काभ्रेपलाञ्चोक, साउन १८ गते । पनौती नगरपालिका–११ स्थित बल्थलीमा सञ्चालित बाढीपहिराले क्षतिग्रस्त खानेपानी आयोजना पुनर्निर्माण गरिएको छ । विसं २०८१ असोजको बाढीपहिराले क्षति पुर्याएको उक्त नेपाने–फ्याङखोला खानेपानी तथा सरसफाइ योजनालाई ‘ग्राभिटी सिस्टम’मार्फत पुनर्निर्माण गरी बल्थलीका दुई बस्तीका उपभोक्तालाई पुनः खानेपानी उपलब्ध गराइएको हो ।
बल्थलीस्थित नेपानेका एक सय २३ र डाँडागाउँका ७२ घरपरिवार पुनः ‘एक घर, एक धारा’ कार्यक्रममा जोडिएका हुन् । विसं २०४७ मा निर्माण उक्त आयोजना २०७२ सालको विनाशकारी भूकम्प र गत असोजको बाढीपहिराले क्षति पुर्याएपछि दाता संस्थाको सहयोगमा आर्थिक सहयोगमा पुनर्निर्माण गरी उपभोक्तालाई सहज बनाइएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार तामाङले बताउनुभयो । उहाँका अनुसार रु. १९ लाख नौ हजार ४०० खर्चेर एक सय २३ धारासहित दुईवटा २० हजार क्षमताको पानीट्याङ्की निर्माण गरिएको छ । यस्तै जनश्रमदानबाट रु. चार लाख १८ हजार खर्चिएको हो ।
एक सय २३ परिवार नै तामाङ समुदायका हुन् । हाल खानेपानीको सुरक्षित प्रयोग, गुणस्तरीय खानेपानीका लागि उपभोक्ताको भूमिका र सरसफाइका तरिकाबारे स्थानीय बालबालिकालाई समेत सचेत गराइएको वडाध्यक्ष विपिन लामाले बताउनुभयो । उहाँका अनुसार विपत्तिपछि केही समयका लागि खानेपानीको हाहाकार हुँदा नगरबाट उपलब्ध सामग्रीमार्फत अस्थायी रूपमा खानेपानी व्यवस्थापन गरिएको थियो । रासस