• १३ साउन २०८१, आइतबार

मिटरब्याजी रकम तिर्न नसक्दा आत्महत्या

blog

जनचेतनामूलक कार्यक्रम गरिदै । तस्बिर : शिवशंकर मिश्र

शिवशङ्कर मिश्र 

बारा, असोज २ गते । बाराको महागढीमाई नगरपालिका –४ दहियार टोलका सिभिल इन्जिनियर प्रभात जैसवाल (४०) ले मिटरब्याजको चक्रीय व्याज तिर्न नसक्दा आत्महत्या गरेको खुलेको छ । 

इन्जिनियर जैसवालले गत जेठ ९ गते आफ्नै घरमा विष सेवनगरी आत्महत्या गरेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो । मृत भेटिएका जैसवालको शवसँगै उहाँको पर्समा सुसाइट नोट भेटिएपछि सो रहस्य खुलेको प्रहरीको भनाई छ ।

मृत जैसवालका बुबा असर्फी जैसवालका अनुसार पर्साको बहुअर्वाभट्ठामा अरुणोदय डिस्टिलरी कम्पनी सञ्चालन गरेका इन्जिनियर जैसवालले मिटरब्याज बापतको रकम तिर्न नसक्दा अप्रिय बाटो रोज्नुभएको हो ।  

मृतक जैसवालले १ करोड रुपियाँ ससुरालीबाट, ४ करोड बैङ्कबाट र ६५ लाख रुपियाँ घरबाट ऋण लिएर मिटरब्याजीलाई तिर्नुभएको उहाँका बुवा जैसवालले बताउनुभयो । इन्जिनियर जैसवालको मृत्युपछि उहाँका परिवारका सदस्यहरूको बिचल्ली भएको छ । 

लामो समय बाराको मनर्वामा रहेको रियालन्स चिनी मिलमा काम गरेर छोराले पछिल्लो समय डिस्टिलरी उद्योग सुरु गरेको उहाँका बुवा जैसवालले जानकारी दिनुभयो । 

दुई महिनामा १७ आत्महत्या

बारामा चालु आर्थिक वर्ष २०७९–८० को साउन र भदौमा १७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक बोगटीले सो जानकारी दिनुभयो ।  तीन दिन अघिमात्र ९ वर्षीय बच्चाले आत्महत्या गरेको उहाँले बताउनुभयो । आत्महत्या रोक्न सरोकारवालसहितको प्रहरी कार्यालय बाराले जनचेतनामूलक प्रभातफेरिको आयोजना गरेको छ । 

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आत्महत्या विकराल बन्दै गएकाले समाधान गर्नेतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । आत्महत्याको घटना न्यूनीकरणमा सबैको सहयोग अपरिहार्य रहेको उहाँको भनाई छ ।