• १६ भदौ २०८१, आइतबार

प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव

blog

नवीन शिशिर विक

बागलुङ, भदौ २६ गते । बागलुङको गलकोट नगरपालिका –५ हरिचौरस्थित गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । नगरपालिकाले समयमै औषधी खरिद नगर्दा उपचारका लागि स्वास्थ्य चौकी पुगेका बिरामी मर्कामा परेका छन् । 

करिब चार–पाँच दिनका लागि मात्रै औषधि भण्डारण रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मनोज कार्कीले बताउनुभयो । अघिल्ला आर्थिक वर्षमा खरिद गरिएका औषधी रित्तिन थालेका छन् । यस वर्ष नगरपालिकाले खरिद प्रक्रिया थालेको छैन । सरकारबाट उपलब्ध हुने निःशुल्क औषधि र स्वास्थ्य बिमामार्फत प्राप्त हुने औषधि सकिएपछि बिरामी मर्कामा परेका छन् ।  

स्वास्थ्य केन्द्रले अघिल्ला वर्ष सार्वजनिक खरिद ऐन विपरीत करिब दुई करोड रुपियाँको औषधि खरिद गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिन गरिरहेको छ । आव २०७७–७८ र २०७८–७९ मा स्वास्थ्य केन्द्रले करिब दुई करोड रुपियाँ बराबरको स्वास्थ्य सामग्री सार्वजनिक खरिद ऐनविपरीत खरिद गरेको थियो ।

औषधि र स्वास्थ्य सामग्री अभाव विषयमा नगरपालिकालाई जानकारी दिएको कार्यालय प्रमुख डा. कार्कीको भनाई छ । स्वास्थ्य केन्द्रमा लेखा अधिकृत नहुँदा समस्या भएको उहाँको भनाइ छ । दैनिक एक सयभन्दा बढी बिरामी आउने अस्पतालमा कर्मचारीसमेत अभाव भएको उहाँले बताउनुभयो ।नगरपालिकाले तत्काल औषधी खरिद प्रक्रिया नथाले समस्या हुने डा. कार्कीले जानकारी दिनुभयो । औषधि खरिद प्रक्रियाको विषयमा परेको उजुरी निर्वाचित भएर आउनुपूर्वको भएको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष पवन हमालले बताउनुभयो । 

‘पहिला कुनै टेण्डर आह्वान नगरी खरिद गर्ने चलन रहेछ’ वडा अध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष हमालले भन्नुभयो ‘अबदेखि हामीले सार्वजनिक टेण्डर आह्वान गरेर औषधीलगायतका स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेका छौँ ।’

गलकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मिनराज गैरेले बिनाटेण्डर दुई करोड रुपियाँ बराबरको औषधी खरिद गरिएको विषयमा आफूहरूलाई जानकारी नभएको बताउनुभयो ।  ‘हामी सरोकारवाला व्यक्ति हौँ, टेण्डर आह्वान नगरी औषधीलगायतका स्वास्थ्य सामग्री खरिद गरेको विषय गाइँगुइँ सुनेका छौँ उहाँले भन्नुभयो, ‘हामीलाई आधिकारिक रूपमा थाहा भएन ।’

नगरप्रमुख भरत शर्मा गैरेले बीमासम्बन्धी औषधी तथा स्वास्थ्य सामग्री भएकाले बीमा समितिले खरिद गर्ने हुँदा धेरै जानकारी नभएको बताउनुभयो । यद्यपि आफूहरूलाई अख्तियारले औषधि खरिदबारेमा पत्र लेखेको उहाँले जानकारी दिनुभयो ।