• २० वैशाख २०८१, बिहिबार

गृह मन्त्रालयका प्रवक्तासँग भिडियो कुराकानी

‘लामो रुटको यात्रा सहज बनाउने प्रयासमा छौँ’

blog

काठमाडौं, असोज १४ गते । लामो रुटमा उपत्यकाबाट बाहिरिने यात्रुलाई  कठिनाइ भएको भन्दै गृह मन्त्रालयले यात्रा सहज बनाउने गरी काम गरिराखेको छ । यात्रुलाई लामो यात्रामा असहज भएपछि मन्त्रालयले यस्तो पहल थालेको हो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले असोज १ गतेदेखि खुलेको अग्रिम टिकट सकिएको र गाडी फर्कन नमान्दा यात्रुलाई कठिनाइ भएको भन्दै यस्तो बताउनुभएको हो । 

असोज ८ गते पोखरेलको अध्यक्षतामा बसेको बैठकले चाडपर्वको समयमा अत्यधिक भीड भएको कारण देखाएर आवश्यकता अनुसार अनुगमन गर्ने, बसको छतमा, झुण्डिएर यात्रा गर्न नदिने जस्ता १४ वटा निर्णय गरेको थियो । अहिले ती निर्णयको कार्यान्वयनको पक्ष सन्तोषजनक रहेको उहाँको भनाइ छ । 

‘१४ वटा निर्णयहरुको कार्यान्वयन पक्ष सन्तोषजनक छ’, उहाँले भन्नुभयो, ‘सवारीको यान्त्रिक परीक्षण गरेर मात्र सञ्चालनमा आएका छन् । टिकट र सवारीको  विषयमा केही समस्या देखिएको छ । हामी यो समस्या समाधान गर्नेतर्फ केन्द्रित छौँ ।’

यस्तै लामो रुट विशेषगरी सुदूरपश्चिममा चल्ने गाडी उपत्यकामा रित्तै फर्किनु परेको भन्दै व्यवसायीले गुनासो गरेको उहाँले बताउनुभयो । काठमाडौंतर्फ रित्तै फर्किनु परेको भनेर कतिपय सवारीले भाडा लिँदा मनपरी लिने गरेको भेटिएकाले कारबाही गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘केही सवारीले यात्रुसँग बढी भाडा लिएको भेटिएपछि सम्बन्धित सवारीलाई कारबाही गरिएको छ  । यातायात व्यावसायीसँग पनि तोकिएको भाडामै यात्रुलाई लैजान आग्रह गरेका छौँ ।’

यदि बढी भाडा लिएको, चालकले मादक पदार्थ खाएर सवारी चलाएको थाहा पाए तत्काल नजिकैको प्रहरी कार्यालय वा १०३ मा फोन गर्न सकिने उहाँको भनाइ छ। यात्रुहरु सुरक्षित यात्राको लागि विभिन्न ठाउँमा सहायता कक्ष राखिएको पोखरेलको भनाइ छ। गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :  

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।