अमृतप्रसाद पौडेल
म्याग्दी, भदौ २९ गते । म्याग्दीको राजनीतिक माहौलमा भीमप्रसाद गौचन र पदमबहादुर आचार्यबीच दुस्मनी थियो । पदमबहादुर पण्डित कृष्णप्रसाद आचार्यका दाजु हुनुहुन्थ्यो । कृष्णप्रसाद र पदमबहादुरका दुई आमा हुनुहुन्थ्यो । कृष्णप्रसादलाई प्रधानपञ्चको चुनावी मैदानमा पदमबहादुरकै विरुद्ध उठाएर भीमप्रसादले हराइदिनुभयो । कृष्णप्रसादले भीमप्रसाद गौचनका भाइ जगतप्रसाद गौचनसँग पदमबहादुरको मित लाइदिएपछि उहाँहरुबीच मित्रता गाधा भयो ।
वि.सं. २०३६ तिर रुकुम जाने समयमा त्यहाँका हरिशंकर घर्तीमगरसँग बेनी नगरपालिका–५ घर भई हाल बेनी बजारमा बानियाँ गहना पसलका सञ्चालक लिलाबहादुर बानियाँले मित लाउनुभयो । मित लगाएको ४४ वर्ष बित्यो अहिले पनि उहाँहरूको सम्बन्ध सुमधुर छ ।
पञ्चायत कालमा चार पटक सांसद हुनुभएका भीमप्रसाद गौचनका बाबाको दुई जना र आमाका ३ जना मित हुनुहुन्थ्यो । मित लाएपछि सम्बन्ध विस्तार भएको र राजनीतिक रूपमा विजय हुन सहज भएको भीमप्रसादको अनुभव छ ।
मंगला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ र स्वास्थ्य शाखा प्रमुख लेखनाथ रोकाले पवित्र धार्मिकस्थल गलेश्वरधाममा धार्मिक विधिअनुसार मित लगाउनुभयो ।
मित साइनोले भावनात्मक सम्बन्ध कसिलो बनाउने उहाँहरूको बुझाई छ । नेपाली समाजमा मरेपछि पनि अन्त कतै बास नपाए मितको घरमा बास पाइने मान्यता छ । धार्मिकग्रन्थ श्रीस्वस्थानी व्रत कथामा पनि मितको महत्त्व दर्साइएको छ । व्रतकथामा प्रसाद दिनका लागि आफ्नो नभए मितको छोरोलाई दिने भन्ने वाक्यांशले धार्मिक ग्रन्थमै स्थान पाएको मितेरी साइनोलाई अहिले भुल्न नहुने पूर्व मन्त्री गौचनको भनाई छ ।
बेनी नगरपालिका–६ का मानबहादुर खत्रीले रुकुमको टकसेराका श्यामबहादुर बुढासँग मित लगाउनु भएको छ । २०३५–३६ तिर व्यापारको सिलसिलामा त्यहाँ पुग्दा उहाँहरू मित लगाएको बताउनुभयो ।
पहिले अहिलेजस्तो बाटोघाटो र यातायातको सुविधा थिएन । त्यसबेला धेरै दिनसम्म लामो पैदलयात्रा गर्नुपर्ने हुन्थ्यो । खानपानको समस्याकासाथै बीचबाटोमा बास बस्नुपर्ने बाध्यता हुन्थ्यो । “विभिन्न ठाउँका मित्रसँग साइनो गाँसिसकेपछि त्यही साइनोका आधारबाट मितकहाँ खानपान गर्ने र बास बस्नका लागि पनि सहज हुने भएकाले मित लगाएको थिएँ” मानबहादुरले भन्नुभयो । तर आजभोलि पहिलेकोजस्तो मित लगाउने प्रचलन हराउँदै गएको उहाँको बुझाई छ ।