• १६ भदौ २०८१, आइतबार

कलाकारको दशैँ योजना

blog

काठमाडौँ, असोज २ गते । नेपालीको महान् चाड दशैँको चहलपहल सुरु भइसकेको छ। दशैँमा किनमेल गर्नेदेखि घर जानेहरूसम्मको तयारी बढ्दो छ। कोही नयाँ नोट साट्ने हतारोमा देखिन्छन् भने कोही घर जानका लागि टिकटको व्यवस्था मिलाउन लागिपरेका छन्। रङ्गमञ्चका कलाकारहरूको पनि कोही दशैँमा घर जाने योजनामा हुनुहुन्छ त कोही दशैँ यहीँ मनाउने सोचमा।  

रङ्गकर्मी रवीन्द्र झा  यस पटकको दशैँ जनकपुरमा मनाउने सुरसारमा हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, “बच्चा बेलामा योजना बनाएर दशैँ मनाउने गरिन्थ्यो तर अहिले त्यस्तो खासै योजना बनाइँदैन।” हामी जति–जति ठूलो हुँदै जान्छौँ हाम्रो चाह पनि हराउँदै जाने रहेछ। अहिले दशैँ भनेको विशेषगरी हाम्रा बालबालिका लागि हो। 

दशैँ साथीभाइ, घरपरिवार र आफन्तहरूबीच भेटघाट र खानपानको एउटा सुनौलो अवसर पनि हो। कतिपयले यसलाई सम्बन्ध नवीकरण गर्ने समयका रूपमा लिन्छन् भने धेरैजसोले घर फर्कने मौसमका रूपमा लिन्छन्। 

रङ्गकर्मी विजय बराल यस पटकको दशैँ गत वर्षभन्दा रमाइलो गर्ने सोचमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घर जानु एक÷दुई दिन अगाडि बुवालाई ठूलो खसी किनेर राख्नू भन्ने सोच बनाएको छु।” आफूलाई मासु धेरै मनपर्ने हुनाले यस पटक धित मर्ने गरी मासु खाने सोच रहेको उहाँले बताउनुभयो। 

ठाउँ, परिवेश र पारिवारिक पृष्ठभूमिअनुसार दशैँ मनाउने चलन फरक छ तर परम्परागत तवरबाटै आफन्तजनसँग भेटघाट तथा टीकाटालो गरेर दशैँ मनाउनुपर्छ भन्ने सोच राख्नेहरूको पनि यहाँ कमी छैन। दशैँ नेपालीको एक मात्र त्यस्तो ठूलो पर्व हो, जसलाई हरेक वर्ग, जात–जाति तथा भूगोलमा मनाइन्छ।  

रङ्गकर्मी लक्ष्मी बर्देवा भन्नुहुन्छ, “दशैँमा हामी यही गर्छौं भनेर खासै योजना बनाउँदैनौँ। हामीमाझ जे आउँछ त्यही गर्ने हो।” हाम्रो सुटिङ पनि पर्न सक्छ र हामी बाहिर घुम्न पनि जान सक्छौँ। घरको किचन सजाउने कुरामा आफूलाई धेरै रुचि भएकाले दशैँको छेको पारेर किचनमा राख्ने सामान नयाँ किनेको उहाँले बताउनुभयो।  

यस पटक पनि चाडपर्वको आगमनसँगै स्टेजमा व्यस्त हुने कलाकारको गतविधि खासै नदेखिने भएको छ। कलाकारका लागि मुरी उब्जाउने सिजनका रूपमा रहेको यो चाड यस पटक पनि घरपरिवारमा नै सीमित हुने भएको छ।  विभिन्न कार्यक्रम तथा महोत्सवहरूमा दर्शकका बीच रहने कलाकार यसपालि पनि गएको वर्षजस्तै परिवार तथा साथीभाइमै सीमित हुने देखिन्छ।