• १३ साउन २०८१, आइतबार

अबका विकासे काम जेठमा सम्पन्न, असारमा थालनी

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, असोज १ गते  । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद भडेलले आर्थिक वर्षको अन्तिम महिनामा काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताउनुभएको छ । पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकको कार्यालय भवनको शुक्रबार शिलान्यास गर्दै उहाँले असार महिनामा काम गर्ने प्रचलन हटाउनुपर्ने बताउनुभयो । 

मन्त्री भडेलले चालू आर्थिक वर्षदेखि जेठ महिनाभित्र सबै विकासे कार्यालयले चालू योजना सम्पन्न गरी नयाँ थालनी गर्ने प्रयास गर्ने बताउनुभयो । “हामीमा असार महिनामा काम गर्ने प्रवृत्ति भएका कारण कति काम गुणस्तरीय नहुने भएकोले काम गर्ने ठेकेदार तथा सरकारको आलोचना हुने गरेको छ, त्यसैले आर्थिक वर्षको अन्तिममा काम गर्ने प्रचलनलाई हटाउनुपर्छ,” मन्त्री भडेलले थप्नुभयो । 

प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले कार्यालयको आवरणले नै उक्त कार्यालयबाट कस्तो सेवा हुन्छ भन्ने आमसेवाग्राहीको सोचाइ भएकाले सेवा प्रवाहमा कार्यालयको आन्तरिक पाटो पनि महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले घरेल्ु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकको नाममा रहेको जग्गा पूर्वाधार कार्यालयको भवन निर्माणका लागि दिने काममा ढिलासुस्ती भइरहेको अवस्थामा आफू मन्त्री भएर आएपछि जग्गा दिने प्रक्रियालाई टुङ्गोमा पु¥याइएको बताउनुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम र प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाले प्रदेशभित्रका कतिपय कार्यालय अहिले पनि भाडा तथा जीर्ण भवनबाट सेवा प्रवाह गरिरहेको बताउनुभयो । सहरी विकास तथा भवन कार्यालय काभ्रेका प्रमुख इन्जिनियर सन्तोष निरौलाले दुई करोड ६२ लाख ६८ हजार रुपियाँको लागतमा पूर्वाधार विकास कार्यालयको भवन निर्माण हुने भन्दै चारतले उक्त भवन आगामी २०८० साल मङ्सिर २७ गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको बताउनुभयो ।