• १२ असार २०८१, बुधबार

शिथिल पर्यटन क्षेत्र चलायमान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १२ गते ।  विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी मङ्गलबार यो ४३औँ दिवस मनाइएको हो ।

नेपाल पर्यटन बोर्डले ‘रिथिङ्किङ टुरिजम’ भन्ने नाराका साथ मङ्गलबार बिहानको पहिलो तीन उडानबाट नेपाल भित्रिएका पर्यटकलाई स्वागत गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । 

पर्यटन बोर्ड, ट्राभल एन्ड ट्रेकिङ एसोसिएसन, होटल एसोसिएसन अफ नेपाललगायत पर्यटन सम्बद्व विभिन्न सङ्घ संस्थाहरूको अगुवाइमा हिमालयल एयरलाइन्स, जजिरा एयरवेज र ओमन एयरबाट नेपाल भित्रिएका विदेशी पाहुनालाई स्वागत गरेर बोर्डले कार्यक्रमको सुरुवात गरेको हो । यसअघिका वर्षहरूमा पहिलो उडानबाट आउने पहिलो विदेशीलाई सम्मान गर्ने गरेको थियो ।

राजधानीबाहिर काठमाडौँ, पोखरा, लुम्बिनी, जनकपुरलगायतका पर्यटकीय गन्तव्यमा विभिन्न कार्यक्रमको आयोजना गरिएको निर्देशक लामिछानेले बताउनुभयो । दिवसकै अवसरमा नेपाल पर्यटन बोर्ड र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको सहकार्यमा कागेश्वरीधाम वडा नं १ स्थित गागलफेदीमा वृक्षरोपण एवं सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । दिउँसो बोर्डमा आयोजना गरिएको औपचारिक समारोहमा सबैभन्दा बढी पर्यटक भिœयाउने कम्पनीलाई सम्मान गरिएको छ । 

त्यसैगरी भक्तपुर नगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरेको बोर्डले जनाएको छ । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका छन् । कोभिडपछि पुनरुत्थानको लयमा रहेको यो क्षेत्र केही चलायमान भएसँगै सन् २०२२ को आठ महिनामा तीन लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । 

यसैबीच सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । हालैको मन्त्रिपरिषद् बैठकले सन् २०२३ देखि २०३३ लाई भ्रमण दशकका रूपमा मनाउने निर्णय गरेको हो ।