• १६ भदौ २०८१, आइतबार

तेस्रो ब्यास युवा कप असोजमा

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ २६ गते । तेस्रो संस्करणको ब्यास युवा कप असोज ३ देखि ११ गतेसम्म तनहुँमा हुने भएको छ । ब्यास युवा क्लब (भिवाईसी) ले पहिलो पटक नाइन ‘ए’ साइड फरम्याटको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यसअघि यस प्रतियोगिता सेभेन ‘ए’ साइड फरम्याटमा सञ्चालन गरिँदै आएको आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा तनहुँ, कास्की, स्याङ्जा, लम्जुङ र चितवन जिल्लाका ४२ टोलीको सहभागिता रहने छ ।

नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताको विजेतालाई एक लाख ११ हजार एक सय ११ रुपियाँ र उपविजेतालाई ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार प्रदान गरिने बताइएको छ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक र रक्षकलाई ५५ सय रुपियाँ पुरस्कार प्रदान गरिने जानकारी पनि गुरुङले दिनुभयो । दमौलीको बीपी वन बाटिकाको मैदानमा आयोजना हुने प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक सहयोग गर्नेछ ।

कूल १३ लाख रुपियाँ लगानीमा आयोजना गर्न लागिएको प्रतियोगितालाई ब्यास नगरपालिका, स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले सहयोग गरेको आयोजकले जनाएको छ ।