रामेछाप समाचारदाता
रामेछाप, भदौ ३० गते । नेपालीहरूका महान चाड दशैँतिहार नजिक आइसकेका छन् । ठूला चाडपर्व नजिकिएसँगै रामेछापका बजार क्षेत्रमा चहलपहल सुरु भइसकेको छ । अहिले बजारको चहलपहलभन्दा गाउँगाउँमा भइरहेका सडक सरसफाइ तथा मर्मतलाई हेर्दा दशैँ आएको अनुभव हुन थालेको छ ।
रामेछापमा रहेका दुईवटा नगरपालिका र छवटा गाउँपालिकाका ६४ वडामध्ये अधिकांश वडामा दशैँअघि सडकको सरसफाइ तथा मर्मतमा पालिका लागिपरेका छन् । वर्षामा भत्किएका तथा बिग्रिएका सडकलाई मर्मत तथा सरसफाइ गरी दशैँमा घर आउने नागरिकलाई सहज बनाउन पालिका तथा वडा कार्यालयहरू लागेका हुन् ।
दशैँ आएसँगै वर्षामा भत्किएका वडाभित्रका सडकको अहिले मर्मत तथा सरसफाइ गर्ने कार्य भइरहेको खाँडादेवी गाउँपालिका–८ का वडाध्यक्ष जङ्गलाल तामाङले बताउनुभयो । “वडा नं. ८ भौगोलिक रूपमा गाउँपालिकाकै विकट वडामा पर्छ, वर्षामा यहाँका सडक धेरैजसो भत्किएका छन् । दशैँमा घर आउने नागरिकको सहजताका लागि सडक मर्मत तथा सरसफाइ गर्ने काम भइरहेको छ,” उहाँले भन्नुभयो । उमाकुण्ड गाउँपालिकाको सबै वडाको बीच भागबाट गएको पालिकाको वडा नं. ७ को भुजीदेखि वडा नं. १ गुम्देलसम्म पुग्ने वर्षायाममा आएको बाढीपहिरोका कारण क्षतिग्रस्त मध्यमार्गी सडक गाउँपालिकाले मर्मत गरिरहेको छ ।
“वर्षाका कारण मध्यमार्गी सडक धेरै ठाउँमा बिग्रिएको छ, बिग्रिएको सडकमा अहिले दुईवटा डोजर लगाएर मर्मत कार्य भइरहेको छ,” गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले भन्नुभयो । यस्तै वडा नं. ५ को प्रीतिदेखि वडा नं. ३ कुभुकास्थलीसम्मको सडक मर्मत भइरहेको अध्यक्ष सुनुवारले बताउनुभयो ।
मन्थली नगरपालिकाले पनि सार्वजनिक यातायातका साधन नियमित सञ्चालन भइरहेको सडकलाई पहिलो प्राथमिकतामा राखेर दशैँ लक्षित सडक मर्मत तथा सरसफाइ गरिरहेको छ । दशैँलाई लक्षित गरी एउटा वडाले ५० घण्टासम्म डोजर सञ्चालन गरेर भत्किएका सडक मर्मत तथा सरसफाइ गर्न बजेटको व्यवस्था गरेको नगरपालिकाका प्राविधिक शाखा प्रमुख डिल्ली अधिकारीले बताउनुभयो ।