• १२ असार २०८१, बुधबार

खसी, बोका र च्याङ्ग्रा खरिद सुरु : घटस्थापनाको भोलिपल्टबाट बिक्री गरिने

blog

फाइल तस्विर

काठमाडौँ,भदौ २६ गते । खाद्य व्यापार तथा कम्पनी लिमिटेडले दशै‌का लागि खसी,बोका तथा च्याङ्ग्रा खरिदका लागि गृहकार्य थालेको जनाएको छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार दशै‌ नजिकिएसँगै उपभोक्ताहरू ठगिन सक्ने भएकाले उनीहरूको हितको लागि खसी बोका तथा च्याङ्ग्रा खरिद गरिने बताउनुभयो । 

दशैँमा उपभोक्ताहरू खसी, बोका खरिदमा ठगिन सक्छन् । सरकारले खरिद गरेर बजारमा एउटा मूल्य कायम गरिदिँदा उपभोक्ताहरू ठगिन पाउँदैनन् । 

दसैँ, तिहारजस्ता चाडपर्वमा बजारमा सरकारको उपस्थिति हुँदा बजारमा मूल्यवृद्धि नहुने उहाँको दाबी छ । यसपालि कम्पनीले वीरगन्ज र लहानबाट खसी, बोका खरिद गर्ने गरी गृहकार्य थालेको छ । यसका लागि कम्पनीले सम्बन्धित कार्यालयलाई खरिदका लागि आग्रह गरेको जनाएको छ ।

मुस्ताङबाट च्याङ्ग्रा ल्याइने

च्याङ्ग्रा भने मुस्ताङबाट मात्र ल्याइने भएको छ । यस पटक विभागले तीन हजारको हाराहारीमा खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने छ । जसका लागि विभागले छ करोड ४० लाख रुपियाँ छुटाएको छ । 

खसी, बोका तथा च्याङ्ग्रा घटस्थापनाको अर्को दिनबाट नै थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री सुरु गरिने सुवेदीले बताउनुभयो । सुपथ मूल्य पसल असोज १ देखि १५ गतेसम्म सरकारले देशैभर सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । 

दशैँलगायत ठुला चाडपर्वलाई मध्यनजर राखेर सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको कम्पनीका सूचना अधिकारी सुवेदीले बताउनुभयो । यो सुपथ मूल्य पसल आगामी कात्तिक १५ गतेसम्म सञ्चालन गरिने उहाँले बताउनुभयो ।

देशैभर रहेका कम्पनीका शाखा कार्यालयबाट असोज १ गतेबाट उपभोक्ताले सुपथ मूल्यमा सामग्री खरिद गर्न सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामीले असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा रहेका कम्पनीका शाखा कार्यालयबाट सुपथ मूल्यमा उपभोक्ताहरूले सामग्री खरिद गर्न सक्नेछन् । 

उहाँका अनुसार सुपथ मूल्य पसलमा कर्णालीको गेडागुडी र मासुजन्य पदार्थमा प्रतिकेजी १० रुपियाँ सस्तो हुनेछ भने अन्य दाल, चामल, नुन, आटामा प्रतिकेजी ७ रुपियाँ सस्तो हुनेछ । 

बजारमा ठुला चाडपर्वको समयमा मूल्य वृद्धि हुन नदिनका लागि दैनिक उपभोग्य वस्तुको बिक्रीमा केही छुटको व्यवस्था सहित कम्पनीले बर्षैपिच्छे सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । यसपालि सुपथ मूल्य पसल देशका विभिन्न ४४ स्थानबाट सञ्चालन हुनेछ। 

घिउ, चिज र दूध जस्ता पदार्थमा भने दुग्ध विकास संस्थानसँग समन्वय गरेर मात्र कति छुट दिने भन्ने कुरा पछि थाहा हुने उहाँको भनाइ छ ।

दूध,घिउ ,चिज जस्ता पदार्थमा दुग्ध विकास संस्थानसँग कति छुट दिने भनेर छलफल हुनेछ । यदि संस्थानसँग दूधजन्य पदार्थको सहज आपूर्ति गर्न सक्ने अवस्था रहनेछ भने त्यसमा ७ देखि १० रुपियाँ प्रतिलिटर छुटको व्यवस्था हुनेछ । 

काठमाडौँ उपत्यकाको हकमा भने रामशाहपथ, थापाथली, भक्तपुर र नख्खुलगायतका ठाउँबाट सुपथ मूल्य पसल सचालन गरिने उहाँको भनाइ छ । यसमा साल्ट ट्रेन्डिङ कर्पोरेसनको पनि साथ र समन्वय रहने छ । 

कम्पनी अनुसार चिनी खरिद गर्नका लागि पठाएको प्रस्ताव अर्थ मन्त्रालयमा रोकिएकाले सहुलियत मूल्यमा बिक्री गर्न नसकिने सम्भावना रहेको बताउनुभयो । साल्ट ट्रेन्डिङ कर्पोरेसनसँग चिनीको मौज्दात सकिएको दुई महिना भइसक्यो । यदि अब अर्थ मन्त्रालयबाट प्रस्ताव स्वीकृत भएमा तिहार सम्म चिनी ल्याउन सकिने सुवेदी बताउनुहुन्छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।