• १२ पुस २०८१, शुक्रबार

महानगरले गर्‍यो ३९ ठाउँमा मापदण्ड विपरीतका संरचनामाथि कारबाही

blog

महानगरले नियामक दायित्व पूरा गर्दा महानगर बासीले निर्माण सम्पन्न प्रमाण पत्र लिँदा गरेको कबुलियत तथा सर्तलाई ध्यान दिएको छ — प्रमुख शाह 

काठमाडौँ, भदौ ३० गते । काठमाडौँ महानगरपालिकाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ । नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा लिएका र  निर्माणपछि व्यावसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको हो । यसै गरी २० ठाउँका मापदण्ड विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू, ओभरल्यापिङ् र सेडव्याक हटाएको छ । 

‘पार्किङ प्रयोजनका लागि निर्माण भएका संरचनाहरूमा पार्किङ नै गराउनु पर्छ । यसअघि आफूसँग भएको कार्यकारिणी अधिकार प्रयोग नगर्दा अहिलेको भयावह अवस्था आएको हो । यसलाई बेवास्ता गर्नु भनेको सहरलाई थप बिगार्नु हो । यसो भयो भने हाम्रा पुस्ताले हामीलाई राम्रो मान्दैनन् ।’ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) कारवाहीका विषयमा भन्नुहुन्छ, ‘नक्सा स्वीकृत गर्ने बेलामा व्यक्ति तथा संस्थाले महानगरबाट सुविधा लिएको तर, आफूले महानगरसँग गरेको कबुलियत तथा सर्त पूरा नगरेकाले कारबाही गर्नुपरेको हो ।’ 

महानगरले ३९ ठाउँमा मापदण्ड विपरीतका संरचनामाथि कारवाही गरेर पार्किङका लागि प्रयोग गर्न लगाएसँगै काठमाडौंका मुख्य क्षेत्रहरुमा पार्किङ सहज हुन थालेको छ भने सडकमा जाम  समेत कम हुने गरेको छ ।  

वेसमेन्ट तथा जमिन तलालाई पार्किङका रूपमा खाली गराइएका ठाउँहरूमध्ये वडा नं १ दरबारमार्ग २ वटा भवन छन् ।  यिनीहरू नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन् । वडा नं १४ कलङ्कीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेस्ट गेस्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर हटाउने काम भएको छ । 

वडा २६ सामाखुसीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेन्चुरी बैङ्क परिसरभित्र रहेका अनधिकृत पसलहरू हटाइएका छन् । 

वडा नं १० बानेश्वरमा पर्ने ५ जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर ५ वटै घरको पार्किङ बनाउने काम भएको छ । यसै गरी अल्फा बिटा कम्प्लेक्सको भूमिगत तलामा ताला लगाइएको छ । यही वडाका बर्गर हाउस, यूएफओ, रारा कम्प्लेक्स र जी सपले महानगरको सूचना पालना गर्दै अनधिकृत संरचना र अनधिकृत उपयोग हटाएका छन् । 

वडा नं २२ सुनधारास्थित काठमाडौँ मलको भुईँ तलामा रहेको सटर हटाएर पार्किङका लागि खाली गरिएको छ । यही वडामा रहेको आरवी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ । बिरा कम्प्लेक्सको भूमिगत तलामा रहेको होलसेल पसल हटाएर गोदाम मापदण्डबमोजिम सञ्चालन गर्ने सहमति गरिएको छ । वडा नं २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ । 

मापदण्ड विपरीतका अनधिकृत संरचना हटाइयो

वडा नं ३ को वसुन्धरा चोकबाट सृजनशील मार्गसम्मको करिब ९ सय मिटर जीएलडी [गाइडेड ल्यान्ड डिभलपमेन्ट निर्देशित जग्गा विकास कार्यक्रम] बाटो खोलिएको छ । यस क्रममा झन्डै १ सय घरका अनधिकृत कम्पाउन्ड भत्काइएको छ । वडा नं ४ बालुवाटार विशालनगरस्थित मल्पी स्कुलले सार्वजनिक जग्गा अतिक्रमण गरेर लगाएको जस्ताको बारसहितका संरचना हटाइएको छ । वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका ओभरल्यापिङ् हटाइएको छ । वडा नं ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ् र विज्ञापनमूलक सामग्री हटाइएको छ । वडा १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ । वडा १६ को ढुङ्गे धारा, वडा १७ को धोबी चौर, वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ । वडा १६ कै माछा पोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ ।

यही वडाको नयाँ बजार जग्गा एकीकरण आयोजनाभित्र रहेको जुडो हल वरिपरि विभिन्न व्यवसाय गर्न बनाइएका ६ वटा अनधिकृत टहरा हटाइएको छ । महानगर प्रहरी बलका प्रमुख राजु नाथ पाण्डे कारवाहीका विषयमा जानकारी दिँदै भन्नुहुन्छ, ‘स्वीकृत मापदण्ड विपरीतका संरचना हटाउन दिएको सूचना अटेर गरेपछि आफैँले भत्काउन जानु परेको छ ।’ उहाँकाअनुसार वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि विशालबजार तर्फ आउने गल्लीका, वडा २५ मा रहेका सन्तानेश्वर भवानी शङ्कर मन्दिर, उमा शङ्कर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना र ओभरल्यापिङ् संरचना हटाइएको छ । 

वडा नं २६ मा नयाँ बसपार्क मित्र नगरदेखि म्हेपी मन्दिरसम्मका अनधिकृत सेड व्याक, ओभरल्यापिङ्, अनुमति नलिई राखिएका विज्ञापन बोर्ड हटाइएको छ । वडा नं २९ हनुमान स्थान चिकेन क्युन रेस्टुरेन्टको घर खाली गराइएको छ । 

वडा नं। ३२ कोटेश्वर, अरनिको राजमार्ग दायाँबायाँ क्षेत्रमा भएका अनधिकृत संरचना, स्वीकृति नलिई राखिएका विज्ञापन बोर्ड हटाइएको छ । नरे फाँट क्षेत्रमा माइकिङ गरेर सचेत गराइएको छ । यस्तै भाटभटेनी सुपर मार्केटको भूमिगत तलालाई पार्किङका लागि खाली गराइएको छ ।