• १३ साउन २०८१, आइतबार

झिझा खोलामा पुल निर्माण कार्य शुरु

blog

झिझा खोलाको पुल शिलान्यास गरिदैं । तस्बिर : महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर, भदौ २७ गते । मटिहानी नगरपालिकाले कृषि क्षेत्रलाई टेवा पुग्नेगरी कृषि सडकमा पनि लगानी बढाउँदै लगेको जनाएको छ । कृषकले उत्पादन गरेको अन्न फसल खेतबाट घरसम्म ल्याउन प्रयोग गरिने सडकमा र खोलामा पुल निर्माण थालेको छ ।   

सोही क्रममा मटिहानी नगरपालिका –३ स्थित कृषि सडक अन्तर्गत पर्ने झिझा खोलामा पुल निर्माण कार्य शुरुभएको नगरपालिकाले जनाएको छ । मटिहानी नगरपालिकाको ३५ लाख रुपियाँको लागतमा सो खोलामा पुल निर्माण कार्य शुरु भएको ईन्जिनियर बिमलेश साहले बताउनुभयो । 

निर्माण कार्य शुरु भएको सो पुलको लम्वाई आठ मिटर र चौडाई पाँच मिटर रहने ईन्जियर साहको भनाई छ । पुल निर्माणका लागि सोमबार नगरप्रमुख हरिप्रसाद मण्डलले एक कार्यक्रमबीच पुलको शिलान्यास गर्नुभयो । पुल निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसाथ द्रुत गतिमा शुरु गरिएको साहले जानकारी दिनुभयो ।  

झिझा खोलामा पुल अभावमा मटिहानी नगरपालिकाका सयभन्दा बढी किसानको खेतमा लगाइका फसल वर्षाकावेला घरसम्म ल्याउन कठिन हुँदैआएको छ । किसानको सोही कठीनाइको समाधानका लागि पुल निर्माणका लागि वजेट विनियोजन गरिएको नगर प्रमुख मण्डलले बताउनुभयो । पुल निर्माण कार्य शुरु भएसँगै स्थानीय किसान खुशी भएका छन् ।

मटिहानी नगरपालिका –७ का किसान सुभान कवारीले भन्नुभयो, “झिझा खोलामा पुल नहुँदा खोलावारी नै टायर गाडा र ट्रयाक्टर राखेर टाउकोमा बोकेर फसल सवारी साधनसम्म ल्याउने बाव्यता थियो, पुल समयमा निर्माण भएमा निकै सहज हुन्छ ।” मटिहानी –७ कै अर्का किसान रामकिशुन सहनीका अनुसार खोलामा पुल नहुँदा कृषि सामग्री ओसार्न कृषकलाई समस्या भएको बताउनुभयो ।