• १३ साउन २०८१, आइतबार

अध्यक्ष लीको मैत्रीपूर्ण भ्रमण

blog

नेपाल र चीनबीचको लामो ऐतिहासिक सम्बन्ध रहेको छ । यो अझ घनिष्ठ बनाउने अनेक आयाम छन् । त्यसमध्ये बेलाबखतमा हुने द्विपक्षीय उच्चस्तरीय भ्रमणको विशिष्ट महत्त्व रहन्छ । यस्ता उच्चस्तरीय भ्रमणले सम्बन्धका आयामलाई फराकिलो बनाउन सहयोग गर्दै आएको छ । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ तथा सौहार्दपूर्ण बनाउन यताका वर्षहरूमा महत्त्वपूर्ण उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । यस्ता उच्चस्तरीय द्विपक्षीय भ्रमणले दुई देशबीचको सम्बन्ध घनिष्ट हुनुका साथै एकअर्कालाई उच्च महत्त्व दिएको समेत स्पष्ट छ । यसै सन्दर्भमा चीनको विधायिका राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कङ्ग्रेस) स्थायी समितिका अध्यक्ष ली झान्सुले सोमबारदेखि नेपालको महत्त्वपूर्ण भ्रमण आरम्भ गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणमा लीको यो भ्रमण भएको हो । चिनियाँ विधायिकाको उच्च नेतृत्व तथा चीनका तेस्रो वरिष्ठतम नेताको यो भ्रमण विधायिका क्षेत्रमा अझ विशिष्ट महत्त्व छ । 

काठमाडौंँमा अवतरण गरेदेखि नै निकै व्यस्त कार्यतालिका माझ चिनियाँ पाहुना उच्चस्तरीय राजनीतिक भेटघाट तथा विचार परामर्शमा व्यस्त रहनुभएको छ । यो भ्रमणबीच भएका अन्तरसंसदीय समझदारीको आफैँमा युगीन महत्त्व रहेको छ । उत्तरी छिमेकी चीन नेपालको निकटतम छिमेकी मात्र नभई नेपालको सुखदुःखको साथीसमेत हो । नेपालको आर्थिक तथा सामाजिक विकासको साझेदार हो अनि अन्तर्राष्ट्रिय रङ्गमञ्चमा नेपालको हितैषी शुभचिन्तक हो । यस अर्थमा यी दुई मुलुकबीच सम्बन्धका आयाम आपसी समझदारी तथा परस्पर हितको जगमा उभिएको मान्न सकिन्छ । यी दुवै मुलुकबीच विविध क्षेत्रमा सहयोग तथा समझदारी आदानप्रदान भइरहेको हुन्छ । यसैको फलस्वरूप द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव परिरहेको हुन्छ । 

स्थायी समिति अध्यक्ष लीको भ्रमणकै बेला नेपालको सङ्घीय संसद्को प्रतिनिधि सभा तथा चीनको विधायिका राष्ट्रिय जनकङ्ग्रेसबीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । सभामुख सापकोटा र लीबीच वार्तामा भएको सहमतिअनुसार यो छ बुँदे समझदारीले सम्बन्धलाई उचाइ दिन कोसेढुङ्गा हुने विश्वास गरिएको छ । दुवै मुलुकका संसद्बीच आपसी विश्वास र सम्बन्ध सुदृढीकरणका साथै भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान, एकअर्काको सामाजिक प्रणालीप्रति सम्मान, बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदान र सहयोगजस्ता सम्झौताका विषयले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ । दुवै देशका विधायिका अनुभव आदानप्रदानमा समेत यसको विशिष्ट महत्त्व रहने छ । आगामी दिनमा दुई देशका व्यवस्थापिका तथा त्यसका अधिकारी एवं सदस्यबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानलाई यो भ्रमणले थप महत्त्व दिने देखिएको छ ।

नेपालको चार दिने भ्रमणका क्रममा चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भेटवार्ता गर्नु हुनेछ । उहाँले मङ्गलबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभयो । त्यसअघि उहाँले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नुभयो । पारस्परिक हित र सम्बन्धका आयाम थप फराकिलो बनाउन यी भेटवार्ता निश्चय नै महत्त्वपूर्ण रहेका छन् । 

नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको छ । दुवै देशबीच खासै ठूला द्विपक्षीय समस्या देखिँदैनन् र समस्या नै आए पनि तिनको वार्ताद्वारा शान्तिपूर्ण समाधान गरिएको गौरवपूर्ण इतिहास रहेको छ । नेपालको शिरमा रहेका अनेकौँ अटल हिमालझैँ दुई देशबीचको सम्बन्ध अविचलित छ । यो तथ्य नेपाल र चीनबीच सम्बन्धको सौन्दर्यसमेत हो । यसो हुँदाहुँदै पनि चीनले नेपालीका लागि केही सहज परिस्थिति निर्माण गरिदिने वर्तमान अवस्थासमेत कायमै छ । नेपालीका घरआँगनमा महान् चाड दशैँ आउँदैछ । कोरोना (कोभिड १९) लगायत कतिपय कारण हुन सक्छ, उत्तरका नाकाहरू सहज हुन सकिरहेका छैनन् । त्यसले व्यापार असहज भएको छ । कन्टेनरहरू व्यापारिक वस्तु लिएर हप्तैदेखि नाकामा थुप्रिएका छन् । यस अवस्थामा चीनले चाडपर्वलाई ध्यानमा राखेर उत्तरी सीमा नाका सहज गर्नु वाञ्छनीय हुन आउँछ । भ्रमणको अवसरमै चिनियाँ उच्च नेतृत्वको सकारात्मक भनाइसमेत आइसकेको छ । यस अर्थमा समेत अध्यक्ष लीको भ्रमण तत्कालका लागि महत्त्वपूर्ण छ नै सँगसँगै अनेक दूरगामी विषयमा समेत दुई देशको सम्बन्ध हिमालझैँ अटल बनाउन भ्रमण फलदायी हुने विश्वास छ ।