• ११ असोज २०८१, शुक्रबार

तीन देश जोड्ने राजमार्ग

चौध महिनामा सात प्रतिशत काम

blog

ध्यान कुलुङ

सङ्खुवासभा, असोज ९ गते । तीन देश जोड्ने उत्तर दक्षिण कोसी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि नुमसम्मको सडक कालोपत्रे गर्न १४ महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भएको थियो। सम्झौता भएदेखि यता हालसम्म सात प्रतिशत मात्र भौतिक प्रगति रहेको निर्माण कम्पनीले जनाएको छ। 

सडक निर्माण नगरेको तथा ठाउँठाउँमा खनेर छोडेकोले यातायात अवरुद्ध भएको गुनासोपछि जिल्ला समन्वय समितिले बोलाएको बैठकमा निर्माण व्यवसायी सुरेन्द्र पाठकले उक्त प्रगति जानकारी गराउनुभएको हो। उक्त सडक कालोपत्रे गर्न ठेक्का पाएको शर्मा शिवशक्ति जेभीले काम गर्न बेवास्ता गरेको स्थानीयको गुनासो छ। सम्झौतापछि ठाउँठाउँमा खनेर छोडेकोले सडक हिलाम्य बनेपछि यातायात अवरुद्ध छ। निर्माण सम्पन्न गर्नु पर्ने आधाभन्दा बढी समय बित्दा पनि निर्माण क्षेत्रमा काम नभएको र सडक अवरुद्ध गरेपछि नागरिकहरूको गुनासो बढेको हो। 

जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरूले निर्माण कम्पनीसँग निर्माण कार्य अघि नबढ्नुको कारणबारे स्पष्टीकरण मागेका थिए। निर्माण सम्पन्न गर्नुपर्ने आधा समय बित्दा पनि काम सुरु नहुनु दुःखद भएको नेपाली कांग्रेस सङ्खुवासभाका कार्यवाहक सभापति अनन्त गौलीले बताउनुभयो। १४ महिना बित्दा पनि काम हुने छाँटकाँट नदेखिएकोले हालको ठेक्का रद्ध गरेर नयाँ प्रक्रियामा जानुपर्ने समेत कार्यवाहक सभापति गौलीले सुझाव राख्नुभयो।

कार्यक्रममा सहभागी नेकपा एमाले सङ्खुवासभाका जिल्ला अध्यक्ष जितबहादुर घिमिरेले समयमा काम नहुनुमा उत्तर–दक्षिण कोसी सडक आयोजना कार्यालयको पनि कमजोरी रहेको औँल्याउनुभयो। समयमा काम गर्न कार्यालयले ताकेता गर्नु पर्नेमा चुपचाप बसेको आरोप उहाँले लगाउनुभयो। निर्धारित समयभित्र कालोपत्रेको काम सम्पन्न नभए आयोजना कार्यालय पनि जवाफदेही बन्नुपर्ने अध्यक्ष घिमिरेको भनाइ छ।

बैठकमा उठेका विषयहरूको जवाफ दिँदै निर्माण व्यवसायी सुरेन्द्र पाठकले अब बर्सात रोकिएकोले धमाधम काम हुने बताउनुभयो। यस अघि निरन्तरको बर्सातको कारण लगातार काम गर्न नसकेको जानकारी गराउँदै आगामी चैत मसान्तभित्रमा सात किलोमिटर कालोपत्रे र अन्य क्षेत्रमा स्ट्रक्चरको काम सम्पन्न गर्ने योजना रहेको उहाँले बताउनुभयो। कोरोना कालमा सम्झौता भई काम सुरु भएको आयोजनालाई एक वर्ष म्याद थपिने भएकोले उक्त थपिएको मितिभित्र सम्पूर्ण कार्यहरू सम्पन्न गर्ने निर्माण व्यवसायी पाठकले प्रतिबद्धता व्यक्त गर्नुभयो। 

पाठकले गरेको प्रतिबद्धताको आधारमा काम भए नभएको सरोकारवालाहरूले अनुगमन गर्ने बैठकले निर्णय गरेको छ। जिल्ला समन्वय समितिको संयोजकत्वमा सबै राजनीतिक दलका प्रतिनिधि, उत्तर–दक्षिण सडक आयोजनाको कार्यालय, सञ्चारकर्मीलगायतका सरोकारवालाहरूले निरन्तर अनुगमन गर्ने बैठकले निर्णय गरेको हो। निर्माण व्यवसायी पाठकले प्रतिबद्धता जनाएअनुसारको काम आगामी चैत मसान्तभित्र नभए ठेक्का रद्ध गरी कारबाहीको प्रक्रिया अघि बढाउने समेत बैठकले निर्णय गरेको छ।

शर्मा शिवशक्ति जेभीले २०८० पुस १७ गते सम्पन्न गर्ने गरी २०७८ असार १७ गते उत्तर दक्षिण कोसी सडक आयोजनाको कार्यालय सङ्खुवासभासँग सम्झौता गरेको थियो। ३९ किलोमिटर सडकको कालोपत्रे गर्नका लागि ४८ प्रतिशत कम रकममा शर्मा शिवशक्ति जेभीले ठेक्का पाएको थियो। दुई अर्ब ६० करोड रकम विनियोजन भएकोमा शर्मा शिवशक्तिले एक अर्ब २७ करोडमा ठेक्का पाएको हो।