• ७ चैत २०८२, शनिबार

चार आयोजनाको लागत १९ करोड ४७ लाख

पाँचथरमा दुई आयोजना उद्घाटन र दुई शिलान्यास

blog

फाल्गुनन्द गाउँपालिका केन्द्र घुर्विसे पञ्चमीमा निर्मित कर्भडहलको उद्घाटन समारोहमा उपस्थित एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोलगायत ।

राधा लुइटेल 

फिदिम, असोज ७ गते । एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवो (मौसम)ले गृह जिल्ला पाँचथरमा दुई आयोजनाको उद्घाटन र दुई आयोजनाको शिलान्यास गर्नुभएको छ।  स्थानीय तहमा निर्माण सम्पन्न भएका दुई योजनाको उद्घाटन र निर्माण हुन लागेका दुई आयोजनाको शिलान्यास गर्नुभएको हो।

एक नम्बर प्रदेश सरकारको लगानी रहेका यी योजनाको कुल लागत १९ करोड ४६ लाख ९० हजार रुपियाँ छ। मन्त्री आङवोले बिहीबार र शुक्रबार गरेर यी आयोजनाको उद्घाटन र शिलान्यास गर्नुभएको हो। 

घुर्विसे पञ्चमीमा १ करोड ३४ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको  सुविधा सम्पन्न कभर्ड हल र ८९ लाख रुपियाँको लागतमा पञ्चमीकै जनकल्याण माविमा निर्माण भएको दुई तले भवनको उद्घाटन गर्नुभएको हो। उद्घाटन गरिएका दुवै योजना एक नम्बर प्रदेश सरकारको लगानीमा निर्माण भएका हुन्।  

यसैगरी शिलान्यास गरिएका योजनामा फिदिम ५ मा अवस्थित नेपालका १६ औँ विभूति फाल्गुननन्द लिङदेनको तपोभुमी लब्रेकुटीमा निर्माण हुन लागेको पर्यटकीय भवन र फिदिम वडा नम्बर ६ को प्रशासकीय भवन छन्।

तिनीहरू मध्ये लब्रेकुटीमा निर्माण हुने पर्यटकीय भवनको लागत १८ करोड र फिदिम ६ को प्रशासकीय भवनको लागत ४० लाख रुपियाँ रहेको छ।

लब्रेकुटीमा निर्माण हुन लागेको पर्यटकीय भवनको शिलान्यास गर्दै मन्त्री आङवोले नेपालका १६ औँ विभूतिसमेत रहनुभएका महागुरु फाल्गुननन्दको तपोभूमीलाई विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा अगाडि बढाउन प्रदेश सरकारले गुरु योजना निर्माण गरेको बताउनुभयो।

‘‘यस स्थानलाई किराँत अध्ययन केन्द्रका रूपमा विकास गर्न आवश्यक ठानेर गुरु योजना तयार गरिएको हो, एक अर्ब रुपैंया बराबरका थप संरचना निर्माण गरेर प्रचार प्रसार गर्नसके त्यो सम्भव छ’’, मन्त्री आङवोले भन्नुभयो।

कार्यक्रममा फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र जिल्ला समन्वय समिति पाँचथरका उपसभापति यामकुमार आङवोले मन्तव्य राख्नुभएको थियो।