• ८ मंसिर २०८१, शनिबार

पाकिस्तानमा बाढी पहिरोका कारण थप २० को मृत्यु

blog

फाइल तस्बिर

इस्लामावाद, असोज ७ गते । पाकिस्तानमा बाढी पहिरोका कारण थप २० जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा प्राप्त विवरणअनुसार मृत्यु भएका मध्ये १५ जना बालबालिका रहेका छन् भने दुई जना महिला रहेका छन् ।

पाकिस्तान प्रकोप व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा मृत्यु भएका मध्ये १७ जना सिन्ध प्रान्तका मात्रै रहेको जनाएको छ । पाकिस्तानमा आएको बाढी पहिरोबाट सबैभन्दा धेरै सिन्ध प्रान्त प्रभावित भएको छ भने अन्य प्रान्तमा पनि असर परेको छ ।

बढीपछिका घटनामा परी पाकिस्तानमा अरू कैयौँ घाइते भएका छन् भने लाखौँ विस्थापित भएका छन् । पछिल्लो एक दिनमा मात्रै एक हजार सात सय ३३ घरमा क्षति पुगेको छ भने २३ हजार ३१२ जनावर मरेका छन् ।

मध्य जुन महिनादेखि सुरु भएको मनसुनसँगै आएको वर्षाका कारण भएका घटनामा परी अहिलेसम्म एक हजार ५९६ जनाको मृत्यु भएको छ । घटनामा परी अहिलेसम्म १२ हजार ८६३ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार जनदेखि अहिलेसम्म २० लाख १६ हजार आठ घर क्षतिग्रस्त भएर उपभोग गर्न नमिल्ने अवस्थामा पुगेका छन् ।  घरबार विहीन भएका उनीहरू विस्थापित भएर देशका विभिन्न ठाउँमा अस्थायी शिविरमा बसेका छन् ।

उनीहरूलाई आधारभूत सेवा सुविधाको पनि अभाव भएको भन्दै पाकिस्तान सरकारले सहयोगका लागि सबैलाई अनुरोध पनि गरेको छ । कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायहरूले पाकिस्तानलाई यसअघि नै सहयोग गरिसकेका छन् । कतिपय देश तथा निकायहरूले भने दिने चरणमा रहेको जनाएका छन् । रासस/सिन्ह्वा