• १३ साउन २०८१, आइतबार

शैक्षिक सुधार कार्यक्रम

पहुँचका आधारमा छनोट गरिएको गुनासो

blog

सुदूरपश्चिम प्रदेश ब्युरो

कैलाली, असोज २ गते । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा विद्यालय सुधार तथा कम्प्युटर ल्याब स्थापनाका लागि विद्यालय छनोट गरिएको छ।

बैतडी समाचारदाता अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा बैतडीका ५८ वटा विद्यालय छनोट भएका छन्। स्थानीय तहको सिफारिसमा छनोट भएका कतिपय विद्यालयले यसअघि प्रदेश सरकार र स्थानीय तहबाट समेत योजना पाएका विद्यालयले पनि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम प्राप्त गरेका छन्। 

२०३४ सालदेखि हालसम्म कतैबाट पनि भवन निर्माणको योजना नपाएको पञ्चेश्वर गाउँपालिका–१, स्थित चतुर्वाहु आधारभूत विद्यालयले जनाएको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि पटक–पटक माग गर्दा पनि भवन निर्माणका लागि योजना नआएको चतुर्वाहु आधारभूत विद्यालयका प्रधानाध्यापक जितसिंह घटालले बताउनुभयो। 

उहाँले भन्नुभयो, “स्थानीय तहले पहुँचका आधारमा सिफारिस गर्ने गरेको छ। हाम्रो विद्यालयले अहिलेसम्म प्रदेश, स्थानीय सरकार र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवनको योजना पाउन सकेको छैनौँ। जीर्ण भवनमा तीन सय विद्यार्थीलाई राखेर पढाइरहेका छौँ। कक्षाकोठा नहुँदा एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गरिरहेका छौँ।”

पञ्चेश्वरको जस्तै पीडा मेलौली नगरपाकिला–६, हतरङ्गास्थित जगदम्बा माविको पनि छ। हालसम्म कतैबाट पनि भवनको योजना नपाउँदा लगातार तीन वर्षदेखि राष्ट्रपति सुधार कार्यक्रमको माग गरे पनि छनोटमा नपरेको स्थानीय इश्वरी भट्टले बताउनुभयो। 

उहाँले भन्नुभयो, “हालका नगरप्रमुख र पूर्वनगरप्रमुखको वडाका विद्यालयले दोहोरो तेहोरो सुविधाका भवन पाए पनि स्थानीय तहदेखि प्रदेश र सङ्घबाट पनि पहुँच भएकाले नै भवन र आईसीटीको योजना पाइरहेका छन्। जगदम्बा माविले कतैबाट पनि भवनको योजना पाएन।”

स्थानीय तहको सरकारसँग विद्यालय छनोटको कुनै मापदण्ड नहुँदा नेताको पहुँच र तजबिजका आधारमा योजना छनोट गर्दा सेवा सुविधाबाट वञ्चित दुर्गम गाउँका विद्यालयले परिवर्तनको अनुभूति गर्न नपाएको उहाँले बताउनुभयो। 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यो वर्ष आवेदन दिएका बैतडीका २२१ विद्यालयमध्ये स्थानीय तहको सिफारिसअनुसार ५८ वटा विद्यालय छनोट भएर आएको  शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले बताउनुभयो। 

अमरगढी समाचारदाताका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि डडेल्धुराका ५४ छनोटमा परेका छन्। बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको थियो।

छनोटमा परेका विद्यालयमा भवन र कम्प्युटर ल्याब स्थापना गरिनेछ। ५४ वटा विद्यालयमध्ये २० वटा विद्यालयमा कम्प्युटर ल्याब र अरू विद्यालयमा भवन निर्माण गरिने मन्त्रालयको वेबसाइटमा छ भने १३ वटा विद्यालयमा चारकोठे भवन रहेका छन्। 

कम्प्युटर ल्याबका लागि एउटा विद्यालयलाई छ लाख ५० हजार, चारकोठे भवनका लागि ५० लाख र दुईकोठे भवन निर्माणका लागि २५ लाख रुपियाँ रकम छुट्याइएको छ। छनोट हुने विद्यालयमा सबैभन्दा बढी भित्री मधेश क्षेत्र परशुराम नगरपालिकाका १२ वटा विद्यालय छनोटमा परेका छन्। 

दार्चुला समाचारदाताका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दार्चुलाका ३९ विद्यालय छनोटमा परेका छन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयमा भवन र कम्प्युटर ल्याब स्थापना गरिने छन्। 

दार्चुलाका ३९ विद्यालयमध्ये १८ वटा विद्यालयमा कम्प्युटर ल्याब र बाँकी २१ विद्यालयमा भवन निर्माण गरिने छन्। १२ विद्यालयमा चारकोठे भवन र नौ विद्यालयमा दुईकोठे भवन परेका छन्।