शंकर केसी
सल्यान, साउन १८ गते । सल्यानबाट प्रदेश राजधानी सुर्खेत तथा दाङ जोड्ने लुहाम काभ्रा कालीमाटी सडक पहिरोका कारण अवरुद्ध बनेको छ । कालीमाटी गाउँपालिका–१ को दलपुरे भन्ने स्थानमा ठूलो पहिरो झरिरहेको र आइतबार बिहानैदेखि सडक पूर्ण रुपमा बन्द रहेको कालीमाटी १ का वडा अध्यक्ष रविलाल बस्नेतले जानकारी दिनुभयो ।
पहिरो स्थलमा रहनुभएका उहाँले भन्नुभयो, “सुख्खा पहिरो झरिरहेको छ । सडक माथिबाट ठूलो ढुङ्गा खस्ने जोखिम देखिन्छ । यो सडक खुलाउन तीन–चार दिन लाग्ने देखिन्छ ।’’ काभ्रा–कालीमाटी सडकमा आवतजावत गर्न निकै जोखिमपूर्ण भएकाले यसबारे आँफुले सम्बन्धित प्रहरी युनिटमा जानकारी गराइसकिएको वडा अध्यक्ष बस्नेतको भनाइ छ ।
सल्यानको त्रिवेणी गाउँपालिकास्थित लुहामबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत तथा पश्चिम दाङ आउजाउ गर्नका लागि यो छोटो दूरीको सडक हो । तर काभ्रादेखि कालिमाटी खण्ड जीर्ण छ । पर्याप्त बजेट र प्रदेश एवम् सङ्घीय सरकारको कम प्राथमिकताका कारण समयमै स्तरवृद्धी हुन नसक्दा सडक जोखिमपूर्ण छ ।