• १३ साउन २०८१, आइतबार

कैलालीमा बाढी अपडेट

करिब छ हजार परिवार विस्थापित, भजनी पीडितको अझै उद्धार हुन सकेन

blog

विस्थापित भएर हुलाकी राजमार्गमा आएका भजनीका प्रभावित । तस्बिर सौजन्य : जयप्रसाद ढुङ्गाना

धनगढी, असोज २ गते । कैलालीमा शनिबार आएको बाढीका कारण करिब छ हजार परिवार विस्थापित भएका छन् । 

विस्थापित व्यक्तिहरू हुलाकी राजमार्ग, सडक, विद्यालय भवन, सुरक्षित भवन र पक्की घर भएका आफन्तहरूको छतमा बसिरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । घरबाट पानी ननिस्किएकाले विस्थापितहरू सहज रूपमा घरमा फर्कन सक्ने वातावरण अझै नरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 

उहाँले मोटामोटी रूपमा आएको तथ्याङ्क अनुसार भजनी नगरपालिकाका करिब पाँच/छ हजार, टीकापुर नगरपालिकाका ८०/९० परिवार, जानकी गाउँपालिकाका ७०/८० परिवार विस्थापित भएको खबर आएको उल्लेख गर्नुभयो । यसै गरी, चार सय परिवार डुबानमा परेको जोशीपुर गाउँपालिका र झन्डै दुई सय घर डुबेको कैलाली गाउँपालिकाको विस्थापितको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयसम्म आइपुगेको छैन । 


विस्थापितहरूको यकिन तथ्याङ्क नभएका कारणले एक द्वार प्रणालीबाट राहत वितरण गर्न पनि समस्या भइरहेको जोशीको भनाइ छ । ‘तथ्याङ्क यकिन नभएका कारणले राहत वितरण गर्न सकिएको छैन’, उहाँले भन्नुभयो । 

भजनीका प्रभावित अझै उद्धारकै पर्खाइमा

जम्मा ५८ हजार जनसङ्ख्या रहेको भजनी नगरपालिकामा ३५/४० हजार घरपरिवार प्रभावित भएका छन् । पाँच हजारभन्दा बढी परिवार विस्थापित भएर सडकमा आइसकेको र धेरैको अझै उद्धार नै हुन नसकेको भजनी नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ३ का वडा अध्यक्ष विक्रम चौधरीले जानकारी दिनुभयो । 

‘अझै पनि धेरै मान्छे घरको छाप्रोमा बसेका छन् । डुङ्गा बिना उनीहरूको घरसम्म पुग्न सक्ने स्थिति छैन । उनीहरूको उद्धारै भएको छैन’, उहाँले भन्नुभयो,‘प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयलाई हामीले हेलिकोप्टरमार्फत उद्धारका लागि गुहार्यौं । तर, सुनुवाइ भएन ।’ 

उद्धारको पर्खाइमा रहेकाहरू हिजोदेखि घरको छाप्रोमा बसिरहेको चौधरीले जानकारी दिनुभयो । उहाँले सबै उद्धार कार्यकै लागि खटिरहेकाले अहिलेसम्म कसैलाई राहत पनि वितरण नगरिएको उल्लेख गर्नुभयो । ‘मान्छेको उद्धारै भएको छैन’, उहाँले भन्नुभयो,‘हामी उद्धारलाई प्राथमिकता दिएका छौँ । राहत पछिको कुरा हो ।’ 

तर, जिल्ला प्रशासन कार्यालयले भने बाढीमा फँसेका लगभग सबैको उद्धार भइसकेको जनाएको छ । ‘सम्पर्क हुन नसकेका वा सम्पर्कमा आउन नसकेकाहरुको उद्धार हुन छुटेको होला’, जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जोशीले भन्नुभयो,‘तर, सम्पर्कमा आएका लगभग सबैको उद्धार भइसकेको छ ।’ 

रहेन ठेङ्गरपुर गाउँ

भजनी नगरपालिका–१ मा रहेको ठेङ्गरपुर गाउँ भग्नावशेषमा परिणत भएको छ । सय घरधुरी रहेको सो गाउँलाई कान्द्रा नदीको बाढीले भग्नावशेषमा परिणत गरेको नगरपालिकाका प्रवक्ता चौधरीले बताउनुभयो । ‘४०/४५ घरको त केही पनि बाँकी रहेन’, उहाँले भन्नुभयो,‘सबै बाढीले लग्यो ।’ 

यसैबिच, सबैभन्दा बढी प्रभावित भजनी नगरपालिकामा बाढी पीडितको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारीसहितको टोली त्यसतर्फ जाने जनाइएको छ । साथै, आजै नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर प्रभावितहरूलाई न्यायोचित राहत र पुनर्लाभका कार्यक्रम एक द्वार प्रणालीमार्फत अगाडि बढाइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय तह, प्रदेश सरकार र जिल्ला विपद् व्यवस्थापन समिति सबै समन्वय गरेर एकद्वार प्रणालीमार्फत प्रभावितहरूलाई राहत दिइने सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । 

शनिवार मोहना, कान्द्रा, कर्णाली, पथरैया, कटैनी लगायत नदीनालामा आएको बाढीले कैलालीमा वितण्डा मच्चाएको हो । बाढीका कारण धनगढी उपमहानगरपालिका–१३ की २० वर्षीया नवीना चौधरीको ज्यान गएको छ । भने, भजनी नगरपालिका–८ गोरचौराका ५५ वर्षीय कालुराम चौधरी बेपत्ता हुनुभएको छ । 

Author

अविनाश चौधरी