• ७ पुस २०८१, आइतबार

प्रधानमन्त्री देउवाद्वारा नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने उद्घोष

blog

बालुवाटारमा ९औँ राष्ट्रिय खेलकूद रनिङ ट्रफि सार्वजनिक कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : रोशन सापकोटा/रासस

काठमाडौं, भदौ ३१ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो धारणा व्यक्त गर्नुभएको हो ।


प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्नुहुँदै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना बनाएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘नेपाल खेलकुदप्रति धेरै नै अगाडि छ । हामीले अझै ख्याति कमाउन बाँकी नै छ तर पनि ओलम्पिकलगायत धेरै विधामा हाम्रा साथीहरुले भाग लिनुभएको छ । हाम्रा धेरै युवा पनि खेलकुदमा रमाउँछन् । हाम्रा मन्त्रीज्यूले मलाई खेलकुद विश्वविद्यालय खोल्नुपर्छ भन्नुभएको छ । हामी छिटै नै खेलकुद विश्वविद्यालय खोल्ने तयारीमा लाग्नेछौँ ।’’


कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री देउवाले खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाहरुको खेलप्रति आकर्षण बढ्ने विश्वास लिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले कोभिडलगायतका धेरै कारणले गर्दा देशको आर्थिक अवस्था राम्रो छैन । तर पनि सुरुवात गर्ने हाम्रो सोचाइ छ । सुरुवात गर्नेछाैं । त्यसले पनि भोलि हाम्रो देशमा युवाहरुको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु ।’’


सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपियाँ राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेताले ट्रफी आफूसँग राख्न पाउनेछ । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पुर्‍याइनेछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवम् दक्षिण एसियाली खेलकुदका कीर्तिमानधारी दीपक विष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टुर कार्यदल गठन गरेको छ । कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष एवम् साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई सदस्य हुनुहुन्छ ।


ट्रफी आज शुक्रबार सुदूरपश्चिम पठाइने र शनिबार बिहान ८ बजे धनगढी रङ्गशालामा सार्वजनिक गर्ने कार्यक्रम  छ । त्यस्तै, असोज २ गते लुम्बिनी प्रदेशको एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजे, असोज ३ गते वागमती प्रदेश हेटौंडास्थित मानसचोकमा बिहानको ८ बजे, नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा असोज ७ गते बिहान १० बजे, प्रदेश १ को विराटनगर रङ्गशालामा असोज ८ गते सार्वजनिक गरिनेछ ।

यसैगरी, ट्रफी नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्सालमा असोज ९ गते, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा असोज ९ गते, कर्णाली प्रदेशको सुर्खेत रङ्गशालास्थित सेमी कभर्डहलमा असोज ११ गते, मधेश प्रदेशको रामजानकी मन्दिरको परिसरमा असोज १३ गते र गण्डकी प्रदेशमा असोज २३ गते सार्वजनिक गर्ने कार्यक्रम छ । गण्डकी प्रदेशमा भने पोखरा विमानस्थलबाट बाजागाजा र झाँकीसहित ट्रफी पोखरा पुर्‍याइनेछ ।