• १३ साउन २०८१, आइतबार

डेंगु नियन्त्रणको साप्ताहिक कार्यक्रम सुरु

blog

मुरारी अधिकारी

धादिङ, असोज २ गते । डेंगु रोकथाम तथा नियन्त्रणका लागि धादिङमा हरेक शनिवार १० बजे १० मिनेट कार्यक्रम सुरुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय धादिङको अगुवाइमा शनिबारबाट सुरु भएको कार्यक्रम हरेक साताको शनिवार सोही समयमा डेंगु फैलाउने लामखुट्टेको खाजी गर्ने र नष्ट गर्ने रहेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख सागरप्रसाद घिमिरेले बताउनुभयो ।

विभिन्न सरोकारवालाको सहकार्यमा सुरु भएको यो अभियान हरेक दिन जारी रहे पनि  जनचेतना अभिवृद्धि गर्न सातारुपी साङ्केतिक कार्यक्रम सुरु गरेको पनि घिमिरेले बताउनुभयो । जिल्लाभरिका सबै स्वास्थ्य संस्था र सरोकारवाला निकायले यस कार्यलाई निरन्तरता दिने घिमिरेले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले धादिङ बेसी बजार क्षेत्रका नागरिकमा पनि डेंगु सङ्क्रमण देखिएकाले सजग रहन वडावासीसँग आग्रह गर्नुभएको छ । १० बजे १० मिनेट कार्यक्रमा सहभागी भई बजारक्षेत्रमा लामखुट्टे खोजी गर्दै अध्यक्ष श्रेष्ठले डेंगुबारे सचेत नभएकाले नै अहिले एकाएक बिरामी बढ्न थालेको बताउनुभयो ।

“मानिसले अझै पनि दिउँसो लामखुट्टेले टोक्छ भन्ने विश्वास गरेका छैनन् । राति सुत्दा झुलदेखि सबै सुरक्षाका मापदण्ड अपनाउँछन्, तर दिउँसो यसलाई बेवास्ता गरिरहेका हुन्छन्” उहाँले भन्नुभयो ।

एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु फैलन्छ । यसले दिनको समयमा मात्र टोक्छ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने भएकाले सो समयमा थप सचेत हुनुपर्ने चिकित्सकहरूको भनाई छ ।

आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्न मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने, पुरै शरीर ढाक्ने लुगा लगाउने लगायतको सचेतना अपनाउन श्रेष्ठले आग्रह गर्नुभयो । 

त्यस्तै, पानी राख्ने भाँडाहरूजस्तै ट्याङ्की, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्ने, काम नलाग्ने र पानी भरिन सक्ने सामानहरूजस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने गरेमा डेंगुबाट बच्न सकिने स्वास्थ्यकर्मी विष्णु रिजालको भनाई छ ।