यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः । (मनुस्मृति ३।५६)
अर्थात् जहाँ नारीहरू पुजिन्छन्, त्यहाँ देवताहरू रमाउँछन् ।
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।। (सप्तशती, ५।३४)
अर्थात् सम्पूर्ण प्राणीहरूमा शक्तिका रूपमा अवस्थित जुन देवी हुन्, तिनलाई नमस्कार छ ।
उद्धृत श्लोकका मान्यतालाई आत्मसात् गरी देवी-नारीशक्तिको सम्मानपूर्वक अभिवादन गरिँदा देवीशक्तिका उपासकहरू श्रद्धावनत हुन्छन् । वैदिक सनातन धर्मपरम्परामा वेद, वेदाङ्ग, स्मृति, पुराण र धर्मसूत्रग्रन्थमा प्रतिपादित विविध नित्य-नैमित्तिक वार्षिक चाडपर्वसम्बद्ध कृत्यको तात्विक कुरा लोककल्याण गर्नु र परलोकमा मोक्ष प्राप्त गर्नु रहेको हुन्छ । वेद नै धर्मको मूल आधार हो । अन्य ग्रन्थ वेदका अनुकूल र अविरोधी हुँदा ग्राह्य हुन्छन् । प्रसङ्गात् मार्कण्डेय पुराणमा वर्णित देवीको उपासनास्वरूप ‘सप्तशती’सँग सम्बद्ध वार्षिककृत्य ‘शारदीय नवरात्र र नवदुर्गा पूजा’ भएकाले यहाँ नवरात्रको सन्दर्भमा नवदुर्गापूजा र नारीशक्तिको महìवका बारेमा शास्त्रीय आधार र सामाजिक प्रभावबारे परिचर्चा गर्न खोजिएको छ ।
अनादिकालदेखि चलिआएको सनातन धर्मसंस्कार परम्पराको अथाह सागरको गहिराइको चम्किलो मोती प्राप्त गर्नबाट विमुख नभई आफैमा सकारात्मक ऊर्जा बढाउने र क्रियाशील जीवनमा अग्रसर हुने सुनौलो अवसरबाट स्वयं वञ्चित हुनुहुन्न ।
वार्षिक कालखण्डमा दुई अयन (उत्तरायण र दक्षिणायन), ६ ऋतुहरू (वसन्त, ग्रीष्म, वर्षा, शरद्, हेमन्त र शिशिर), बाह्र महिना, दुई पक्ष (शुक्ल र कृष्ण), तिथिहरू र सात बारहरू हुन्छन् । वैदिक सनातन हिन्दुधर्मावलम्बीहरू दक्षिणायनको आरम्भदेखि धेरै वार्षिक कृत्यहरू : नागपञ्चमी, कुशे औँसी, श्रावणीकर्म-जनैपूर्णिमा, तीजलगायत नवरात्र÷नवदुर्गापूजा÷दशैँ, यमपञ्चक÷तिहार÷भाइटीका र छठ पर्वहरू मनाउँछन् । यिनमा दशैँ र तिहारलाई राष्ट्रिय पर्वका रूपमा लिइन्छ । नवरात्र पनि चैत्र शुक्लको र आश्विन शुक्लका गरी दुईथरि छन् । मौसम परिवर्तन हुने घोर रोगकारी ऋतु (वसन्त र शरद्)मा शुभकामनार्थ देवीशक्तिको पूजा गर्नुपर्ने मान्यता पाइन्छ । नवरात्रमा दुर्गापूजाको प्रचलनको प्रसङ्गमा रामले रावणसँग युद्धमा जानुपूर्व ‘रामेश्वरका साथमा विधिपूर्वक अपराजिता वा विजया देवीको पूजासहित व्रत समापन र विजयकामनापूर्वक यात्रा गरेको बताइन्छ । वासन्ती नवरात्र-चैते दशैँ र शारदीय नवरात्र÷बडादशैँको चर्चासँगै शारदीय नवरात्रमा दुर्गादेवीको विशेष आराधना गर्ने कुराको उल्लेख पुराणहरूमा पाइन्छ :
शरत्काले विशेषेण कर्तव्यं विधिपूर्वकम् ।
वसन्ते च प्रकर्तव्यं तथैव प्रेमपूर्वकम् ।।
द्वावेव सुमहाघोरावृतू रोगकरौ नृणाम् ।
वसन्तशरदादेव सर्वनाशकरावुभौ ।।
शरद्वसन्तनामानौ दुर्गमौ प्राणिनामिह ।
तस्माद्यत्नादिदं कार्यं सर्वत्र शुभमिच्छता ।।
(श्रीमद्देवीभागवत ३।२६।३,४,५) ।
शारदीय नवरात्रका रूपमा शरद् ऋतुको आश्विन शुक्लप्रतिपदादेखि नवमीसम्मको अवधिलाई लिइन्छ । दैवी शक्तिका उपासकहरू एकभक्त भई ब्रह्मचर्यको पालना आदि नियममा रही देवीको पूजाआराधना गर्दछन् । यस्तो विधान तन्त्र तथा तन्त्रसम्बद्ध पुराणहरूका वचनमा पाइन्छन् । यिनै शास्त्रीय आधारबाट सामाजिक एवं राष्ट्रिय रूपमा नै शारदीय नवरात्र, नवदुर्गापूजा (बडादशैँ)लाई विशेष महìवका साथ लिने गरिएको छ ।
नवरात्रका संस्कारक्रम
घटस्थापना: दशैँ आयो भन्ने अभिलक्षणमा लोकमा घटस्थापना÷जमरा राख्ने भनी चर्चापूर्वकको तयारी गरिन्छ । व्यावहारिक रूपमा सामाजिक चहलपहल, सजावट, नयाँनयाँ सरसामान, खसीबोका इत्यादिको किनबेच र देशविदेशका मानिसहरू घर फर्कनेको लस्कर इत्यादि भिन्न प्रकारको विशेष वातावरण देखिन्छ ।
यो दिन नवरात्रको नवदुर्गापूजाको पहिलो दिन हो । यस दिन पहिलो स्वरूपकी देवी शैलपुत्रीको विशेष पूजाआराधनाका लागि सर्वप्रथम घटस्थापना गर्न र जमरा राख्नका लागि उपयुक्त स्थानको भूमिशोधन (सफाइ र शुद्धि) गरिन्छ । त्यहाँ जमरा राख्न माटाको वेदिका वा ठूला टपरीमा शुद्ध माटो तयार गरिन्छ । घटस्थापनाका सामग्रीहरू मिलाइसकेपछि कलश स्थापनाको विधिअनुसार कलश सजाएर स्थापना गरिन्छ । त्यसै घटमाथि अष्टदललिखित तामाको वा अन्य थाली राखेर त्यसमा देवीप्रतिमा अथवा दहीअक्षता राखी दुर्गादेवीको आह्वान गरिन्छ । यस क्रममा पूजा गरिने नौ वटी दुर्गाका स्वरूपहरू :
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।
(सप्तशती , देव्याः कवचम्, ३,४) ।
अर्थात् १.शैलपुत्री, २.ब्रह्मचारिणी, ३.चन्द्रघण्टा, ४.कूष्माण्डा, ५.स्कन्दमाता, ६.कात्यायनी, ७.कालरात्रि, ८. महागौरी, ९. सिद्धिदात्री गरी नौवटी देवीहको आह्वान गरिन्छ ।
प्रतिदिन त्रिकाल षोडशोपचार अथवा पञ्चोपचार विधिले देवीको पूजा गर्ने विधान छ– त्रिकालं पूजनं नित्यं नानाद्रव्यैर्मनोहरैः (देवीभागवत, ३।२६।३६) । पूजाका लागि मार्कण्डेयपुराणको देवीमहात्म्यको विधानअनुसार देवीसूक्त, देवीमहात्म्य पाठ एवं बलिदान गरिनुपर्छ ।
यवरोपण - जमरा राख्नु: पूजाका क्रममा बनाइएको माटाको वेदीका वा ठूला टपरीमा तयार गरिएका माटामा मन्त्रपूर्वक यवरोपण (जौ रोप्ने कार्य) गरिन्छ । कतैकतै स्थानविशेषमा र समुदायविशेषले जौसँग गहुँ पनि रोप्छन् । जौ नपाइएका अवस्थामा मकैका जमरा राख्ने र लाउने गरेको पनि पाइन्छ ।
कुमारीपूजा : कुमारीहरू : (१ वर्षकी कुमारी अज्ञ हुनाले नपूजिने), २ वर्षकी कुमारी, ३ वर्षकी त्रिपुरा, ४ वर्षकी कल्याणी, ५ वर्षकी रोहिणी, ६ वर्षकी कालिका, ७ वर्षकी चण्डिका, ८ वर्षकी शाम्भवी ९ वर्षकी दुर्गा र १० वर्षकी सुभद्राको पूजा गर्ने विधान छ (देवीभागवत ३।२६।४०–४३) । कुमारीको पूजाले दुःख, दारिद्र्य हट्ने, शत्रुक्षय हुने, धन, आय, विद्या, बलको वृद्धि हुने बताइएको छ । विभिन्न मनोकाङ्क्षाको परिपूर्णताका लागि यी कुमारीको पूजा गरिनुपर्ने बताइएको छ (देवीभागवत ३।२६।४५–५१) ।
यसैगरी दोस्रो, तेस्रो, चौथो र पाँचौँ दिनपछि षष्ठीमा बिल्ब निमन्त्रणा, सप्तमीमा नवपत्रिका पूजा र अस्त्रस्थापनासहित पूmलपाती भित्र्याउने गरिन्छ । महाअष्टमीमा कालरात्रिको पूजा, अस्त्रपूजा र बलिदान गरिन्छ । महानवमीमा पनि महाअष्टमीको जस्तै कुमार्यादि पूजा, शस्त्रास्त्र पूजा र बलिदानसहित सिद्धिदात्रीको पूजा हुन्छ । यसरी नौदिनसम्म नौवटी देवीको विशेष पूजा गर्ने विधान छ ।
अन्त्यमा दशमीका दिनमा अपराजिताको पूजा गरी विसर्जन गरिन्छ ।
दुर्गासप्तशती वा देवीमहात्म्य पाठ : नवदुर्गा पूजा गर्दा दैनिक एकएक मुख्य देवीको विशेष पूजा गरिने कुराको चर्चा त गरिसकिएको छ । पूजाका लागि देवीमहात्म्य अर्थात् दुर्गासप्तशतीको १३औँ अध्यायमा दुर्गासूक्तको महात्म्य रहेको छ (स च वैश्यस्तपस्तेपे देवीसूक्तं परं जपन् । तौ तस्मिन् पुलिने देव्याः कृत्वा मूर्तिं महीमयीम् ।। १३।१०) । यसरी पूजाको क्रम सकेर दुर्गासप्तशती पाठ गरिन्छ । देवीसूक्त ऋग्वेदको वैदिक देवीसूक्त र पुराणको देवीसूक्त गरी दुईथरि छन् । वैदिक देवीसूक्तको गुरुमुख-श्रावणमा अध्यायोपाकर्म गरी वेदाध्ययन गरेकाले पाठ गर्ने र पुराणको देवीसूक्त चाहिँ वेदाध्यायी नभएका व्यक्तिहरूले पाठ गर्ने विधान रहेको छ । पाठविधिमा पनि संक्षिप्त र विस्तृत गरी दुई किसिमका विधिले गर्न सकिने आधार छन् : पौराणिक र तान्त्रिक । पौराणिक विधि संक्षिप्त छ भने तान्त्रिक विधि विशेष लाम्बेचौडे भएको बुझिन्छ । नेपालमा पौराणिक विधिअनुसार नै देवीमहात्म्य÷दुर्गासप्तशतीको पाठ गरिन्छ । दुर्गाकवच, अर्गलास्तोत्र, कीलकमन्त्र पाठ गरी देवीका तीन चरित्रमध्ये सक्नेले तीनै चरित्रको, नसक्नेले प्रथम र मध्यम चरित्र (१–४ अध्याय) को एक दनि र शेष (५–१३ अध्याय) अर्को दिन पाठ गर्दछन् । यथाशक्ति पाठ गर्ने भने पनि प्रथम चरित्रको प्रथम अध्यायको मात्र पाठ गरिँदैन । जति धेरै पाठ गर्यो उति बढी फल पाइने मान्यताले आफ्नो मनोकामनाअनुसार पाठ आवृत्ति गरिने विधान छ । यस क्रममा सम्पुट पाठको विशेष विधान गरिएको पनि छ । यसमा पूरा सप्तशती (सात सय श्लोक) लाई आफूले विशेष उपासनार्थ इच्छ्याइएको श्लोकले श्लोकैपिच्छे छोप्ने वा एकपल्ट मूल श्लोक (सावर्णि सूर्यतनयो...।१।) र अर्कोपल्ट सम्पुटक (शरणागतदीनार्त ...नमोस्तु ते । वा अन्य, जुन सप्तशतीको अध्याय ११ मा छन् तीमध्ये कुनै) श्लोक पाठ गरी एक हजार चार सय श्लोकसङ्ख्याको आवृत्ति गरिन्छ । अन्त्यमा देव्यापराधक्षमापनस्तोत्र, आरतीका स्तुति पाठ र क्षमाप्रार्थना गरेर दैनिक पूजा समापन गरिन्छ ।
बलिदान : दुर्गापूजा गर्नेहरूले आआफ्नो शक्तिअनुसार बलि दिने विधान छ । खासमा मासु खानेहरूले महिष, अज र बराह आदिको बलि दिनुपर्ने मान्यता छ : मांसाशनं ये कुर्वन्ति तैः कार्यं पशु हिंसनम् । महिषाजवराहाणां बलिदानं विशिष्यते ।। (देवीभागवत ३।२६।३६) । मासु नखानेले पशुबलि नदिएर कुभिण्डो, बेल, घिरौँला, नरिवलको बलि दिएर अथवा खीर, रोटी अर्पण गरेर पनि देवीको पूजा सम्पन्न गरिन्छ । मासु खानेले बलि नदिएमा नास्तिकता हुन जान्छ । देवीका अगाडि मारिएका पशुले दिव्य स्वर्ग पाउने र यो हिंसा पनि नमानिने कुराको उल्लेख पाइन्छ : देव्याग्रे निहता यान्ति, पशवः स्वर्गमव्ययम् । न हिंसा पशुजा तत्र निध्नतां तत्कृतेनघ । (देवीभागवत ३।२६।३६) । बलि दिँदा अष्टमीमा र नवमीमा दिने गरिएको छ । पुराणमा भने नवमीमा नै छाग अर्थात् बोकाको बलि प्रशस्त मानिएको छ: दद्यात् विचक्षणो भक्त्या नवम्यां विधिवत् बलिम् । (ब्रह्मवैवर्तपुराण, प्रकृतिखण्ड, ६५।८) । लोकमा बलिका विषयमा मतभिन्नता देखिएको सन्दर्भमा सबैले आआफ्नो शास्त्र, धर्मप्रति आस्था, श्रद्धा र विश्वास राखेर संस्कारकर्म गर्ने र गर्नुपर्ने हुनाले परधर्मको निन्दा गरिने कुरा शोभनीय हुँदैन । भएिको पनि छ ः आफ्नो धर्ममा मृत्युवरण गर्नु कल्याण हुन्छ परधर्म त भयावह हुन्छ (स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः) । त्यसैले सबै आआफ्नै कुल परम्पराअनुसारको धर्ममा रहेको राम्रो हो ।
अपराजिता-विजया देवीको पूजा र टीकाग्रहण : दुर्गादेवीले अत्याचारी दुष्ट राक्षस शुम्भ, निशुम्भ आदिलाई परास्त गरी स्वयं अपराजित रहेकी वा विजयी भई अन्य देवतादिको रक्षा गरेकी हुँदा यस्ती अपरापजिता वा विजया देवीको देवताहरूले स्तुति गरेको प्रसङ्ग सप्तशतीमा नै छ । यही मान्यताअनुसार नवरात्रको समाप्तिसँगै दशमीका दिन अपराजिता वा विजयादेवीको पूजा गरी दुर्गापूजाको विसर्जन गरिन्छ । दुष्टता तथा राक्षसी प्रवृत्तिको विनाश र सत् पक्षको विजय भएको खुसियालीमा विजयोत्सव मनाइन्छ । यसै क्रममा देवीका पुजारी, मान्यजनहरूबाट टीका, जमरा लगाई आशीर्वाद तथा प्रसाद ग्रहण गरिन्छ । दशैँमा मान्यजनले टीका लगाई आशीर्वाद दिँदा नारी र पुरुषलाई फरकफरक आशीर्वचन प्रयोग गर्ने विधान छ :
पुरुषका लागि –
आयुद्र्राणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठदेशे, ।।
वर्धन्तां बन्धुवर्गाः सकलरिपुगणा यान्तु पातालमूले ।
देशेदेशे च कीर्तिः प्रसरतु भवतां कुन्दपुष्पेन्दुशुभ्रा,
जीव त्वं पुत्रपौत्रैः सकलसुखवृतैर्हायनानां शतञ्च ।।
यसरी पुरुषलाई यश वृद्धिको कामना गरिन्छ ।
नारीका लागि –
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गाक्षमा शिवाधात्री स्वाहा स्वधा नमोस्तु ते ।
सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोस्तु ते ।
शरणागतदीनार्तपरित्राणपरायणे ।
सर्वस्स्यार्तिहरे देवि नारायणि नमोस्तु ते ।
यसरी नारीलाई चाहिँ दुर्गास्वरूप मानेर नमस्कार गरी विशेष सम्मान गरिएको कुरा यी आशीर्वचनबाट प्रस्ट हुन्छ ।
दुर्गादेवी वा नारीशक्तिको महत्व
माथिका चर्चामा नवदुर्गा र अपराजिताको अनि नौवटी कुमारीहरूको अलगअलग विशिष्टता रहेको कुरा प्रकाशमा आइसकेको छ । सिङ्गो श्रीमद्देवीभागवत महापुराण, मार्कण्डेयपुराण, कालिका पुराण, ब्रह्मवैवर्त पुराणलगायत रामायण र महाभारतमा पनि देवी दुर्गाको महत्वको व्यापक चर्चा पाइन्छ । दुर्गासप्तशतीकै देवीमहात्म्य (अध्याय ५, ११, १२)मा बताइए अनुसार नारीशक्तिको सूक्ष्मताको रहस्य प्रकाशित हुन्छ :
वार्षिक रूपमा शरद्ऋतुमा देवीको महापूजा गरिन्छ र उनैको भजनकीर्तन गरी महात्म्य सुनिन्छ । प्राकृतिक कारण अर्थात् अयन–चलनले गर्दा शरद् ऋतु क्रमशः अगाडि सरेर भदौमा नै शरद् ऋतु हुने अवस्था आइसकेकाले भदौमा नै दसैँ मनाउन पर्ने आवाज उठेको र केहीले मनाउने गरेको भए पनि अहिलेसम्म असोजमा नै दसैँ मनाउने चलन चलिरहेकै छ । शरद् कालमा गरिएको देवीपूजापछि देवीका वरप्रसादले मानिस सबैखाले बाधाबाट मुक्त भई सन्तान र धनसम्पत्तिले युक्त हुन्छन् (शरत्काले महापूजा क्रियते या च वार्षिकी । ...।। सर्वाबाधाविनिर्मूक्तो धनधान्यसुतान्वितः ।। मनुष्यो मत्प्रसादेन भविष्यति न संशय : ।। १२।१२,१३ ।।) भनिएको छ । यहाँ दुर्गाका अनेक स्वरूप : देवी, महादेवी, शिवा, प्रकृति, भद्रा, रौद्रा, नित्या, गौरी, धात्री, ज्योत्स्ना, चन्द्ररूपिणी, सुखस्वरूपा, कल्याणी, सिद्धिरूपा, नैर्ऋती, राजलक्ष्मी, शर्वाणी, दुर्गा, दुर्गपारा, सारा, सर्वकारिणी, ख्याति, कृष्णा, धूम्रादेवी, अतिसौम्या, अतिरौद्रा, जगत्प्रतिष्ठा, कृति, विष्णुमाया, चेतना, बुद्धिरूपा, निद्रारूपा, क्षुधारूपा, छायारूपा, शक्तिरूपा, तृष्णारूपा, क्षान्तिरूपा, जातिरूपा, लज्जारूपा, शान्तिरूपा, श्रद्धारूपा, कान्तिरूपा, लक्ष्मीरूपा, वृत्तिरूपा, स्मृतिरूपा, दयारूपा, तुष्टिरूपा, मातृरूपा, भ्रान्तिरूपा, चितिरूपा, (५।९–८०) समेत सर्वव्यापी सबै चराचर जगत्का जीवहरूमा नाना प्रकारका भावमा रहेकी देवीको वा नारीशक्तिको चर्चा छ । सो बोध भए अवश्य पनि नारीशक्तिको महत्वबोध हुन्छ । महाकाली पनि दुर्र्गा हुन्, महिषासुर घातिनी पनि उनै हुन् । तसर्थ स्मरणीय के छ भने हाम्रा साथमा, घरपरिवारमा र समाजमा भएका नारीहरू सबै दुर्गारूप हुन् । परिस्थिति हेरी यिनीहरू पनि शान्त स्नेहिल बन्ने या रौद्रावतारमा उत्रने गर्न सक्छन् । त्यसैले यी पूजाआराधना गरिरहँदा त्यस्ता शक्तिको सूक्ष्म महत्वबोध गर्न र उचित ख्याल राख्न, मानसम्मान गर्न बिर्सनु हुँदैन । अचेल नारीवादी, लैङ्गिक समानताको वकालत गर्ने व्यक्ति, वर्ग, समुदाय, सङ्घसंस्था, दलहरू समेतले सबैखाले नारीभित्रको क्षमताको पहिचान गरी उनीहरूका शक्तिको यथोचित सम्मान र सदुपयोग गर्न सके देवीशक्तिको महŒवबोध गरेको प्रस्ट हुन्छ । घरघरमा नारीशक्ति छन् तिनको उचित कदर गरिनुपर्छ । आफैँभित्रको शक्तिको महिमाबोध आवश्यक छ ।
मुख्य रूपमा शारदीय नवरात्रमा नवदुर्गा-नारीशक्तिको पूजा गरिन्छ । दुष्टसंहार गरी आफ्ना भक्त-अनुयायीहरूको रक्षा गर्नमा दैवीशक्तिको महत्वपूर्ण भूमिका रहेको मानिन्छ । दुर्गाको पूजा आराधना गरेमा लाभ नै हन्छ । यसले सकारात्मक भावको अभिवृद्धि र उत्साहवृद्धि हुन्छ । विद्यमान स्थितिमा दशैँमा आफन्तहरूबीच भेटघाट र मेलमिलापको अवसर जुटिरहेको अन्तररहस्यमा दुर्गाकै शक्तिको तथा घरघरमा रहेका दुर्गारूप नारीशक्तिको महत्वपूर्ण भूमिका रहेको मान्न सकिन्छ । यो सूक्ष्मतालाई मनन नगरी बाहिर भौँतारिँदा हाम्रो अज्ञानताबाट माथि उठ्ने ढोका खुल्दैन, व्यावहारिक सुख, समृद्धि र ऐश्वर्य शान्ति पाउन सकिँदैन । यो कुरा दुर्गाको उपासना, पूजा, आराधना, भक्ति गर्नाले प्राप्त हुन्छ । अनादिकालदेखि चलिआएको सनातन धर्मसंस्कार परम्पराको अथाह सागरको गहिराइको चम्किलो मोती प्राप्त गर्नबाट विमुख नभई आफैँमा सकारात्मक ऊर्जा बढाउने र क्रियाशील जीवनमा अग्रसर हुने सुनौलो अवसरबाट स्वयं वञ्चित हुनुहुन्न । यो सम्पूर्ण कुरा शारदीय नवरात्र, नवदुर्गा पूजा र नारीशक्तिको बारेमा जान्न, बुझ्न खोज्दा सम्बद्ध ग्रन्थहरूको अनुशीलन, दुर्गासप्तशतीको पाठ र विशेष परिचर्चाहरूबाट पनि बोध हुन आउँछ ।