• १३ साउन २०८१, आइतबार

काठमाडौंका सडकको दुरवस्था (फोटो फिचर)

blog

तस्बिर : न्यूज एजेन्सी नेपालको सहयोगमा

काठमाडौं, असोज ८ गते । काठमाडौं, देशकै सङ्घीय राजधानी हो । राजधानी भएपछि विकासका संरचनाहरू कस्तो हुनुपर्छ ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरू बस्ने ठाउँ, देशभरका सहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोबास गर्ने ठाउँ पनि हो काठमाडौं ।


स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरूको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ । चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस् । तर विडम्बना देशको राजधानी र प्रमुख सहरका सडकहरूको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय छ । कतै खाल्डाखुल्डी त कतै हिलाम्मे र धुलाम्मे बाटो । चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा पुनर्निर्माणको काम समेत सरकारी निकायहरूले गर्न सकेका छैनन् ।

जमानामा बनेका सडकहरूमा बिच्क्याइएको कालोपत्रे उकेर गइसक्यो, बाटोमा खाल्डाखुल्डी, धुलो, हिलो र ढलका पाइप बिछ्याउन महिनौँ दिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ । भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस पुगेको सहजै देख्न सकिन्छ ।


सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरू विकासको कुरामा सवाल जवाफमा नै सीमित छन् । चुनावका बेला बाध्यताले गरिएको कालोपत्रे र सडक निर्माण केही महिना बित्तिकै भत्किएर पुनः उस्तै हुन्छ । दीर्घकालीन रूपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महसुस गर्न प्रतिनिधिहरूले सकिरहेका छैनन् ।


राजनीतिक दलका प्रतिनिधित्व र सरकारले सडक विकासलाई व्यवस्थित गर्न नजान्दा र नसक्दा वा प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकहरूले दुःख भोगिरहेका छन् । कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ, कतै टायर, ढुङ्गा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्, त कतै ट्राफिक पुलिसका होर्डिङ बोर्डहरू छरपस्ट देख्न सकिन्छ । कथामा हामीले बोलिरहनु भन्दा पनि फोटोले नै काठमाडौं उपत्यकाका सडकको वास्तविक अवस्थालाई छर्लङ्ग बोल्छ ।