• ११ असोज २०८१, शुक्रबार
blog

दमक समाचारदाता

दमक, असोज ९ गते । सामान्यतया कुनै पनि औपचारिक कार्यक्रम उद्घाटन गर्दा ब्यानर पढ्ने, दियो सल्काउने, गमलामा राखिएको फूलमा पानी हाल्ने, रिबन काट्नेजस्ता कार्य गर्ने गरेको पाइन्छ तर झापाको दमकमा भने फरक रूपमा कार्यक्रमको उद्घाटन गरेर पुराना र मासिन एवं लोप हुन लागेका खोला तथा खोल्सी सफाइ तथा सौन्दर्यीकरणको अभियान सुरु गरिएको छ।

एउटा काँचको गिलासमा माटो तथा फोहोर मिश्रित पानी र अर्को खाली बोतल कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूको अगाडि देखेर धेरैले सुरुमा यसको तात्पर्य बुझ्न नै सकेनन् जब कार्यक्रमलाई दमक नगरपालिकाका प्रमुख राम थापाले उद्घाटन गर्ने समय भयो बल्ल कार्यक्रममा सहभागी सबै अचम्मित भए।

फोहोर पानीको गिलास केही उचाइमा राखेर टिस्यु पेपर डुबाएर अर्को खाली गिलास तल राखेर एकातिरको छेउ जोडियो। त्यो फोहोर पानी सफा भएर अर्को गिलासमा खस्न थाल्यो। कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख थापाले जीवनमा नै पहिलो पटक यसरी कार्यक्रम उद्घाटन गरेको र यस्तो विधिको विषयमा जानकारी पाएको जनाउनुभयो।

फोहोर खोलानाला तथा खोल्साखोल्सीलाई सफाइ गर्नका लागि रचनात्मक रूपमा लाग्नु पर्दछ र यो सबैको साझा दायित्व हो, नगरप्रमुख थापाले भन्नुभयो। दमकको दीपिनी,  खरखरे,  बेतेनी,  भुतेनी, राते होलीको व्यवस्थापन र सौन्दर्यीकरणको अभियानको उद्घाटन गर्दै उहाँले यस्तो भन्नुभएको हो। यो अभियानको स्वामित्व नगरपालिकाले ग्रहण गर्छ, उहाँले भन्नुभयो।

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बढ्दो सहरीकरणका कारण अहिले बिहान÷ बेलुका हिँड्ने स्थलको समेत अभाव रहेको भन्दै यो अभियानलाई सार्थक बनाउन जरुरी रहेको बताउनुभयो। दमक आउँदा खोलाखोल्सी घुम्ने अवस्था ल्याउन सकिन्छ र यो अभियान यसको सुरुवात हो, उहाँले भन्नुभयो। 

दमकमात्र भएर बग्ने पुराना खोला तथा खोल्सी व्यवस्थापन र संरक्षण गरेर पर्यटकीय गन्तव्य बनाउन सकिने प्रस्ताव ल्याउँदै खोला सौन्दर्यीकरणको अभियानलाई औपचारिक रूपमा अघि सार्ने स्थानीय अगुवा गगन पुरीका अनुसार खोलाखोल्सीको सौन्दर्यीकरणको विषय उठाउँदा कसैले नपत्याएको तर अहिले विस्तृत परियोजना विवरण बनेर काम सुरु हुने अवस्थामा पुगेको बताउनुभयो।

स्थानीय, प्रदेश र केन्द्र सरकार समक्ष नै यो कार्यक्रम प्रस्ताव गरिएकोमा यो आर्थिक वर्षका लागि विस्तृत परियोजना विवरणसहित काम सुरु गर्न एक करोड बजेट छुट्टिएको पनि उहाँले जानकारी दिनुभएको छ। पर्यटकीयस्थलको रूपमा विकास गर्दै पाँचवटा साना खोलालाई सौन्दर्यीकरण गर्नका लागि करिब एक अर्ब बजेट लाग्ने उहाँको भनाइ छ। 

राम्रो कामका लागि बजेटको अभाव नहुने रहेछ र यस्ता योजनामा तीनवटै तहका सरकार सकारात्मक पाइएको छ, उहाँले भन्नुभयो। अहिले हेपिएका र अपहेलित भएका खोला एवं खोल्सीहरू दमकको पर्यटकीय आधार बन्न सक्छ, उहाँले भन्नुभयो। यो अभियान सुरु भएपछि खोलाखोल्सी मिच्ने प्रवृत्ति पनि हट्ने उहाँले जनाउनुभयो।