काठमाडौं, असोज ३ गते । काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । महानगरपालिकाको टोलीले आज (सोमबार) हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो ।
टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ । केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो ।
उत्खननस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै काठमाडौं महानगर नगरी प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरेको बताउनुभयो ।
उहाँले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताउनुभयो । कामनपा चीनको स्टाइलमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेकाे उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘‘आदेश भएर नै हामी आएको हो । अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो । महानगर चीनको देख्नुभएको छ ? हामी चीनको महानगरको स्वटाइलले अघि बढ्न चाहन्छौँ । त्यहाँ आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ । रातारात काठमाडौं चेन्ज गर्नुपर्छ । अब सुत्ने होइन, उठ्ने बेला हो ।’’
आइतबार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो । काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो । यद्यपि, महानगरले भने टुकुचा खोला उत्खननको प्रक्रिया अघि बढाएको छ ।