• ११ असोज २०८१, शुक्रबार

टोलभरका बालबालिका बिरामी

blog

फिदिम, भदौ ३० गते । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ३ को एउटा टोलका सबै बालबालिकामा ज्वरो र रुघाखोकीको सङ्क्रमण देखिएको छ। स्थानीय साम्रे आधारभूत विद्यालयको सेवा क्षेत्रमा पर्ने साम्रे टोलका ३५ जना बालबालिका एकैसाथ बिरामी भएपछि त्यहाँको स्वास्थ्य शाखाले बुधबार विद्यालयमै पुगेर उनीहरूको स्वास्थ्य परीक्षण गरेको छ।

साम्रे आधारभूत विद्यालयसँगै त्यहाँबाट श्रीजङ्ग मावि गोपेटार आउने धेरैजसो बालबालिकामा ज्वरो र रुघाखोकीको सङ्क्रमण देखिएको खबर पाएपछि प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारबाट खटिएका तीन जना स्वास्थ्यकर्मीले घर पायकमै पुगेर उनीहरूको स्वास्थ्य परीक्षणसँगै औषधि वितरण गरिएको हिलिहाङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्द्र घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार बालबालिकामा ‘मौसमी भाइरल’ देखिएको छ।