• १६ भदौ २०८१, आइतबार

पल शाह मुद्दाको सुनुवाइ आज

blog

तनहुँ, असोज २ गते । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालतमा आज सुनुवाइ हुने भएको छ । भदौ १५ सुनुवाइ हुने भनिए पनि असोज २ गतेको लागि पेशी सरेकोले आज सुनुवाइ हुने भएको हो । 

आज सुनुवाइको मिति तोकिएको अभिनेता शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमला मोहन वाग्लेले जानकारी दिनुभयो । अदालतबाट अभिनेता शाहलाई विना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्ने वाग्लेले बताउनुभयो । नवलपुर जिल्ला अदालतले भदौ २१ गते  बलात्कारको मुद्दामा भने शाहलाई सफाइ दिएको थियो भने यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाएँ, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेको थियो । 

गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनुभएको थियो । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनु भएको थियो । शाहका विरुद्ध नवलपुरमा पनि जबरजस्ती करणी गरेको भनी  अर्को जाहेरी परेको थियो । उक्त अभियोगमा तनहुँ जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसुरदार होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । 

अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गराएपछि शाहको निवेदन अदालतले अस्वीकृत गरेको थियो । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलात्कार हैन भनी बयान फेरेकाले यो मुद्दालाई चासोका साथ हेरिएको छ । शाहलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने आज फैसला आउन सक्ने बताइएको छ ।  

Author

अमरराज नहर्की