• १३ साउन २०८१, आइतबार

पहिरोमा ज्यान गुमाएकाको तीन दिनपछि दाहसंस्कार

blog

दाहसंस्कारका लागि शवहरु लैजाने क्रममा । तस्बिर : शिवराज ढुंगना

शिवराज ढुंगाना 

अछाम, असोज ३ गते । पहिरोमा पुरिएर मृत्यु भएका तुर्माखाँद गाउँपालिका –५ नाडाको काँडाकोटका नौ जनाको आज सोमबार कर्णाली नदीमा परम्पराअनुसार सामूहिक दाहसंस्कार गरिने भएको छ । मृत्यु भएको स्थानबाट तीन घण्टा पैदलमा शव लिएर कर्णाली नदी छेउमा दाहसंस्कार गरिने स्थानीय नरेशकुमार शाहीले जानकारी दिनुभयो । 

दुई बुहारी, दुई नातिनी, एक छोरा पहिरोमा पुरिएर मृत्यु भएपछि रोजगारीमा भारत रहेका रिठु शाही श्रीमती र तीन छोरासहित दाहसंस्कारका लागि आएका छन् । बाटैमा रहेका कारण अन्तिम दाहसंस्कार गर्ने कर्णाली नदी छेउ कोल्लीमरा पुग्ने नरेशकुमारको भनाइ छ । रिठुका दुई बुहारी कल्पना शाही र भावना शाही, छोरा सुन्दर शाही, नातिनी करिष्मा शाही र नेलिना शाहीको पहिरोमा पुरिएर मृत्यु भएको छ । 

यस्तै, मृतक नेत्र शाहीका दुई छोरा घर बाहिर रहेकाले आएर अन्तिम दाहसंस्कारमा सहभागी भएका छन् । नेत्रसहित श्रीमती मनिषा शाही र छोरी बिमला शाहीको पहिरोमा पुरिएर शुक्रबार राति मृत्यु भएको थियो । मृतक नेत्र शाही घर सुत्न गएकी स्थानीय मिनबहादुर शाहीकी छोरी जानकी शाहीको समेत सोही पहिरोमा पुरिएर शुक्रबार मृत्यु भएको थियो । 

सुन्दर, बिमला र जानकी शाही स्थानीय कालिकेश्वरी माविमा अध्ययनरत थिए । मृतक सबैको आइतबार नै पोष्टमार्टम सकिए पनि आफन्तहरू भारत, काठमाडौं रहेकाले उनीहरू आउन ढिलो भएको र तेस्रो दिनमा दाहसंस्कार हुने भएको छ । 

घरमाथिबाट आएको पहिरोले शुक्रबार राति स्थानीय रिठु शाही र नेत्र शाहीको घर पुरिँदा नाडामा नौ जनाको ज्यान गएको थियो । सोही राति कमलबजार नगरपालिका –६ मा सात जना र वडा ८ मा पाँच जनाको ज्यान गएकाहरूको दाहसंस्कार गरिसकिएको छ । यस्तै ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा घर भत्किएर मृत्यु भएको बालकको पनि दाहसंस्कार भइसकेको छ ।