• १३ साउन २०८१, आइतबार

आइकाओ महासभामा पर्यटनमन्त्री श्रेष्ठको सम्बोधनः नेपाली आकाश सुरक्षित छ

blog

काठमाडौँ, असोज १३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ । 

क्यानडाको मन्ट्रियल शहरमा जारी महासभामा बुधवार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताउनुभयो । आईकाओको प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अङ्क विश्वव्यापी मापदण्डभन्दा बढी रहेको बताउनुहुँदै मन्त्री श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताउनुभयो । 

उड्डयन क्षेत्रलाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउने सरकारको प्रतिबद्धता रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । नेपालको भू–धरातललाई दृष्टिगत गर्दा हवाई यातायातको विकल्प नभएको भन्दै उहाँले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेको तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको बताउनुहुँदै उहाँले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । 

यसअघि मन्त्री श्रेष्ठले आइकाओ मुख्यालयमा महासचिव जुआन कार्लोस सालजा र आइकाओ काउन्सिल अध्यक्ष साल्भाटोर साचिटानोसँग भेट गरी नेपालले हवाई सुरक्षा अभिवृद्धिमा उल्लेख्य सुधार गरेकाले इयुले नेपाललाई उडान सुरक्षा सूचीमा राखिरहनुको औचित्य नरहेको बताउनुभएको थियो ।