• १३ साउन २०८१, आइतबार

चाडपर्वमा सडक सुरक्षा

blog

दशैं, तिहार र छठलगायत चाडपर्व नेपालका महान् चाड हुन्। यी चाडपर्वमा घरदेखि टाढा–टाढा बसेका परिवारदका सदस्यहरू आआफ्नो घरगाउँमा पुग्छन्। चाडपर्व नजिकिने क्रमसँगै यातायातको आवागमन बाक्लिेन गर्छ। चाडबाड मनाउन आफ्ना पुख्र्यौली घर फर्किने क्रम बढेसँगै दुःखद खबरसमेत यसै बेला आउने गर्छन्। सवारी दुर्घटना असाध्य बाक्लिेन गर्छ। चाडबाडका समयमा सडकमा सवारी आवागमनमा स्वाभाविक रूपमा बढोत्तरी हुने क्रमसँगै बढ्ने दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। सुरक्षित रूपमा गन्तव्यमा पुग्ने व्यवस्थालाई के कसरी व्यवस्थापन गर्ने भन्ने विषय सरोकार निकाय सबैका लागि यतिबेलाको प्रमुख कार्यभार भएको छ।

नेपालमा सवारी दुर्घटना, त्यो पनि चाडपर्वका बेला हुने सवारी दुर्घटना प्रभावकारी तवरले तथ्याङ्क राख्ने कार्य हुने सकेको देखिँदैन। यसको प्रभावकारी अध्ययन र सडक सुरक्षालाई के कसरी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा विगतमा व्यापक गृहकार्यसमेत गरिएको देखिँदैन। नेपाल प्रहरीको विगत केही वर्षको तथ्याङ्क प्राप्त छ तर त्यसै आधारमा धेरै निष्कर्ष भने निकाल्न मिल्दैन। सो तथ्याङ्कअनुसार दशैँ वरपर मात्र वार्षिक रूपमा छ सयभन्दा बढी सवारी दुर्घटना हुने गरेको देखिएको छ। त्यसरी हुने दुर्घटनामा झन्डै डेढ सयभन्दा बढी मानिसले ज्यान गुमाउने गरेको देखिन्छ। नेपालमा हरेक दिन सरदर सात जनाले ज्यान गुमाउने गरेकामा दशैँका बेला यो आँकडामा वृद्धि हुने गरेको तथ्याङ्क छ। तसर्थ दशैँको घटस्थापनादेखि पूर्णिमासम्मको यो अवधि सबैभन्दा बढी दुर्घटना हुने अवधि पनि हो। यो पटक त घटस्थापनाअगावै सडक दुर्घटनाको पारो तात्न थालेको छ। चाडबाडमा खुसी र उमङ्गसहित परिवारसँगको मिलन, खुसी र रमाइलो गर्ने बेला सवारी दुर्घटनामा आफ्ना परिवारजनले ज्यान गुमाउनु, अङ्गभङ्ग हुनु ज्यादै दुःखदायक घटना हो। यस पीडादायक परिस्थितिबाट मुक्तिका निम्ति सम्बन्धित सबै सरोकारवालाबीच समन्वय तथा सहकार्य नितान्त आवश्यक छ। सडक यातायातलाई प्रभावकारी, नियमित र सुरक्षित बनाउनैपर्ने आवश्यकता छ।

सरकारले सडक यातायातलाई सुरक्षित बनाउन छ सदस्यीय समिति नै गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा गठन गरेको समिति मन्त्रिपरिषद्को निर्णय नै हो। विगतमा जे भए पनि यो वर्ष भने सरकारले तत्कालै सडक सुरक्षाको विषयलाई गम्भीर रूपमा लिएको देखिएको छ। समितिमा सबै क्षेत्रको प्रतिनिधित्वसमेत छ। यथार्थ विषय र सडक सुरक्षाको व्यवस्थापनमा अब केही आशा पलाएको छ। सरसर्ती हेर्दा चाडबाडको बेला सडक दुर्घटनाको मुख्य कारक तत्त्व यात्रुको भीड, सडक तथा सवारीसाधनको अवस्था, चालकको लापरबाही आदि नै प्रमुख हुन्। यस अवस्थामा यी पक्षको सुधारका निम्ति प्रयास हुनु महत्त्वपूर्ण छ। दशैँमा यात्रु आवागमनमा बढोत्तरी हुने हुँदा भीडलाई थेग्ने सवारीसाधनको व्यवस्थापनमा ध्यान पु¥याउनै पर्छ। नाजुक सडकको समेत मर्मतसम्भार जरुरी छ। सवारी चालक, यातायात प्रदायक कम्पनीको प्रभावकारी भूमिकाको व्यवस्थापन आवश्यक छ। जे जसरी भए पनि सवारीसाधन प्रयोग गर्न पछि नपर्ने यात्रुको प्रवृत्तिमा पनि सुधार आवश्यक छ।

सवारीसाधनलाई सडकमा व्यवस्थित रूपमा सञ्चालनका निम्ति ट्राफिक प्रहरीजस्ता नियामक निकायको भूमिका निकै महत्त्वपूर्ण हुन आउँछ। ट्राफिक नियमको पालना, सवारीसाधनको अवस्था, यात्रुको सङ्ख्याजस्ता पक्षमा ट्राफिक प्रहरीको निगरानीले सडक दुर्घटना नियन्त्रणमा सकारात्मक भूमिका रहने गर्छ। नेपालमा अधिकांश सडक दुर्घटना पहाडी सडक मार्गमा हुने गरेको पाइन्छ। पहाडी सडकका उकाली–ओराली, घुम्ती, मोड, खाल्डाखुल्डी आदि सडक दुर्घटना निम्त्याउने मुख्य कारक भएका सन्दर्भमा यस्ता सडक संरचनाको सुधारमा सडक विभागजस्ता सरकारी निकायले उचित ध्यान दिनु आवश्यक देखिन्छ। अनुभवले पनि सडक दुर्घटना न्यूनीकरणमा योगदान पु¥याउन सक्छन्। नेपालभर रुट अनुमति पाएपछि नयाँ–नौला सडकमा अनुभव नभएका चालकबाट बढी सवारी दुर्घटना भइरहेका यथार्थमा रुट अनुमति इजाजत दिँदा निश्चित मापदण्डमा विशेष ध्यान पु¥याउन उपयुक्त हुने देखिन्छ। दशैँ तिहारजस्ता मुख्य चाडबाडमा हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सरकार, यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यात्रु स्वयंको सावधानी र सतर्कतालाई महत्त्वपूर्ण मानिनु आवश्यक छ। यसतर्फ सचेतना जगाउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनु वाञ्छनीय छ।