• १३ साउन २०८१, आइतबार

सुदूरपश्चिम प्रदेशमा घट्दै सक्रिय सङ्क्रमित

blog

अविनाश चौधरी

धनगढी, भदौ २८ गते । केही हप्ता अगाडि सङ्क्रमण दर वृद्धि भएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमण घटेको छ। 

सङ्क्रमण दर घटेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ। अब प्रदेशभर ९० जना सक्रिय सङ्क्रमित रहेका प्रादेशिक स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। सो कार्यालयको सोमबारसम्मको तथ्याङ्क अनुसार पीसीआर विधिबाट परीक्षण गरिएका २९ र एन्टिजेन विधिबाट परीक्षण गरिएका ६१ जना सक्रिय सङ्क्रमित छन्। साउन अन्तिमतिर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नजिक पुगेको थियो। 

प्रदेश राजधानीसमेत रहेको कैलालीमा सबैभन्दा बढी ४३ जना सक्रिय सङ्क्रमित छन्। कञ्चनपुरमा १९, डडेलधुरामा नौ, बैतडीमा आठ, डोटीमा सात र बाजुरामा चार जना सक्रिय सङ्क्रमित रहेका छन्। अछाम, दार्चुला र बझाङ गरेर तीन जिल्ला भने सक्रिय सङ्क्रमित मुक्त भइसकेका छन्। 

हाल भारतबाट फर्कनेमा केही बढी सङ्क्रमण देखिएको छ। सोमबारमात्रै भारतबाट फर्किएकामध्ये ६७४ जनाको परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो। 

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ९३ हजार २३६ जनाको परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ६१ हजार  ६९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोरोना सङ्क्रमणका कारण यो प्रदेशमा ६३५ जनाले ज्यान गुमाएका छन्। 

पछिल्लो पटक कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको आशङ्का गरिए पनि विगतको जस्तो समस्या भएन। व्यापार, व्यवसाय, शैक्षिक संस्था, सार्वजनिक यातायात लगायत निर्बाध रूपमा सञ्चालन भइरहेका छन्।