले एमाले हाँक्ने सम्भावना कत्तिको रहन्छ भन्ने भोलि महाधिवेशन हुँदा नै निक्र्योल हुने कुरा हो । सम्भावना जे भए पनि एमालेले गरेको गल्ती के हो भने पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैनथ्यो भने दुई वर्षअघि किन सदस्यता नवीकरण गरेको र आउन हुन्छ भने अहिले किन प्रश्न उठाएको भन्ने चाहिँ सबैलाई लागिरहेकै छ । उता नेकपा माओवादी पनि यस्तै भुमरीबाट घेरिएकै छ । माओवादीका अध्यक्ष प्रचण्डलाई उपमहासचिव जनार्दन शर्माले निरन्तर चुनौती दिइरहेकै छन् तर प्रचण्डको विकल्पमा कहिलेसम्म खुट्टा दह्रो बनाएर उभिन सक्छन् भन्ने चाहिँ भविष्यकै गर्तमा छोडिदिनु पर्छ ।

दलभित्र प्रतिस्पर्धा हुनै पर्छ । प्रतिस्पर्धाले नै दलहरूलाई लोकतान्त्रिक बनाउँदै लैजान्छ र नेतृत्वलाई अधिनायकवादको बाटोमा हिँड्नबाट सचेत गराउँछ । नेतृत्वले आफ्नो विरोध पचाउन सके मात्रै दलमा आन्तरिक लोकतन्त्र रहेको पुष्टि हुन्छ । लोकतन्त्रका नाममा आफ्नै पार्टीको उछित्तो काढ्ने र भोलि त्यही दलको नेतृत्व लिने सपना देख्नु पनि त्यति सान्दर्भिक ठहर्दैन । यसमा कांग्रेस अलि अगाडि देखिएको छ भने अन्य दलमा केही कमजोरी पाइन्छ । कांग्रेसमा नेतृत्वले आफ्ना विरोधीलाई पार्टी छाडेर जाउ भनेको सुनिँदैन भने अन्य दलमा यस्तो कुरा सामान्य झैँ देखिन्छ ।

सिद्धान्त, विचार र आदर्शका दृष्टिले नेपालमा कांग्रेसको वैकल्पिक धारको दल देखिन सकेको छैन । आफूलाई लोकतान्त्रिक भन्नेहरूले चित्त बुझे पनि या नबुझे पनि कांग्रेसमै बस्नु पर्ने बाध्यता छ । कम्युनिस्ट सिद्धान्त भएकाहरूलाई भने केही सहज छ । एमालेमा बसे पनि या माधव नेपालको एकीकृत समाजवादीमा रहे पनि उनीहरूको जात जाँदैन । यी दुई पार्टीका नाम त उदाहरणका लागि प्रस्तुत गरिएको हो यस्ता दर्जनौँ दल अस्तित्वमा रहेका छन् । हुन त सत्तामा पुगेका कांग्रेस, एमाले र माओवादीले अर्थ व्यवस्थामा फरक सिद्धान्त अवलम्बन गरेको देखिएको छैन, त्यसैले यी दललाई नै एकको विकल्प अर्कोका रूपमा हेर्न सकिन्छ । मात्र यत्ति हो कि सुशासनका विषयमा दलहरू प्रतिबद्ध हुन आवश्यक छ ।

वैकल्पिक दल उदाउनुलाई नै उचित भन्न खोजिएको भने होइन । नेपाली कांग्रेस र नेकपा (एमाले)ले आफूलाई पूर्ण लोकतान्त्रिक बनाउँदै देश र जनताप्रति उत्तरदायी हुनु नै सबैभन्दा उत्कृष्ट हो । दलको सदस्य सङ्ख्या बढाउँदै लैजान सक्ने नेता नेतृत्वमा रहनु नै दलका लागि श्रेयष्कर हो तर दल खुम्चिँदै जाँदा पनि कुर्सी नछाड्ने प्रवृत्तिले विकल्पको खोजी गर्न थाल्छ । पार्टीको सिद्धान्तलाई अङ्गीकार गर्दै लोकतन्त्र संस्थागत गर्न सक्ने नेताको विकल्प कसैले खोज्दैन तर पार्टीमा खिया लाग्दै गयो भने विकल्प तयार हुँदै निश्चय नै जान्छन् ।