• १३ साउन २०८१, आइतबार

पर्यटकीय स्थलको पहिचान गरिँदै

blog

छवि पाण्डे

बुटवल, भदौ ३१ गते । लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्ले यस प्रदेशमा रहेका पर्यटकीय सम्भाव्यता भएका स्थलको पहिचान र प्रवद्र्धनको काम सुरु गरेको छ । 

यस प्रदेशमा रहेका ऐतिहासिक पर्यटकीय स्थलको वर्तमान अवस्थाको जानकारी लिने, तिनको संरक्षणका लागि स्थानीय तहसँग समन्वय गर्ने र आगामी दिनमा ती स्थलको प्रवद्र्धन कसरी गर्ने भन्ने विषयमा परिषद्ले पहिलो चरणमा स्थलगत अध्ययन अवलोकन सुरु गरेको छ । परिषद् र पत्रकारको टोलीले गुल्मीको रिडीस्थित तीनमुखे झोलुङ्गे पुल, रेसुङ्गा, गुल्मीको धुर्कोटमा रहेको विचित्र गुफा, अर्घाखाँचीको नरपानी, सुपादेउराली, खाँचीकोट र पाल्पाको रिब्दीकोट गाउँपालिकामा रहेको ऐतिहासिक झरनालगायतको अवलोकन गरेको हो । 

परिषद्का कार्यकारी निर्देशक रामु जोशीले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका पर्यटकीय स्थलको प्रवद्र्धनका लागि पहिलो चरणमा गुल्मी, अर्घाखाँची र पाल्पाको भ्रमण गरी जानकारी लिने काम भएको बताउनुभयो । उहाँले आगामी दिनमा अरू जिल्लामा रहेका पर्यटकीय स्थलको अवलोकन गर्ने र स्थानीय तहसँग मिलेर संरक्षणका लागि प्रयास गर्ने बताउनुभयो । गुल्मी, अर्घाखाँची र पाल्पामा रहेका धेरै पर्यटकीय स्थल संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको अध्ययन अवलोकन भ्रमणका क्रममा पाइएको कार्यकारी निर्देशक जोशीले जानकारी दिनुभयो ।

पर्यटकीय स्थल अध्ययन अवलोकनका क्रममा गुल्मीको रेसुङ्गा तपोभूमिको संरक्षण र गुल्मीको पर्यटन क्षेत्रको प्रचारप्रसारका विषयमा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीसँग अन्तक्र्रियासमेत गरिएको थियो ।

परिषद्का सदस्य हरि पोखरेलले गुल्मी, अर्घाखाँची र पाल्पामा धेरै पर्यटकीय स्थल रहेको बताउँदै परिषद्ले पहिलो चरणमा ती क्षेत्रको पहिचान गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले ती पर्यटकीय स्थलको संरक्षण, विकास र प्रवद्र्धनका लागि स्थानीय तहसँग मिलेर काम गर्न परिषद् तयार रहेको बताउँदै आगामी दिनमा प्रदेशका अरू जिल्लामा रहेका पर्यटकीय स्थलको स्थलगत भ्रमण गरेर जानकारी लिने जानकारी दिनुभयो ।