• १३ साउन २०८१, आइतबार

महिलाद्वारा जितवाहनको पूजा र कथा श्रवण

blog

जतिया व्रतको कथा सुन्दै वतालु महिला । तस्विर : माला कर्ण

माला कर्ण

कल्याणपुर, असोज १ गते । तराई मदेसका महिलाले मनाउने पर्व जितिया पर्वको दोस्रो दिन शनिबार व्रतालुहरूले उपवास बसी जितवाहनको पूजा गरी कथा श्रवण गरेका छन् । शुक्रबारदेखि नहाय खायबाट सुरु भएको जितिया पर्वको दोस्रो दिन जितिया व्रतको कथा सुनेर जितिया मनाएका हुन् । जितियाको तेस्रो दिन आइतबार साँझ ५ बजेतिर सम्पन्न हुनेछ । 

आश्विन कृष्णपक्ष अष्टमीको तिथिमा उपवास बस्ने र तिथि परिवर्तन भएपछि ‘पारणका’ अर्थात् व्रतलाई विधिवत् समापन गरिन्छ । यस वर्ष तिथि घटबढका कारणले शनिबार दिउँसो २ बजेपछि अष्टमी तिथि सुरु भएको आइतबार ५ बजेपछि अष्टमी तिथि समाप्त हुने भएकाले अधिकांश मैथिली समुदायका महिलाले शनिबारदेखि नै व्रत बसेका छन् । थारु समुदाय र केही अन्य समुदायले आइतबार व्रत बसी सोमबार पारण गर्ने गर्छन् ।  

व्रत अवधिमा व्रतालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उहाँजस्तै परोपकारी र साहसी होउन् भन्ने कामना गर्छन् । द्वापरयुगमा एक विधवा ब्रह्माकीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरुप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक कथाको आधारमा यो कठोर व्रत बस्ने परम्परा बसेको किंवदन्ती छ । 

मिथिलाञ्चलमा यो व्रत गर्नेहरू एक दिन अघिदेखि ‘सधवा’ अर्थात् (श्रीमान् जीवितै रहेको महिला) ले ‘माछ–मडुवा’ (माछा र कोदो) खाने चलन छ भने एकल महिला (विधवा) ले ‘अर्बा–अर्वाइन’ खाने चलन छ ।

पानीसम्म नखाई निराहार व्रत बस्नुपर्ने भएकाले जितिया पर्व गर्न गा¥हो हुन्छ । दुई दिनसम्म उपवास बस्नु पर्ने भएकाले अष्टमी तिथिको सुरुवात हुनुअघि दही च्यूरा खानुलाई मैथिली कथन ‘जितिया पावन बड भारी घियापुताके ठोक सुतावि अपना खाय भेर थारी’ ले जोडेको छ । प्रायः अष्टमी तिथिको सुरुवात बिहान ३–४ बजेपछि हुने गर्छ ।  

पहिलो पटक व्रतको सुरुवात गर्ने महिलाले गाईको गोवरले आँगन लिपेर पवित्र पारी शालिवाहन राजाकापुत्र जितवाहन कुशको प्रतिमा बनाएर कलशको जलमा स्थापना गरी कलशको चारैतिर सुसज्जित पारेर पोखरीको निर्माण गर्ने चलन छ ।

व्रत बसेका महिला एक स्थानमा जम्मा भई भगवान् जितवाहनको कथा सुन्ने परम्परा रहेको छ । जितिया व्रत बसेका महिलाले थुक समेत निल्न नहुने मान्यता रहेको छ । व्रतालु महिलाले थुक निले व्रत नै टुङ्गिने बताउनुहुन्छ साधना कर्ण । शनिबार बिहान ५ बजे अगाडि अंगुठन खाइसकेपछि व्रतालु महिलाले शनिबारका दिन र रातभर र आइतबार दिनभर पानीसमेत नखाएर निराहार बस्नुपर्ने उहाँको भनाई छ । 

पर्वको अन्तिम दिन आइतबार व्रतालु महिलाहरू पुनः नदी, पोखरी र जलाशयमा स्नान गरेर चिउरा, दही तथा सखरको प्रसाद बनाएर अर्घ दिइसकेपछि जितिया व्रत समाप्त हुनेछ । आइतबार अधिकांश स्थानीय सरकारले जितिया पर्वको उपलक्ष्यमा बिदा दिएको छ ।