हरेक व्यक्तिको आ–आफ्नो चालचलन, बानीबेहोरा र व्यवहार हुन्छ। यसलाई हामी चरित्र भन्छौँ। चरित्र असल पनि हुन्छ र खराब पनि हुन्छ। व्यक्तिले जस्तो संस्कार पायो, जस्तो वातावरणमा उसले घुलमिल हुन पायो, उसको चरित्र त्यस्तै हुन्छ र यसमा थप उसको वंशाणुगत गुण पनि मिसिन्छ। वंशाणुगत गुण चरित्र निर्माणमा थोरै अंशको मात्र हुने भएकाले व्यक्तिको असल चरित्र निर्माणमा बालककालदेखि नै उचित व्यवहार हुनुपर्छ। असल चरित्र निर्माणमा बाबुआमाको नै महìवपूर्ण हात हुने भएकाले आजका बालबालिकालाई असल हुनैपर्ने जिम्मेवारी बोध गराउँदै सोहीअनुसारको व्यवहार गर्नु आवश्यक हुन्छ।
कोही पनि चाहँदैन कि आफ्ना सन्तान खराब चरित्रका होऊन्। हरेक आमाबाबु आफ्ना सन्तान गुणवान्, नैतिकवान्, चरित्रवान् र सफल होस् भन्ने नै चाहन्छन् र उनीहरूले छोराछोरीलाई यसैका लागि निकै ठूलो दबाब पनि दिइरहेका हुन्छन्। यो नै उनीहरूको चरित्र निर्माण र सुरक्षित भविष्यको अवरोध हो। हामीले बुझ्नुपर्ने के हुन्छ भने हरेक बालबालिका आआफ्नै क्षमता बोकेर जन्मिएका हुन्छन्। उनीहरूमा त्यस्तै प्रकारको प्रतिभा पनि हुन्छ। पाइलट बन्ने क्षमता भएकालाई डाक्टर बन्न दबाब दिँदैमा उसको चरित्र निर्माण हुँदैन। किनभने बाबुआमाले भन्दैमा वा चाहँदैमा सबै त्यस्तै बन्दैनन्। यसमा बालबालिकाको चाहना र क्षमतासँगै उपयुक्त वातावरण पनि आवश्यक पर्छ। यसका लागि चारित्रिक विकास आवश्यक छ। विद्यालयबाट लिइएको उच्च नैतिक चरित्रको प्रमाणपत्रले मात्रै बालबालिकाको चरित्र विकास हुँदैन, यसका लागि अभिभावक नै सबैभन्दा ठूलो मार्गदर्शक हुन्।
बालबालिकालाई चरित्रवान् बनाउने कसरी ? यसमा केही महत्वपूर्ण पक्ष छन्, जुन हामीले बेवास्ता गरिरहेका छौँ। बालबालिकाको असल चरित्रका लागि अभिभावक, परिवार, समाज, विद्यालय, साथीसँगी, नातागोता सबैको उत्तिकै भूमिका र प्रभाव हुन्छ। यसमा पनि परिवारको वातावरण सबभन्दा ठूलो हुन्छ। परिवारका सदस्य असल गुणवान् छन्, उनीहरू धर्मकर्ममा लाग्ने, सामाजिक कार्यमा सक्रिय हुने, अनुशासनमा बस्ने र दीनदुःखीको सेवा गर्ने चरित्र छ भने स्वाभाविक रूपमा बालबालिकामा पनि त्यसको प्रभाव पर्छ।
अर्को महìवपूर्ण पक्ष भनेको आमाबाबु र साथीको प्रभाव पनि हो। बालबालिकाका आमाबाबु र उसका साथमा रहनेहरूको चरित्र असल छ भने बालबालिकामा पनि उनीहरूको असल गुणको प्रभाव पर्छ। उनीहरूबाटै सिक्दै उच्च नैतिक गुण र चरित्रको विकास हुन्छ। बालबालिकालाई एकोहोरो दबाब दिएर मात्र हैन कि आफू पनि त्यस्तै बन्न सके मात्र त्यसको प्रत्यक्ष र छिटै प्रभाव पर्छ।
बालबालिकाका लागि चरित्र विकासको सबभन्दा महìवपूर्ण थलो विद्यालय पनि हो। विद्यालयमा नैतिक र सामाजिक पाठ पढाइन्छ। सँगसँगै यस्ता कार्यमा पनि अभ्यास गराउने काम विद्यालयले गरे भने बालबालिकामा असल चरित्र विकास हुन्छ। आजभोलि सामाजिक शिक्षा र नैतिक शिक्षा त पढाइन्छ तर यसको अभ्यास हुँदैन। पढाइ केवल परीक्षा उत्तीर्ण गर्नका लागि मात्र भइरहेको छ। यसबाट पनि बालबालिकाको चरित्र विकास सोचेजस्तो हुन सकेको छैन।
त्यस्तै सामाजिक परिवेश अर्को महत्वपूर्ण पक्ष हो। गाउँघरमा झैझगडा नहुने, मेलमिलाप, सहिष्णुता र सद्भाव प्रदर्शन भइरहेको छ भने बालबालिकामा स्वाभाविक रूपमा शान्त, सहयोगी, सहिष्णु व्यवहार प्रकट हुन्छ। बालबालिकाका लागि सही शिक्षा दिने आधारमा सामाजिक परिवेश पनि भएकाले समाजका असल मानिसको सङ्गतमा उनीहरूलाई अग्रसर तुल्याउन सके चरित्र विकासमा ठूलो टेवा पुग्नेछ।
बालबालिकाको चरित्र विकासमा केही यस्ता पक्ष पनि छन्, जुन अत्यन्त हानिकारक मानिन्छ। जस्तो कि समयभन्दा अगावै र आवश्यकताभन्दा अधिक माग पूरा गर्नु, अत्यधिक माया दर्शाउनु, उसका हरेक क्रियाकलाप र गतिविधिलाई ढाकछोप गर्ने कार्यले उनीहरूको भविष्य नै बिग्रन सक्छ । अत्यधिक मायाका कारण बालबालिकाका गल्तीको बेवास्ता गर्दा त्यही मायाले उसको भविष्य बिग्रन सक्छ। सानोमा गरिएको त्यही गल्ती र त्यही अधिक मायाकै कारण बालबालिकाले आफूलाई सुधार गर्न पाउँदैनन्, जसले गर्दा चरित्र विकासमा ठूलो अवरोध सिर्जना हुन्छ।
‘अति सर्वत्र वर्जयेत्’ भन्ने संस्कृत श्लोक हरेक आमाबाबुले ख्याल गर्नुपर्छ। यसको अर्थ कुनै पनि कुरा चाहिनेभन्दा धेरै भयो भने त्यो हानिकारक हुन्छ भन्ने हो। चिनी पनि धेरै खाए तीतो भएजस्तै हो। हरेक कुरालाई एउटा निश्चित सीमामा राखेर अघि बढाउँदा मात्र त्यसले दिने नतिजा उपलब्धिमूलक र सुखद हुन्छ।
हरेक आमाबाबुले मायाको नाममा पैसा खर्च गर्ने, माटोमा टेक्दा पनि फोहोर लाग्छ भनेर काखमै राखेर सधैँ चाटिरहनेजस्तो ‘गैँडा चटाइ’ले बालबालिकाको भविष्य मात्र अन्धकार हुँदैन कि आमाबाबुको सपना पनि तुहिन्छ। तसर्थ उनीहरूको चाहना बुझ्ने, क्षमताको पारख गर्ने र आवश्यकताअनुसार प्रशिक्षित गर्दै गल्ती ढाकछोप हैन कि त्यसको सम्भावित समस्याका बारेमा जानकारी अवगत गराएर उनीहरूलाई सुधार्दै जानुपर्छ।
माथिका सबै पक्षका अतिरिक्त बालबालिकाका चरित्र विकास वा नैतिक विकासका लागि आमाबाबुले उनीहरूले यस्तै कार्यमा अग्रसर पनि गराउनुपर्छ। जस्तो कि घरमा भीक्षा माग्न सन्न्यासी आएका छन् भने भीक्षा दिन बालबालिकालाई लगाउने, कोही गरिब, दुःखी छन् भने बालबालिकाकै हातबाट केही सहयोग दिन लगाउने, नैतिकता र चरित्र अनि असल र खराब पक्षका बारेमा विविध घटना सुनाउने र राम्रा मानिसको त्याग, सङ्घर्षका कथा सुनाएर प्रेरित गर्ने कार्य गर्नसके बालबालिकाको चरित्र विकास सहजै हुन्छ।
घरदेखि विद्यालयसम्म र विद्यालयदेखि समाज अनि नातागोतासम्मको चरित्र, बानीबेहोरा र उनीहरूले प्रदर्शन गर्ने नैतिकता नै बालबालिकाका लागि सबभन्दा ठूलो शिक्षाको विषय हो। उनीहरूलाई उमेरअनुसार गर्न सक्ने काममा सक्रिय गराउँदै समाजप्रतिको दायित्व निर्वाहमा अहिलेदेखि नै अग्रसर गराउने हो भने भोलिका कर्णाधार अवश्य पनि चरित्रवान् नै हुनेछन्।
चरित्र बल नै मानिसको सबैभन्दा ठूलो शक्ति हो भन्ने हामीले कहिल्यै बिर्सनु हुँदैन। जो मानिस चरित्रवान् छ, उसमा भौतिक धनसम्पत्ति नभए पनि ऊ समाजका लागि उदाहरणीय गनिन्छ। असल चरित्र कसैले पनि आमाको गर्भबाटै बोकेर नआउने हुँदा यसलाई हामी आफैँले बनाउने हो । बालबालिकालाई सानैदेखि त्यस्तै व्यवहारमा ढाल्दै सोहीअनुसारको प्रशिक्षणमा अभ्यस्त गराउने हो भने उनीहरू अवश्य पनि चरित्रवान् बन्नेछन् र आमाबाबुको शिर सधैँ उच्च राख्नेछन्। यसका लागि आमाबाबुले नै गम्भीर हुनुपर्छ र उनीहरूको संस्कार र व्यवहारकै हात सबैभन्दा बढी हुन्छ।
नैतिक र चारित्रिक पक्ष समाजसँग प्रत्यक्ष जोडिएको हुनाले हरेक बालबालिकाका बाबुआमा, अभिभावक, परिवारका सदस्यदेखि समाजका अग्रज वर्ग र विद्यालयको समेत समान दायित्व हुन्छ। घरमा विकास हुँदै गरेको असल चरित्रलाई समाजले अरू प्रोत्साहित गर्ने र त्यसलाई मलजल गरी राष्ट्रका लागि कर्मठ नागरिक तयार पार्ने जिम्मेवारी विद्यालयको हो। विद्यालय भनेको दोस्रो घर भएकाले आजका बालबालिकालाई भोलिका लागि आफ्नै सुखद भविष्य सम्झेर व्यवहार गर्ने हो भने मुलुकले असल, चरित्रवान् र नैतिकवान् सेवक प्राप्त गर्नेछ। यसले नै मुलुकको बृहत्तर हित हुनेछ।
कुनै पनि व्यक्ति असल छ भने उसले सिङ्गो समाजलाई असल मार्गमा डो-याउने सामथ्र्य राख्दछ। विश्वका इतिहासमा यस्ता असल पात्रहरूको अनेक कथा र विवरण बालबालिकालाई पढाइन्छ भने त्यस्तै बन्न प्रेरित पनि गर्नुपर्छ। हामीलाई धेरैभन्दा धेरै नैतिकवान्, चरित्रवान् र क्षमतावान् जनशक्तिको आवश्यकता परेको छ, जुन आजका बालबालिकाबाट मात्र पूर्ति हुनसक्छ । यसका लागि प्रत्येक नागरिकले राष्ट्रिय जिम्मेवारीबोध गरेर उनीहरूको चारित्रिक विकासमा हातेमालो गर्नुपर्छ।