• १३ साउन २०८१, आइतबार

निर्माण कार्य अधुरो छाड्नेलाई कारवाही हुन्छ : मन्त्री राई

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई सडक स्तरोन्नतिको शिलान्यास गर्नुहुँदै । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, भदौं २९ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण कार्य अधुरो छोड्ने निर्माण कम्पनीलाई कारवाही गर्ने बताउनुभएको छ । बाँकेको जानकी गाउँपालिका –३ ईन्द्रपुरमा बुधबार हुलाकी राजमार्ग अन्तर्गत नेपालगञ्ज–गुलरिया सडकखण्डको स्तरोन्नतिको शिलान्यास गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री राईले भन्नुभयो, “बर्षौसम्म सडक निर्माण कार्य पूरा नहुँदा आमनागरिकमा नकारात्मक प्रभाव परेको छ ।” सो सडकखण्डको गुलरिया र खजुरामा चार लेन सडक निर्माणमा ढिलाई भएकोप्रति गुनासो आएपछि मन्त्री राईले २४ घण्टे स्पष्टीकरण पठाउन मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायत कर्मचारीलाई निर्देशन दिनुभयो ।

स्पष्टिकरणपत्र प्राप्त भएपछि ठेक्का सम्झौता रद्द गर्नेसम्मको कारवाही गर्न उहाँले निर्देशन दिनुभयो । मन्त्री राईले शिलान्यास गरेको सडक ३२.९ किलोमिटर लम्वाई रहेको छ । जसमध्ये २२.७ किलोमिटर चार लेन र १०.२ किलोमिटर दुई लेन निर्माण गरिनेछ । 

यस सडकमध्ये १.८ किलोमिटर चार लेन सडक निर्माण भइरहेकाले ३१.१ किलोमिटर सडक स्तरोन्नति हुनेछ । वस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रुपमा स्तरोन्नति गर्ने बताइएको छ ।  

मन्त्री राईले दुई महिनाभित्र सडक स्तरोन्नतिको काम सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जदेखि राप्तीसोनारी हुँदै दाङ जोड्ने हुलाकी सडक निर्माण कार्य समेत केही दिनमा टेण्डर भई काम सुरु हुनेछ । मन्त्री राईले शिलान्यास भएका आयोजनाहरु बजेट सुनिश्चित भएको बताउँदै तत्कालै काम सुरु हुने प्रष्ट पार्नुभयो ।  

सो अवसरमा बर्दिया १ का प्रतिनिधीसभा सांसद सञ्जय गौतमले नेपालगञ्ज र बर्दियालाई नजिक बनाउन सडकको स्तरोन्नति आवश्यक भएको बताउनुभयो । मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, लुम्विनी प्रदेशका सांसद भुवनेश्वर चौधरी, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्यवहादुर विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक लगायतले सडक स्तरोन्नतिले नागरिकलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।