• १३ साउन २०८१, आइतबार

एक कर्मचारी, दुई कार्यालय

blog

तानसेन समाचारदाता

पाल्पा, भदौ ३० गते । पाल्पा अस्पतालमा अहेवका रूपमा कार्यरत स्वास्थ्यकर्मी अरुण कार्कीले दुईवटा सरकारी कार्यालयबाट तलब भत्ता बुझ्ने गरेको पाइएको छ। उहाँले पाल्पा अस्पताल र तानसेन नगरपालिकाबाट एकै समयमा हाजिर गरी तलब बुझ्ने गर्नुभएको हो। 

विगत पाँच वर्षदेखि अस्पतालमा कार्यरत कार्की गत वर्षको फागुनदेखि तानसेन नगरपालिकाको स्वास्थ्य शाखामा पनि कार्यरत रहेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयो। 

अहेव कार्कीले अस्पतालमा राति र नगरपालिकामा दिउँसो काम गरेकाले दुईवटै सरकारी कार्यालयबाट तलब बुझ्दै आएको बताउनुहुन्छ। कानुनी रूपमा एकै समयमा दुईवटा सरकारी कार्यालयमा कार्यरत रहन नमिल्ने व्यवस्था भए पनि अहेव कार्कीले भने सो सेवा सुविधा लिइरहनु भएको छ। 

नगरपालिकाका सूचना अधिकारी आचार्यले एउटै व्यक्ति दुईटा सरकारी कार्यालयमा कर्मचारीका रूपमा कार्यरत रहेको विवादपछि केही दिनदेखि कार्कीलाई हाजिर हुन नदिएको बताउनुभयो। 

सरकारी सेवामा कार्यारत कुनै पनि व्यक्तिले दोहोरो सुविधा लिन पाउने व्यवस्था छैन। डेढ वर्षअघि कार्कीलाई तानसेन नगरपालिकाको अहेव पदमा करारमा नियुक्त गरेको थियो। पाल्पा अस्पतालमा भने २०७५ सालदेखि नै स्थायी सेवामा कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ।