• १३ साउन २०८१, आइतबार

परिवर्तनको संवाहक जितिया पर्व

blog

गौशालाको मडाहा खोलामा स्नान तथा पूजा गर्दै ब्रतालु महिला । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, असोज १ गते । सन्तति स्नेह एवम् उत्सर्गको पवित्र पर्व जितिया सुरु भएको छ । मधेस तराईका आमाहरूले आफ्ना सन्तानको सुरक्षा, दीर्घायु र प्रगतिका लागि २४ घण्टाभन्दा बढी समय निराहार व्रत बसेर यो पर्व मनाउने परम्परा छ । 

व्रतालु आमाले शनिवार सूर्योदयपूर्वक दिवङ्गत पितृको स्मरण एवम् आराधना गरी घिरौँलाको पातमा चढाएको दहीच्युरा, फलफूल लगायतका प्रसाद सपरिवार ग्रहण गरेपछि जितिया सुरु भएको धार्मिक मान्यता छ । 

जितिया पर्व मनाउन निराहार बसेका आमाहरूले दुई दिनसम्म पानी समेत खान नपाइने हुँदा यो कठिन पर्वलाई ‘खर जितिया’ पनि भनिन्छ । ‘खर’ अर्थात् मुखमा सिन्को पनि प¥यो भने व्रत भङ्ग हुने कडा अनुशासन बहन गरेको पर्व हो । 

पहिले छोरा हुने आमाले मात्र यो पर्व माने चलन थियो । यही कारण लैङ्गिक समानताका हिमायतीले यसलाई ‘विभेदकारी’ रहेको आलोचनासमेत गरेको पाइएको छ । तर समयक्रमसँगै जितिया पर्वको परम्परागत मान्यतामा परिवर्तनका आभास पाइन थालिएको छ । व्रतालु आमाहरू अब केवल ‘छोरा’ का लागि मात्र नभई आफ्ना सन्तति अर्थात् छोराछोरी दुवैकालागि जितिया मनाउने गरेको व्रतालुहरूको भनाई छ ।  

बर्दिबास ३ गौरीडाँडाकी बविता सिंहले जितिया पर्व मनाउन थालेको ९ वर्ष भयो । जितिया सुरु गर्दा उहाँको छोरो थिएन । पहिले जुम्ल्याहा छोरी भएदेखि नै आफूले जितियाको व्रत लिन सुरु गरेको उहाँले बताउनुभयो । अहिले आफूसँग एउटा छोरो पनि रहेको उहाँले बताउनुभयो । 

गौशाला ९ भरतपुरकी मिथिलेशदेवीका पनि एक छोरीसहित चार सन्तान छन् । जितिया गर्न थालेको लामो समय भयो । उहाँ पनि सबै छोराछोरीको दीर्घायु र समृद्धिका लागि व्रत बस्नेगरेको बताउनुभयो । ‘एउटी आमाले छोरीलाई अलग्याएर छोराको मात्र भलाइका लागि कसरी धर्मकर्म गर्नसक्छ ?’ उहाँको प्रश्न थियो ‘यो पर्व मेरा सबै सन्तानको भलो होस् भनेर जितिया गर्दैआएकी छु ।’

औरही नपा १ की ६५ बर्सिया कुसुम देवीले जितिया पर्व मनाउन लागेको करिब ४० वर्ष भयो । उहाँका २ छोरा र १ छोरी छन् । उमेर ढल्दै गएपछि पर्वको भावना र कामना पनि फराकिलो हुँदै गएको उहाँको अनुभव छ । 

‘पहिले छोराछारीको सुखको लागि जितिया गर्थेँ’ उहाँले भन्नुभयो ‘अब नाति नातिनी पनि थपिए उनीहरूको सुख शान्तिका लागि यो व्रत गर्दछु ।’ महोत्तरी ४ रतवाराकी कलसियादेवी भने यसअघि आफ्ना ३ छोराको भलाइको कामना गर्दै जितिया गर्दै आएको सुनाउनुभयो ।  

‘छोराका लागि त गर्दैआएकी थिएँ, यसपालि छोरीको लागि पनि जितियामा व्रत बसेकी हुँ’ उहाँले भन्नुभयो, ‘भगवानले मेरो छोरीको दुख पनि सुनिदिनु हुनेछ विश्वासमा छु ।’

सामाजिक अभियन्ता वैधनाथ चौधरीकाअनुसार धर्म संस्कृतिमा देखापरेको यो परिवर्तन सकारात्मक हो । ‘धर्मले विभेद हैन समानताको सन्देश दिएको छ’ उहाँले भन्नुभयो, ‘परम्परा र मान्यतालाई परिमार्जन गर्दै छोराछोरी सबैको सुख र समृद्धिका लागि निराहार बसेका व्रतालु महिला आमा मात्र नभएर परिवर्तनका संवाहक पनि हो ।’